कालीस्थान २ मंसीर । कालिकापीठ कालीस्थानको २२ औं बार्षिक अनुष्ठानको अवसर पारेर सप्ताहब्यापी श्रीमद्गरुड महापुराण आयोजना गरिने भएको छ । आगामी मंसिर १८ गतेदेखि २५ गतेसम्म सप्ताहब्यापी श्रीमद्गरुड महापुराण, दैनिक रुद्राभिषेक महायज्ञ, नित्य हवन, तुलादान, वेद पाठपारायण, धनधान्याचललगायतका कार्यक्रम तय गरिएको पीठका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
महायज्ञको तयारीका लागि पीठका उपाध्यक्षद्वय डिल्लीराम दाहाल र कर्ण तामाङको संयोजकत्वमा प्रचार–प्रसार समिति, कोषाध्यक्ष खडानन्द खतिवडाको संयोजकत्वमा कोष ब्यवस्थापन समिति, आचार्य रघुनाथ रिजालको संयोजकत्वमा मञ्च ब्यवस्थापन समिति, निलकण्ठ नेपालको संयोजकत्वमा पूजा ब्यवस्थापन समिति गठन गरिएको उपाध्यक्ष दाहालले जानकारी दिनुभयो ।
पीठका पूर्व विद्यार्थीहरु पण्डित सीताराम तिम्सिना प्रमुख कथावाचक रहने पुराणमा पाठपारायण पण्डित सीताराम खनालले गर्नुहुनेछ । पीठका दिवंगत आजीवन सदस्यसहित पितृ उद्दार र राष्ट्र शान्तिको कामनासहित आयोजना गरिने महायज्ञको समुद्घाटन मंसीर १८ मा हुनेछ । मंसीर १९ गतेदेखि २४ गतेसम्म दैनिक विहान ७ बजेदेखि मण्डप पूजन, विहान ९ बजेदेखि श्रीमद्गरुड महापुराण पाठपारायण, विहान १० बजेदेखि ३ बजेसम्म कथा प्रवचन तय गरिएको महायज्ञमा संगीतमय कथा प्रवचन रहने कालिकापीठ कालीस्थानका सचिव पण्डित भोलानाथ पोखरेलले जानकारी दिनुभयो ।
के छ गरुड पुराणमा ः
अहिलेसम्म उपलब्ध गरुड पुराण पूर्व खण्ड र उत्तर खण्ड गरी दुई भागमा विभाजित छ । विष्णुभक्त गरुड श्रोता र बिष्णु भगवान आफै प्रमुख बक्ता भएर विष्णु भगवानका अवतारहरुको वर्णन गरिएको हुनाले श्रोताकै नामबाट यसलाई गरुड महापुराण नामाकरण गरिएको पाइन्छ । पूर्व खण्डमा २२९ अध्याय र उत्तर खण्ड (जसलाई प्रेतकल्प पनि भनिन्छ) मा ३५ अध्यायसहित २६४ अध्याय रहेको गरुडपुराणमा १९ हजार श्लोक रहेको श्रीमद्भागवत महापुराणमा उल्लेख भएपनि हाल बजारमा पाइने गरुड पुराणमा यति श्लोक सख्या नरहेको जानकारहरु बताउँछन् । गरुड पुराणभित्र भक्ति, ज्ञान, सदाचार, निष्काम कर्मको महत्वको वर्णनसँगै यज्ञ, दान, जप, तप, तीर्थ, देवपूजा, श्राद्ध, तर्पणजस्ता कार्यको इहलौकिक र पारलौकिक फलहरुको वर्णन रहेको आचार्य रघुनाथ रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार तीसँगै ब्याकरण, स्वर, ज्योतिष, आयुर्वेद, रत्नसागर, नीतिजस्ता समाजका लागि अत्यावश्यक विषय र उत्तर खण्डमा जीवात्माको स्वरुप, स्वर्ग र नरकको वर्णन लगायतका विषय उल्लेख छन् ।
कालिकापीठको इतिहास ः
झापाको अर्जुनधारा नगरपालिका वडा नं–९ मा रहेको देबीको सिद्ध शक्तिपीठ हो कालिकापीठ कालीस्थान । कालिकापीठको इतिहास पूर्वकै प्रसिद्ध शक्तिपीठ ताप्लेजुङको पाथीभरासँग जोडिन्छ । त्यसस्थानमा देवीको शक्तिपीठ छ भन्ने कुरा कसरी र कोबाट प्रमाणित भयो रु भन्ने बिषयमा किंबदन्ती कालिकापीठको स्मारिकामा उल्लेख छ – ‘तत्कालीन शनिश्चरे–६ मा रामानुज बैष्णव समूदायका भोलाइदास नामका थारु सन्तको बसोबास थियोे । उनका घरमा देश– बिदेशबाट विभिन्न साधु–सन्तहरु आउने–जाने गर्दथे । सोही क्रममा डुल्दैडुल्दै भोलाइदासकहाँ आएका एक सन्तले विशाल अक्षय बृक्षमुनि कालीको प्रतिमा भेटेर नित्य पूजा आरधना गर्नु भनेपछि त्यहाका स्थानीयले पूजा आरधना थालेको र बैशाख पुर्णिमाका दिन मेला लगाउन थालेको बताइन्छ । नाम थर र गोत्र नखुलेका ती सन्तले माटोबाट देबीको प्रतिमा बनाई पूजा गर्न थालेपछि स्थानीयबाट पनि पूजा आरधना शुरु भएको पाइन्छ ।’
