बिर्तामोड ५ मंसिर । कर्म दिने आमाले जिवितै हुँदा भनेको कुरा सदैव ताजा छ । म मरेपछि मेरो नाममा एकाह पुराण नलगाउनु है , आमाको त्यो भनाई अहिले पनि विर्सन नसकेकी विर्तामोड निवासी कञ्चना ढकाल सिटौलाले आमाको इच्छा विपरित जान चाहिनन् । आमा दिवंगत भएपछि बर्षदिनको श्राद्धपछि अखण्ड पुराण लगाएर रातो टिका फुकाइन् । तर, त्यतिले मात्रै उनको चित्त बुझिरहेको थिएन । मनले सप्ताह सम्झिरहेको थियो । तर, सप्ताह पुराण पार लगाउन पनि त सहज छैन । त्यसैले उनका लागि विकल्प बन्यो अर्जुनधारा जलेश्वर धामले आयोजना गरेको ४२ औं बार्षिक अनुष्ठानको अष्टोत्तरसत श्रीमद्भागवत महापुराण ।
आफू दिवंगत भएपछि कर्मदिने आमाले जिवितै हुँदा एकाह पुराण नलगाउनु है भनेको सदा याद आइरहने कञ्चना ढकालले बताइन् । सासूआमाको त्यही भनाईका कारण उनले बार्षिक काम सकेपछि अखण्ड पुराण लगाएर रातो अक्षता फुकाइन् । घरैमा सप्ताह पुराण लगाउन मन र धन दुवै भएर पनि कठिन हुँदै गएको उनको बुझाई छ ।
आगामी मंसिर ८ गतेदेखि १५ गतेसम्म अर्जुनधारा जलेश्वर धाममा आयोजना हुन लागेको पुराणमा ५१ हजार रुपैयाँ सहयोग रकम बुझाएर यजमान (कर्ता) का रुपमा बस्ने निर्णय गरेकी ढकालले भनिन्–‘मन र धन भएर मात्र हुँदैन, गर्ने मान्छे चाहिन्छ, भित्रको गर्ने कोही हुँदैन ।’ सासू आमाले आफूलाई निरन्तर भन्ने गरेको स्मरण गरिन्–‘आमाले एकाह लगाउलिस् नलगाउनु है भन्नुभएको थियो, त्यै भएर मैले अखण्ड लगाएँ’– उनले भनिन्–‘आमाले भनेको कुरा सदा सम्झिरहन्छु, घरमा लगाउन सकिंदैन, मेला मात्रै हुन्छ, भित्रको गर्ने नै हुँदैन ।’ ढकालले थपिन्–‘मन लागिराखेको थियो सातदिन ढुक्कले बस्छु ।’ आमा (सासू) र समग्र पितृ उद्दारका लागि सप्ताह लगाउन इच्छा थियो, भगवानको पनि चाहना होला आफ्नै ठाउँमा छुट्टै पण्डितसहित बस्ने मौका जुर्यो ।’
हिन्दु धर्म अनुसार घरको परिवारका सदस्य दिवंगत भएपछि दशगात्र कर्म, त्यसपछि मासिका र उनमासिका गरेर १६ वटा हुँदै बार्षिक श्राद्ध गर्ने प्रचलन छ । त्यसपछि यथासक्य पूजा वा पुराण लगाएर रातो अक्षता–टिका फुकाउने प्रचलन छ । दशगात्र कर्ममा बसेकाहरुले वर्षदिनसम्म रातो टिका नलागाउने हुनाले दिवंगतको बार्षिक श्राद्धपछि रातो टिका फुकाउन पूजा वा पुराण लगाउने गरिन्छ । यजमानको इच्छाशक्ति अनुसार कसैले सप्ताह पुराण नै लगाउँछन् भने कसैले अखण्ड, एकाह पुराण वा पूजा लगाएर भएपनि रातो टिका लगाउने गरिन्छ ।
आफ्नै ठाउँमा आयोजित अनुष्ठानमा सहभागी हुन आफूलाई पनि आग्रह आएको मिलन बस्नेतले बताए । यजमान बन्नका लागि आएको आग्रहलाई आफूले पनि अवसरका रुपमा लिएको बताए । ढुक्कै बस्न त भ्याइन्न होला उनले भने–‘तर राम्रो कामको लागि सहयोग त गर्नै प¥र्यो ।’
अर्जुनधारा जलेश्वरधामले ४२ औं बार्षिक अनुष्ठान स्वरुप विश्वशान्ति तथा पितृ उद्दारको कामना गर्दै अष्टोत्तरसत श्रीमद्भागवतसहित हवनादि महायज्ञ आयोजना गरिएको धामका कोषाध्यक्ष मनोज जोशीले बताए । एकसय आठ आचार्य र त्यत्तिकै संख्यामा यजमानसहितको सहभागितामा अनुष्ठान सम्पन्न गर्ने लक्ष्य सफल पार्न यजमानको खोजीकार्य जारी राखेको अर्जुनधारा जलेश्वरधामले जनाएको छ । ५१ हजार सहयोग दिएर बसेका कर्ताले आफ्ना पितृको नामसंकल्पसहित यजमान बन्न पाइने जोशीले बताए ।
