बिर्तामोड असार । शनिबार राति बिर्तामोड–४ को हनुमान कम्प्लेक्स क्षेत्रमा एक १८ वर्षीया युवतीमाथि जबरजस्ती करणी भएको आरोपमा एक व्यक्ति पक्राउ परेपछि फेरि बिर्तामोडको सुरक्षा अवस्था चर्चामा आएको छ।
शनिबार राति करिब ९ बजे युवतीमाथि जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाकाले जनाएका छन् । पीडित युवती राति करिब ११ बजे इलाका प्रहरी कार्यालय अनारमनी पुगेकी थिइन्। त्यसपछि उनलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो। पीडितलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा इलामको पशुपतिनगर नगरपालिका–२ घर भई हाल बिर्तामोड–५ सुब्बाचोकमा दिदी–भिनाजुको घरमा बस्दै आएका ३६ वर्षीय बिगेन्द्र शेर्पा रहेको प्रहरीले जनाएको छ । शेर्पालाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
बलात्कार आरोपमा एक पक्राउ

































































