बिक्रम सम्वत् २०३३ सालमा तत्वबेत्ता विद्वान ब्यक्तित्व योगी नरहरीनाथको सहभागितामा ‘बृहत धार्मिक सम्मेलन’ भएको थियो । सोही सम्मेलनमा योगी नरहरिनाथले शस्त्र– अस्त्रहरुले सुसज्जित हुनुभएकी माता जगदम्बाले असूरहरुको बध गर्ने क्रममा कञ्चनजङ्घा हिमश्रृङ्खलाबाट चालेको पहिलो पाइलो ताप्लेजुङको पाथीभरामा, दोश्रो पाइलो कालिकापीठ कालीस्थानमा र तेस्रो पाइलो भारतको कलकत्तास्थित कालीमन्दिरमा टेक्नुभएको भनी शास्त्रीय प्रमाणसहित प्रमाणित गरिदिएपछि कालिकापीठको महत्व बढेर गएको पीठका अध्यक्ष पोखरेलले बताउनुभयो ।
दैवी शक्ति रहेको विश्वासहित भक्तजनले कुनै पनि कुरा चिताएर कालिकापीठको दर्शन–पूजन गरेमा मनोकांक्षा पुग्ने गरेकाले पनि नेपाल–भारतका भक्तजनहरु अगाध आस्था र विश्वास राखेर त्यहाँ आउने गरेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
२४ बर्षमा ९ करोड बढीको संरचना निर्माण ः
२०५६ सालमा ज्यो.पं. लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा कालिकापीठ ब्यवस्थापन समिति गठन भएको थियो । सो समितिले जग्गादाता दलमानसिह तामाङ (चैनपुरे बा)–ले प्रदान गर्नुभएको ११ कठ्ठा जग्गामा भौतिक निर्माण शुरु गरेको हो । आजीवन सदस्यहरूबाट प्राप्त आर्थिक सहयोग, बार्षिक रुपमा गरिने यज्ञानुष्ठानबाट प्राप्त सहयोग, मुष्ठीदान, देश– बिदेशमा रहनुभएका दानदाताहरुबाट प्राप्त दानदातब्यबाट हालसम्म लगभग ९ करोड बढीका भौतिक संरचना निर्माण भइसकेको अध्यक्ष पोखरेलले बताउनुभयो । अहिले १७ कठ्ठा परिसरमा फैलिएको पीठमा गौशाला, पाकशाला, यज्ञशाला, छात्रबास, देवालय लगायतका भौतिक संरचना निर्माण भएका छन् । पीठ परिसरमा शिवालय, नवग्रह, अरुन्धतीसहित सप्तऋषिको प्रतिमा रहेको हवन कुण्ड, देवी मन्दिर लगायतका भौतिक संरचनाहरु रहेका छन् ।
२०६३ सालबाट वैदिक ग्रन्थहरुको अध्ययन–अध्यापन समेत गराइदै आएको पीठमा पूर्वीय वैदिक संस्कार, संस्कृति र वैदिक ग्रन्थहरु रुद्री, दुर्गा सप्तसती, बेद, ब्याकरण एवं पुराणादि ग्रन्थहरुको अध्यापन हुँदै आएको छ । आवास–भोजन सुविधासहित पूर्णरुपमा निःशुल्क पढाइने गरेको पीठद्वारा सञ्चालित कालिका संस्कृत विद्यापीठका प्राचार्य रघुनाथ रिजालले जानकारी दिनुभयो ।
कहाँबाट जाने कालीस्थान ः
देवीको सिद्ध शक्तिपीठ कालीस्थान पुग्न विर्तामोड तथा धाइजनबाट जानुपर्ने हुन्छ । झापाको प्रमुख ब्यापारिक केन्द्र विर्तामोडबाट लगभग ७ किलोमिटर पूर्वोत्तरमा रहेको पीठमा जान सालबारी झिल पुग्नुअघि विहीबारे हटियाको पश्चिमबाट उत्तरपूर्व लागेपछि कालीस्थान चोक पुगिन्छ । यसैगरी शनिश्चरे बजारबाट पनि कालीस्थान जान सकिन्छ । शनिश्चरे बजारबाट जयपुर जाने सडकको लगभग १ किमिमा मिलन चोक पुगिन्छ । मिलन चोकबाट पुर्ब १ किलोमीटर पूर्व गएपछि कालीस्थान पुग्न सकिन्छ । यसरी नै जयपुरबाट गार्गीचोकबाट पुर्ब( दक्षिण हुदै कालीस्थान पुग्न सकिन्छ । यसैगरी ७ नम्बर चोकबाट उप्रेतीडाँडा हुँदै पश्चिम– दक्षिण हुँदै कालीस्थान चोक पुगिन्छ । यसैगरी शनिश्चरे बजारबाट जयपुर सडक हुँदै १ किलोमीटर पूर्व गएपछि त्रिकोण ( मिलन चोक) मा पुगिन्छ । उक्त चोकबाट १ किमि पूर्वमा छ–कालीस्थान । यसैगरी जयपुरबाट दक्षिण गार्गीचोकबाट पूर्व–दक्षिण र मेची राजमार्गको सातनम्बर चोकबाट पश्चिम उप्रेतीडाँडाबाट दक्षिण झरेपछि कालीस्थान पुगिन्छ । कालीस्थान चोकको उत्तर–पश्चिम कोणमा सुन्दर एवं अलौकिक शक्तिको पीठ कालिकापीठ रहेको छ ।
संक्षिप्तमा कालिकापीठ र २२ औं बार्षिक अनुष्ठान

































































































