HomeFeatured 2पत्रकार बिग्रिए की बिगारिए ?

पत्रकार बिग्रिए की बिगारिए ?

सम्झेर बोलाएपछि जानैपर्छ भन्ने मान्यताले मन ग्रसित छ । त्यसैले सम्झेर आमन्त्रण गरेका ठाउँमा पुग्ने प्रयास निरन्तर छ र हुनेछ । शुभेच्छुकको निमन्त्रणा अनुसार पेशागत धर्म पूरा गर्ने हो । यसो भनिरहँदा भजन गाउनुपर्छ भन्ने पक्षमा छैन । यही दिनचर्याका क्रममा कात्तिक २८ गते बुधबार बिर्तामोडको अतिथि सदनमा साना मझौला बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारणसभामा पुगियो । अतिथि सदनको हल बाहिर साधारणसभामा सहभागी हुन आएका शेयर सदस्यहरुको भीड थामिनसक्नु थियो । हलबाट बाहिर निस्कने र भित्र पस्नेको बीचबाट लुसुक्क छिरेर भित्र पस्दा राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाका प्रमुख विवेक डाँगी सहकारी संस्था बद्नाम हुनुको कारण र राम्रो बनाउन सकिने उपायबारे सुझाव राख्दै थिए । आगन्तुकको स्वागत सम्मान, उत्कृष्ठ छनौट भएकाहरुको छुटेको सम्मानपत्र वितरण गर्दै कार्यक्रम अघि बढ्दै गर्दा कार्यक्रम स्थलभित्र प्रायः कुर्सी खाली भए । खाजा र खाममा लागेको भिड हेर्न रमाइलै थियो । हो–हल्लाका बीच बन्दसत्रमा भेला हुने समयको सूचनासंगै उद्घाटन सत्र सकियो । सहकर्मीहरु बाटो लागिसकेका थिए । कार्यक्रमका अध्यक्ष, अतिथिसहित उपस्थित दिदीबहिनीसंग केही समय बित्यो । तर, त्यो सुखद रहेन । मेरो पेशामाथिको टिप्पणीले मन खिन्न भयो । माफ गर्नुहोला यत्तिका कुरा लेखेर प्रिय पाठकहरुको व्यस्त समय खर्चनु अन्याय हो । तर, विषय प्रवेश कै लागि पनि सन्दर्भ त जोड्नै पर्यो ।


नेपालमा व्यवसायिक पत्रकारिताको अभ्यास प्रारम्भ भएको लगभग ३५ वर्ष पुगेको छ । त्यसअघि नेपालमा मिसन पत्रकारिता चल्यो । जुन शासन व्यवस्था, नागरिक स्वतन्त्रता, शिक्षा, स्वास्थ्यमा नागरिकको पहुँच, सामाजिक न्याय स्थापनाका लागि दशकौंदेखि कलमका माध्यमबाट निरन्तर भएको एकप्रकारको आन्दोलन नै थियो । २०४६ साल अघि नै रेडियो, टेलिभिजन र पत्रपत्रिकाको स्थापना भएपनि ती सरकार नियन्त्रित थिए । सरकारको पक्षपोषण बाहेक सरकारी सञ्चारमाध्यमले जनताका आवाज बोल्न पाउँदैन थिए । त्यो अवस्थामा जनताका आवाज मुखरित गर्नका लागि कडा चुनौति मोल्दै पत्रकारिताको माध्यमबाट तत्कालीन शासन व्यवस्था विरुद्ध आवाज मुखरित गर्ने गरिन्थ्यो ।
समग्रमा भन्नुपर्दा मिसन पत्रकारिताबाट व्यवसायिक पत्रकारितामा प्रवेश गरेको नेपाली पत्रकारिता यतिबेला पेशाका रुपमा स्थापित छ । पत्रकारिता व्यवसायिक बन्दै गर्दा पेशागत धर्म भने डगमगाएको छ । यो वास्तविकतालाई आफ्नै पेशा हो भनेर डाकछोप गर्ने हो भने नेपालको पत्रकारिता अझ नाङ्गिएर जाने निश्चित छ ।
सहकारीको त्यही बसाईमा एकजनाले भने–‘पत्रकारहरु पनि के?’ यस बाक्यले मलाई प्रतिप्रश्न गर्न बाध्य बनायो र भने–किन के भो र ?’ तुरुन्तै जवाफ आयो–‘क्यान्सर पीडितले बसपार्कमा गरेको पत्रकार सम्मेलनमा पनि २० हजार उडाइदिएछन् ।’ कुरा त्यतिमा सकिएन–‘२० जनाले लगेको त्यो २० हजारले एकपटक केमो लगाउन त पुग्थ्यो के भ’का पत्रकारहरु पनि ।’ उहाँको यो भनाईले पोलिरहेको छ । मन डढिरहेको छ । साधारणसभामा शेयर सदस्य र अतिथिको रुपमा उपस्थित भएपनि यसो भन्ने दिदीबहिनी कुनै न कुनै संघसंस्थाको नेतृत्वमा रहेकै थिए । उनले अझ प्रश्नै प्रश्न तेस्र्याइन्–‘पत्रकारहरुलाई चै जहाँ, जस्तामा पनि पैसै चाहिने ? पत्रकारको चै सामाजिक उत्तरदायित्व हुँदैन ? हुँदा हुँदा क्यान्सर पीडितले सहयोग जुटाउन गरेको पत्रकार सम्मेलनमा पनि पैसै चाहिने ? गोपनीयताको हक सुरक्षित गर्दै नाम उल्लेख गर्नु सान्दर्भिक भएन ।
