बिर्तामोड ५ मंसिर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोड ६ मा अवस्थित इन्द्रचन्द्र क्याम्पसलाई आधिकारिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) मान्यता प्राप्तिका लागि पहल गर्ने बताउनु भएको छ । क्याम्पसको ११ औं क्याम्पस सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएको सभामुख घिमिरेले क्युएए प्राप्तिका लागि आवश्यक मापदण्ड पुरा गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभामुख घिमिरेले शैक्षिक क्षेत्रमा इन्द्रचन्द्र शालिग्राम बनेको भनाई राख्नुभयो। शिक्षा क्षेत्रमा तीब्र प्रतिष्पर्धा रहेको उल्लेख गर्दै सभामुख घिमिरेले प्रतिष्पर्धात्मक क्षमता बृद्धिका लागि मेहनत गर्न क्याम्पस परिवारलाई आग्रह समेत गर्नुभयो । ‘विद्यार्थीहरु गुणस्तरीय र सुविधा सम्पन्न शैक्षिक संस्था खोजिरहेका छन्, सभामुख घिमिरेले भन्नुभयो, ‘त्यस अनुसार व्यवस्थापन मिलाउनुपर्छ ।’
प्रतिष्पर्धामा उत्कृष्ट बन्न आग्रह गर्दै उहाँले यातायातको नाममा रुवाबासी नगर्न सचेत गराउँदै भन्नुभयो, ‘बिर्तामोडमा यातायात व्यवस्थापनको लागि केही समस्या हुदैन, उहाँले थप्नुभयो– मेरोे क्षेत्रबाट मैले गर्न सक्ने सहयोग गर्ने नै छु । रुवाबासी गर्न जरुरी छैन ।’ शिक्षा क्षेत्र पुरानै नीति अनुसार चलिरहेको जानकारी दिंदै सभामुख घिमिरेले शिक्षा विद्येयक छिट्टै पास गरेर ऐन निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनु भयो ।
क्याम्पस प्रमुख प्रकाश दाहालले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा जग्गादाता, अक्षयकोषका दाताहरु, उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिचरण शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोडनगर पालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, शनिश्चरे क्याम्पसका प्रमुख मोहन ओली, बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, एकीकृत समाजवादीका बिर्तामोड इञ्चार्ज श्रीप्रसाद मिश्र, स्ववियु सभापति पवन दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा इन्द्रचन्द्र दर्पण समेत विमोचन गरिएको थियो ।
क्याम्पस सञ्चालक समितिका सदस्य एवम् जग्गादाता राजेन्द्र थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन बद्री भट्टराईले गर्नुभएको थियो ।
इन्द्रचन्द्र क्याम्पसलाई क्यूएए मान्यताका लागि पहल गर्ने सभामुखको प्रतिवद्धता

































































































