भद्रपुर ४ चैत्र । झापाको भद्रपुर नगरपालिकाले १७ औं नगर परिषदको सन्दर्भ पारेर २ जना पत्रकार सहित खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाको सभाहल भद्रपुरमा बुधबार सम्पन्न सभामा नगर विकास पत्रकारिता पुरस्कारबाट पत्रकार उत्तम नेपाल र प्रोत्साहन पत्रकारिता पुरस्कारबाट डिल्लीरमण नेपाललाई सम्मान गरिएको हो ।
पत्रकार उत्तमलाई नगद ३१ हजार तथा डिल्लीलाई नगद १५ हजारसहित दोसल्ला ओढाएर सम्मान पत्र सहित नगर प्रमुख गणेश पोखरेल,उपप्रमुख राधा कार्की प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्र लगायतले सम्मान गर्नु भएको थियो । यसैगरी नगरपालिकाले विगतमा सञ्चालन गरिएको भलिबल तथा राष्ट्रपति रनिङ शिल्ड लगायत विभिन्न खेलकुद गतिविधिमा उत्कृष्ट खेलाडी ११ जनालाई जनही ५ हजार १०० नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा नगरभित्रका १० वटै वडा समिति पदाधिकारीले सडक, सरसफाइ विद्युत ,खानेपानी लगायतका बिषयमा राखेको जिज्ञासाबारे नगरप्रमुख पोखरेलले जवाफ दिनुभएको थियो । पोखरेलको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन योगेन्द्र पौडेलले गर्नुभएको थियो ।
भद्रपुर नगरपालिकाको १७ औं नगरपरिषदमा पत्रकार र खेलाडीलाई सम्मान

































































