पत्रकार र सञ्चारको माध्यमबाट उपचारमा परेको समस्या सार्वजनिक गर्दा सहयोगी मनहरुबाट आर्थिक सहयोग जुट्ला कि ! भन्ने अपेक्षाले पत्रकार सम्मेलन गरेको थियो होला । तर, पत्रकारलाई नै त्यतिका पैसा खर्चनु पर्दाको पीडा एकान, दोकान हुँदै मैदान आइपुगेको हुनुपर्छ भन्ने अनुमान लगाउन कठिन थिएन । मन अमिलो भयो । प्रश्नहरु मडारिए । यो मामिलामा पत्रकारहरुले साँच्चिकै २० हजार त के २० रुपैयाँ पनि लिएको हो भने त्यो सरासर गलत हो । पत्रकारिता पेशा हो भने पत्रकार त्यही पेशा अंगाल्ने ब्यक्ति । ऊ अर्कै ध्रुवबाट आएको प्राणी अवश्य होइन । यही समाजले हुर्काएको हो । त्यसैले समाज, परिवेश सुहाउँदो व्यवहार गर्नुपर्छ । पत्रकारिता पेशा हो । जुन उसले पछि अंगालेको । पेशागत धर्म पनि हुन्छ र छ पनि । पत्रकारिता पेशाका दृष्टिले पनि उक्त लाभग्राही जो जो थिए उनीहरुको निकृष्टता हो। पत्रकार आचारसंहिताको धज्जी उडाइएकै हो–उक्त घटनामा । तर, यसो भनिरहँदा ज–जसले आज टिप्पणी गर्रे उनीहरुले फेरि त्यस्तै चारो छरेर ब्यापार र विज्ञापन गर्दा भने तिनै पत्रकार सर्वोत्कृष्ठ ठहरिन्छन् । दुईदशक बढीको पत्रकारिता अभ्यासका क्रममा यस्ता उदाहरणहरु प्रशस्तै छन् ।
अनुभव आफ्नै पनि ः दशक नाघ्यो । एकजना शिक्षक पत्रकारले बिर्तामोडको भद्रपुर रोडमा कार्यालय रहेको सञ्चारमाध्यमको तल्लो तलाको कोठामा पत्रकार सम्मेलन गराउनु भयो । ठ्याक्कै नाम÷थर बिर्सिएपनि त्यसले दिएको पीडा बिर्सेको छैन । बाहुनडाँगीतिर घर भएका मिर्गौला पीडितले उपचार सहयोगका लागि खर्च जुट्ने आशामा पत्रकारलाई भेला गरेर दुःख पोखेका थिए । पत्रकार सम्मेलन सकेपछि प्रतिव्यक्ति एकहजारको नोट थमाइयो । एकछिन अलमल परें । यो के गरेको ? पर्दैन उपचारका लागि थप्नुस् भने । तर, आफूभन्दा अग्रजले लिएको देखेपछि र उनीहरुले पनि लिनु भनेर दोहोर्याई, तेह्र्याएर भने पछि लिएँ । पहिलोपटक संवेदित विषयमा पैसा समाएको त्यो क्षणले अहिले पनि पोल्छ । आत्मग्लानी हुन्छ । दुईदशकको पत्रकारिता यात्रामा त्यसदिनले फेरि यस्ता कार्यक्रममा जादा पैसा लिनुहुँदैन भन्ने कुरामा दृढविश्वस्त गरायो । त्यहिदिन देखि गरेको संकल्प फेरि दोहोरिएको छैन, दोहोरिने छैन ।
माथिको प्रसंग संवेदनशील विषय हो । त्यसका सन्दर्भमा माथि नै उल्लेख भइसकेको छ । तर, समग्र पत्रकारितालाई हेर्ने हो भने पत्रकारलाई गलत सावित गर्न, आफ्नो नियन्त्रणमा राख्न, आफ्नो भजनमा लगाउने कार्यमा के यो समाजको दोष छैन ? के पैसा दिएर समाचार लेखाउने र लेख्ने कार्य पत्रकारिता भित्र पर्छ ? पत्रकारिताका सिमित भजनमण्डलीलाई १०÷१५ हजार दक्षिणा गरेर १०÷१५ लाखको विज्ञापन रकम जोगाउने कार्यमा यहींका व्यापारी, व्यवसायी, उद्योगी, विभिन्न पेशामा रहेकाहरु नै होइनन् ?
