दमक पुस । झापाको कमल गाउँपालिका वडा नं ५ गुह्येश्वरी टोलमा जंगली हात्तीले एउटा घर भत्काएको छ ।
चुरे क्षेत्रबाट निस्किएको जंगली हात्ती आएको बखत भएको भाग दौडका क्रममा घरधनी मुक्तीनाथ कोइराला लडेर सामान्य घाईते भएका छन । स्थानीयबासीहरुका अनुसार जंगली हात्तीले कोइरालाको घर भत्काएपछि उनको परिवार विस्थापित बनेको छ ।
गुह्येश्वरी टोल अन्तर्गत चाँजु टुक्रेमा भएको यो घटनाबारे सूचना पाए लगत्तै कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई बिहिबार सो घटनास्थलमा पुगेर सो क्षेत्रमा हात्तीको प्रभाव न्यूनिकरणका लागि हात्ती धपाउन प्रयोग गरिने साइरन, टर्च लाइट लगायतका सहायक सामग्रीहरु टोलबासीलाई प्रदान गरेका छन ।
उनले घटनास्थलमा पुगेर जानकारी लिँदै तत्काल ति सामग्री हस्तान्तरण गरेका हुन । सो अवसरमा अध्यक्ष राईले नागरिकको जिउ धनको सुरक्षा स्थानीय सरकारको पहिलो प्राथमिकताको बिषय भएकाले त्यहाँस्थित बिद्युत पोलमा उज्यालो बत्ती जडानका लागि आवश्यक प्रकृया अघि बढाइने जनाउँदै आफनो तर्फबाट सहयोगको प्रतिबद्धता जनाए । वडाध्यक्ष लालबहादुर विष्टसहित टोलबासीहरुले सो क्षेत्रमा जंगली हात्तीका कारण दिनहुँ किसानले लगाएको अन्नबाली नष्ट हुने गरेको र त्रासपूर्ण जिवन विताउनु परिरहेको भन्दै दिर्घकालिन समाधानको लागि ध्यानाकर्षण गराएका अध्यक्ष राईको सचिवालयले जनाएको छ ।
कमलमा जंगली हात्तीको उपद्राे, घर भत्काउँदा परिवार विस्थापित

































































































