विर्तामोड/ महिला उद्यमीलाई करबारे जानकारी दिने उद्देश्यले विर्तामोडमा एक दिने कर सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।
नेपाल उद्यमशील महिलासंघको आयोजना र आन्तरिक राजस्व कार्यालयको प्राविधिक सहयोगमा सञ्चालित अन्तरक्रियाको विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् ।
उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख महताराले राज्यको कानून मान्दिन भन्ने छुट कसैलाई पनि नभएको बताउँदै कर नतिर्नेलाई छुट होइन कारवाही गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै उहाँले तिर्न सक्ने करको व्यवस्था गर्नुपर्नेमा जोड दिंदै वंशले अंश खाने पुस्ता चलेजस्तै करलाई नतिरेको भए पुस्तामा सारेर लानुपर्ने धारणा राखे ।
संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारी सञ्चार गृह झापाकी अध्यक्ष अम्बिका भण्डारी, चेम्बर अफ झापाका अध्यक्ष सन्तोष अग्रवाल, उद्योग वाणिज्य संघ विर्तामोडका उपाध्यक्ष राजु न्यौपाने, सुवास भट्टराई, नेपाल उद्यमशील महिला संघ अर्जुनधाराकी अध्यक्ष सरु बुढाथोकी लगायतले मन्तव्य राख्दै करका बारेमा सबै जानकार हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय झापाका प्रमुख बोलराज आचार्य, कर अधिकृत भीमप्रकाश देवकोटा लगायतले करका सम्बन्धमा राज्यले गरेको व्यवस्थाबारे सहजीकरण गरेका थिए ।
सावित्रा भट्टराईले सञ्चालन गरेको कार्यक्रममा ऐश्वर्या पाण्डेले स्वागत गर्नुभएको थियो । कार्यक्रममा विर्तामोड, अर्जुनधारा, मेचीनगर लगायतका क्षेत्रका महिला उद्यमीहरुको उपस्थिति रहेको थियो ।
उद्यमी महिलासंग अन्तरक्रिया
































































