दुई करोड अक्षयकोष स्थापनाको लक्ष्य राखेर शुरु गरिएको धामको अक्षयकोष पूर्णताको अपेक्षासहित अस्टोत्तरसत श्रीमद्भागवत् आयोजना गरिएको धामका अध्यक्ष नविन गट्टानीले बताए । धाममा गुरुकुलीन शिक्षा अध्ययन गरिरहेका बटुकहरुलाई खाद्यान्न व्यवस्थापनका लागि यसअघि नै प्रारम्भ गरिएको अक्षयकोषमा हाल ५० लाख रुपैया रहेको अध्यक्ष गट्टानीले जानकारी दिए । सधैंभरी मागेर पाठशाला सञ्चालन गर्न कठिन हुने निष्कर्ष निकाल्दै समितिले कोषको परिकल्पना गरेको उनले बताए । ‘एउटा दीर्घकालीन कोष स्थापना भयो भने सधैंभरी मागिरहनु पर्दैन, अध्यक्ष गट्टानीले भने–‘कोष भयो भने एउटा गति लिएर जान्छ, निरन्तर चलिरहन्छ ।’
कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापासहित १०८ आचार्य र त्यत्तिकै संख्यामा यजमान राखेर गरिने अनुष्ठानको तयारी अन्तिम चरणमा पुगेको प्रचार–प्रशार समितिका संयोजक निरज ओलीले जानकारी दिए ।
महायज्ञ अवधिमा सहयोग रसिद, भागवत भेटी, गङ्गा आरती, बजार स्टल, यजमान, अक्षयकोष र अन्यसहित दुई करोड १६ लाख आम्दानी हुने अनुमान गरिएको यज्ञ सम्पन्न गर्न विभिन्न शीर्षकमा ९५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको पनि कोषाध्यक्ष मनोज जोशीले बताए । सरकारद्वारा घोषित नेपालका १०० पर्यटकीय गन्तव्यमा सूचीकृत यो धाममा पशुपतिनाथकै जस्तो पेगोडा शैलीमा शिव मन्दिर, चारवटा ढोका र तामाको छानो निर्माण गरिएको छ । मन्दिरको तस्बिरलाई नेपाल सरकारले हुलाक टिकटमा समेत अङ्कित गरिसकेको छ ।
महाभारतकालीन किंबदन्ती
महाभारतकालीन किंबदन्ती अनुसार पाँच पाण्डवले गुप्तबास बसेका बेला अर्जुनले तिर्खाएका विराट राजाका गाईहरुको प्यास मेटाउन धनुषवाण प्रहार गरेर जलधारा निकालेर गाईलाई पानी खुवाएको पवित्र तीर्थस्थलको रुपमा यस धामलाई मानिएको छ । अर्जुनधारा परिषरमा विराटराजाका गाईहरु हरण गरेर लगेपछि अर्जुनले युद्धबलद्वारा ती गाईहरु फर्काएर ल्याएको किंवदन्ती पनि छ । अहिले धाम परिसरमा रहेको ठूलो पोखरीको माझमा अर्जुनले धनुषवाण हानिरहेको प्रतिमा स्थापना गरिएको छ भने पानीको धारा अनवरत बगिरहन्छ ।
खडेबाबा ः
धाम व्यवस्थापन समितिका अनुसार विसं. २०२३ सालमा हाल मूल मन्दिर रहेको पश्चिमतर्फको जलाशय किनारमा अवस्थित कैदलको वृक्षमुनी एकजना अपरिचित व्यक्ति साधुको भेषमा आएर तपस्या गरे । मौनव्रत धारण गरेका र सूर्यका उपासक उनले आफ्नो दाहिने हात सूर्यलाई चढाएका कारण सधैं खडा रहेर तपस्या गर्ने उनी को हुन् र कता गए भन्ने खोजी भएपनि कसैले पत्तो पाउन सकेन । पाँचदिनसम्म खडा भएर तपस्या गरेका साधुले सो क्षेत्रमा भगवान शिवको वास रहेको र अर्जुनले विराट राजाका गौहरुलाई पानी पिलाउनका लागि पज्र्यन्यअस्त्रद्वारा वाणगंगा प्रकट गराएको हुनाले तत्काल शिवालय स्थापना र पूजाअर्चनासँगै गंगाजीको संरक्षण गर्न लिखित सन्देश छाडी अलप भएको जनश्रुती रहेको छ ।
पूर्वका पशुपतिनाथको पहिचान बनाएको धाममा पूर्वी नेपालका विभिन्न ठाउँ तथा भारतको दार्जिलिङ, सिक्किम, आसाम, गुवाहटी, मेघालय, सिलीगुढी लगायत क्षेत्रबाट समेत दर्शनका लागि भक्तजनहरुका आगमन हुने गरेको छ ।
अर्जुनधारामा अष्टोत्तर श्रीमद्भावत महापुराण, सार्वजनिक पुराण विकल्प बन्ने

































































































