भद्रपुर ४ असार । झापा उद्योग वाणिज्य संघले भारतीय चिया बोर्डले जारी गरेको नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)–का कारण बैशाखको सुरुदेखि नेपाली चिया निर्यातमा देखिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका कार्यवाहक अध्यक्ष राजकुमार राई र महासचिव सुमन मैनालीको संयुक्त हस्ताक्षरबाट आज जारी विज्ञप्तिमा भनिएको छ– ‘नेपालको प्रमुख निर्यातजन्य कृषिवस्तुमध्ये एक चियामा गुणस्तर परीक्षणको नाममा भारतीय पक्षबाट चिया आयातमा थप अवरोध सिर्जना हुँदा नेपाली चिया उद्योग, निर्यात व्यवसायी, किसान तथा मजदूरहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन्, विशेष गरी चियाको उत्पादन तथा प्रशोधनको मुख्य सिजन सुरुभइसकेको अवस्थामा तयारी चिया निर्यात अवरुद्ध हुनु अत्यन्त चिन्ताको विषय हो ।’
संघले नेपाल चिया उत्पादक संघको नेतृत्वमा उद्यमीहरुले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि त्यसलाई सरकार संवेदनशील नहुँदा उत्पादक संघले उद्योगहरु बन्द गर्ने घोषणा गर्न वाध्य भएको अवस्थालाई गम्भीरतापूर्वक लिइएको उल्लेख गर्दै नेपाल सरकार, मातहतका मन्त्रालय तथा सरकारी निकाय नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसमेतलाई तत्काल यो विषयमा कुटनीतिक, राजनीतिक तथा प्रशासनिक पहल गरी भारतीय पक्षसँग वार्ता र समन्वयमार्फत समाधान गर्न विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
झापामा निजी क्षेत्रबाट सञ्चालित दुई दर्जनबढी चिया प्रशोधन कारखाना र त्यतिकै संख्यामा ठूला चिया बगान रहेका छन् । नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँबराबर रहेको छ । यसमा करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात ह’ने गरेको नेपाल चिया उत्पादक संघले जनाएको छ ।
चिया अवरोध हटाउन झापा उद्योग वाणिज्यको माग
































































