मिसन पत्रकारिताको मिसन पूरा भएर पत्रकारिता पेशा र व्यवसायमा परिणत भएसंगै पत्रकारितामा पेशागत धर्म, मर्यादा निरन्तर अधोगतितर्फ धकेलिएको छ । पत्रकारिता भन्दा पितकारिता, अर्थकारिता, राजनीतिकारिता, खै के–के ……कारिताहरु हावी हुँदै गएको स्पष्ट देखिन्छ । जसका कारण दशक अघिसम्म पत्रकार हुँ भन्नमा जति गर्व लाग्थ्यो आज मुख लुकाएर हिड्नुपर्ने अवस्थाको सिर्जना भएको छ । यसका दोषी स्वयं पत्रकारमात्रै होइनन् । यो समाजलाई हाँक्ने, यो देशलाई हाँक्ने, यो देशमा अन्य पेशा व्यवसाय गर्ने सबै दोषका भागिदार हुन् । नैतिक रुपमा आफ्नो शाख बचाउन, आफ्नो अस्तित्व कायम राख्न र शिर ठाडो बनाएर हिड्नका लागि स्वयं पत्रकार आफूले आफूलाई अर्थकारिताको सीमा नाघ्नु हुँदैन । यसो भनिरहँदा प्रश्न पत्रकार विग्रिएकी विगारिए ? महत्वपूर्ण कुरा छ ।
स्वाभिमानको पेशा जब सम्पत्ती आर्जन गर्ने बाटोमा प्रवेश गर्छ, तब पेशाकर्मीहरु पथभ्रष्ट हुन सक्छन् ! भनिन्छ नी ‘धन देखेपछि महादेवको तीन नेत्र’ । बचाउ गर्नुपर्दा यहाँ पनि त्यो लागु हुन्छ । तर, आफू संलग्न पेशामा देखिएका विकृतिबारे नढाँटी भन्नुपर्दा केही स्थापित र केही उदीयमानको कम मेहनत, ठूलो आकांक्षा, हल्का परिश्रमबाट सम्पत्ती मोहका कारण समग्र पेशाप्रति नै नकारात्मक प्रभाव बढ्दै गइरहेको छ भने जिम्मेवारी के ? भन्ने प्रश्न पनि उठ्न थालेको छ । जसका कारण इमान्दारलाई पनि एउटै टोकरीमा हालेर हेर्ने प्रबृत्ति हावी हुँदै गएको छ । जसका कारण पेशागत मर्यादाभित्रै रहेर पत्रकारिता गर्नेहरुका लागि अर्थकारिता गर्नेहरु चुनौति बनेका छन् । अर्थकारिताका कारण आज मिडिया हाउस संकटमा पुगेका छन् । किनकी पत्रकारलाई दुइ÷चार हजारको चारो छरेर २÷४ करोडको व्यवसाय गर्ने कार्यले न त पत्रकार संधै तपाईको आफ्नो हुन्छ ? न त मिडिया हाउस मजबुत हुन्छ ? न त समाजले सही सूचना नै पाउँछ ? तसर्थ बिराएको बाटो समाएर पैसा दिएर समाचार लेखाउने कार्य बन्द गर्ने प्रण गरौं । जसले पैसा माग्छ ? माग गरेको रकम र नाम सार्वजनिक गरौं त ? कुनै पनि कुरा विग्रियो भने त्यसलाई सुधार्न वा सपार्नका लागि एकपटक सबै कठोर भएर लाग्ने हो भने बाटो विराएकाहरु फर्केर सही मार्ग समाउन बाध्य हुनेछन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2पत्रकार बिग्रिए की बिगारिए ?
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img