शनिश्चरे २० पुस । कालिका बहुउद्देश्यीय सहकारी संस्था अर्जुनधाराको २२ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कर्ण तामाङको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिं गोम्देनको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष तामाङले गत आर्थिक वर्षमा १६ लाख २३ हजार नौसय १३ रुपैयाँ खुद मुनाफा आर्जन भएको जानकारी दिनुभयो । एकहजार तीनसय ६५ जना शेयर सदस्य रहेको कालिका बहुउद्देश्यीय सहकारी संस्थाको एककरोड ७६ लाख ३४ हजार नौसय शेयरपूँजी रहेको अध्यक्ष तामाङद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
कालिकापीठ कालिस्थानको सभाहलमा आयोजित साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गोम्देनले नगरपालिकाले जापान सरकारसंगको सहयोगमा कृषिमा प्रविधि भित्र्याउन सम्झौता गरेको जानकारी दिंनुभयो । रैथाने बालीको उत्थानसंगै प्रशोधनका लागि प्रविधि र अधिक उत्पादनका लागि विऊविजन वितरण, सिंचाई लगायतका कार्यक्रम सञ्चालनमा नगरले जोड दिएको बताउँदै प्रमुख अतिथि गोम्देनले सुपारी प्रशोधन केन्द्र र कोल्ड स्टोर स्थापना गरिने बताउनु भयो ।
कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं। ९ का वडाध्यक्ष भिष्म मिश्र, अर्जुनधारा नगरपालिका कृषि शाखाका उर्मिला राजवंशी, कमल पौडेल, छविलाल शिवाकोटी, कृष्ण चापागाँई लगायतले मन्तव्य राखेका थिए ।
२२ औं साधारणसाभाको अवसर पारेर असल उद्यमीहरु मोहन सुब्बा, किरण आले, रिता गोम्देन र कमला अधिकारी, उत्कृष्ट कर्मचारी अस्मिता तामाङ, असल बचतकर्तातर्फ विकास न्यौपाने, मनकुमार पुरी, पूर्णिमा चौधरी र लक्ष्मीमाया भण्डारीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी शेयर सदस्यका छोराछोरीमध्येबाट एसईइमा उत्कृष्ठ हुने विद्यार्थीहरु आरती भट्टराई, प्रज्वल सिग्देल, विपना दाहाल र मौसम पुरीलाई नगदसहित सम्मान गरिएको थियो । सहकारीले सञ्चालन गरेको उपभोक्ता भण्डारबाट सामान खरिद गर्ने उत्कृष्ठ खरिदकर्ता संगीताकुमारी गुप्ता र सबैभन्दा धेरै बचत गर्ने बाल बचतकर्ता अनिश नेपाललाई पनि सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष योगप्रसाद मिश्रले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव केदारनाथ पोखरेलले गरेको व्यवस्थापक दामोदर दाहालले जानकारी दिनुभयो ।
२०५९ सालमा स्थापना भएको संस्थामा हाल एकहजार दुईसय ७५ जना शेयर सदस्य रहेको बताइएको छ ।
कालिका बहुउद्देश्यीय सहकारीको २२ औं बार्षिक साधारणसभा सम्पन्न

































































































