बिर्तामोड २५ पुस । चारपानेमा मुख्य कार्यालय रहेको सामाजिक संस्था सहारा नेपालले २९ वर्ष पूरा गरी ३० औं वर्षमा प्रवेश गरेको छ । २० वर्षको बयस्क उमेरमा पुग्दा सहाराले नेपालका सातवटै प्रदेशमा पहिचान स्थापित गर्न सफल भएको बताइएको छ । यो अवधीमा संस्थाले केचनादेखि गत्लाङसम्म उद्देश्य अनुसारका परियोजना सञ्चालन गरिरहेको छ ।
लालराज सुवेदीको अध्यक्षतामा २०५१ सालमा चारपानेमा स्थापित सहारा अहिले झापाको केचनादेखि रसुवाको गत्लाङसम्म पुगेको बताइएको छ । सहाराले कर्णाली र सुदुरपश्चिममा जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ भने झापा, मोरङमा विपन्नलाई घर निर्माण गरिरहेको सचिव गिरीले बताउनु भयो । प्रौढ शिक्षाबाट शुरु भएको सहाराको सामाजिक क्षेत्रको यात्रा अन्तरगत पश्चिमका केही जिल्लामा स्वच्छ खानेपानी (वास) सम्बन्धी कार्यक्रम चलिरहेको बताइएको छ । स्थानीय सरकारको समन्वयमा विपन्नलाई घर कार्यक्रम अन्तरगत ४०० वटा घर निर्माण गरिसकेको सहाराले यसअघि भूमिगत जल सिंचाई कार्यक्रम समेत सञ्चालन गरेको थियाृे ।
स्थापनाको २९ औं वार्षिकोत्सवका अवसरमा संस्थाको आफ्नै हलमा आयोजित कार्यक्रममा संस्थाले आगामी दिनमा गर्ने कार्यक्रम तथा योजनाबारे जानकारी दिंदै संस्थाका सचिव महेन्द्रकुमार गिरीले बाढी पीडितलाई संस्थाले गर्ने सहयोगबारे जानकारी गराउनु भएको हो । सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको सहारा नेपालले आगामी दिनमा प्राकृतिक प्रकोप न्यूनिकरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ भने मानसिक स्वास्थ्य, जलवायु परिवर्तन सम्बन्धी काम गर्ने तथा किशोरी सम्मान लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने सचिव गिरीले बताउनु भयो । उहाँका अनुसार संस्थाले यसअघि सञ्चालन गरिरहेका कार्यक्रमहरु लक्ष्य अनुसार निरन्तर चलिरहने छन् ।
संस्थाका अध्यक्ष भरतकुमार गिरीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिं गोम्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्य बार्षिकोत्सवमा अध्यक्ष गिरीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
२०५१ सालमा स्थापना भएको सहारा नेपालले हालसम्म सातवटै प्रदेशका ४३ वटा जिल्लामा ६६ वटा प्रोजेक्ट सञ्चालन गरेको छ । ती मध्ये कतिवटा पूरा भइसकेका छन् भने केही सञ्चालित अवस्थामा छन् । संस्थाबाट हालसम्म ४ लाख ९२ हजार मानिसहरुले सेवा लिएको सहाराले उत्पादन गरेका ११३ वटा र महिला तथा आदिवासी समुदायका १११ वटा समुह रहेको प्रतिवेदनमा उल्लेख छ ।
बार्षिकोत्सवको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत दुर्गामावि गरामनीलाई तीनवटा स्मार्ट टिभी तथा दुर्गेश्वरी कृषि सहकारी संस्थालाई एकथान कम्प्युटर प्रदान गरेको छ ।
मातृका सुवेदीले सञ्चालन र स्वागत सोमनाथ तिम्सिनाले गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोम्देनले कृषि, आवास र स्वास्थ्य क्षेत्रमा नगरपालिकासंग सहकार्य गर्न सहारालाई प्रस्ताव समेत गर्नुभएको थियो । कार्यक्रममा सहारा नेपाल साकोसका अध्यक्ष हरि राजवंशी, गंगाप्रसाद मेचे, खिलप्रसाद शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सहारा शिशु सदनका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
गत असोज १८ र १९ गतेको बाढीबाट पीडितका लागि सहाराले ह्याबिटाट फर ह्युम्यानिटीसँगको सहकार्यमा झापा गाउँपालिकामा बाढी प्रभावित लक्षित कम लागतमा सुरक्षित र वातावरणमैत्री घरहरू निर्माण गरिरहेको छ । सोही ठाउँका बाढी पीडित झापा गाउँपालिकाका ६ सय परिवारलाई प्रतिपरिवार १० हजारका दरले आर्थिक सहयोग गर्ने भएको छ । त्यस्तै स्वास्थ्य सचेतना, जीविकोपार्जन र उद्यमशीलता, महिला, दलित र पिछडिएका समुदाय लक्षित विभिन्न सीपमुलक कार्यक्रम, कृषि प्रवर्द्धन, वातावरण संरक्षण, सशक्तिकरण र सुशासन, मानवीय सहायोग, विपद्मा राहत, उद्दार लगायतका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सहारा नेपाल समुदायको समग्र विकासका लागि एउटा बलियो खम्बा रुपमा स्थापित हुँदै गएको छ ।
सहाराका तीनदशक: केचनादेखि गत्लाङसम्म

































































































