बिर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता उदयशमशेर राणाले नेपाली कांग्रेसले नीति महाधिवेशनमार्फत चारबर्षभित्रमा गर्ने कार्यक्रमको कार्ययोजना तयार गर्ने बताएका छन् ।
नेपाल तरुण दल झापाको आयोजनामा नेपाली कांग्रेस झापाको कार्यालयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता राणाले भोलीबाट हुने केन्द्रीय समिति बैठकले नीति महाधिवेशनको मिति तय गर्ने र उक्त नीति महाधिवेशनले पार्टीले देश र जनताका पक्षमा चारबर्षभित्र गर्नुपर्ने कामको कार्ययोजना बनाउने बताए ।
आम निर्वाचन २०७९ को परिणामले नेपाली कांग्रेसलाई सच्चिने सन्देश दिएको बताउँदै पूर्व अर्थराज्यमन्त्री समेत रहेका राणाले चारबर्षे रणनीति तयार गरेर युवा–विद्यार्थी र तरुणमाझमा पुग्नुपर्नेमा जोड दिए । नेपाल तरुण दलको पूर्व अध्यक्ष समेत रहेका नेता राणाले लामो समय तरुण दलको अधिवेशन नहुँदा युवा तथा तरुणमा निराशा उत्पन्न हुनु स्वभाविक भएको बताउँदै अब सबै उमेर समूहलाई लक्षित गरेर नीति बनाउने प्रतिबद्धता जनाए।
पदाधिकारीबीचमा कुरा मिले सबै कुरा मिल्यो भन्ने भ्रम नराख्न पार्टीको नेतृत्व पंक्तिलाई सुझाव दिदै नेता राणाले कुनै पनि गुटमा टाँसिएकै आधारमा गलत कुरालाई समर्थन नगर्ने दोहो¥याए ।
विचार नमिल्ने दलहरुबीच सरकार निर्माणमा गठबन्धन हुँदा सरकारले विगारेका कति कामको हिस्सा कांग्रेसले लिने भन्ने प्रश्न स्वभाविक रुपमा उठेको भन्दै राणाले अन्तरदलीय सहकार्य बाध्यता रहेको बताए। नेतृत्वबाट कमिकमजोरी भएपनि त्यसको भागीदार सबै रहेको बताउँदै गुटगत राजनीति अन्त्य गरेर मिलेर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका सचिव कृष्ण हुमागाईले जिल्ला सम्मेलनमार्फत १८ देखि ५० बर्ष उमेर समूहका युवालाई पार्टीमा समेट्न नीतिगत ब्यवस्था गर्न माग गर्ने प्रस्ताव केन्द्रीय समितिमा झापाको तर्फबाट लैजाने जानकारी दिए।
तरुण दल झापाका अध्यक्ष गोपाल तामाङले पार्टीले तरुणहरुको ऊर्जालाई पार्टी निर्माणमा उपयोग गर्नुपर्ने बताउँदै पार्टी र तरुण दलभित्रको गुट–उपगुट अन्त्य गर्नुपर्ने धारणा राखे ।
अन्तरक्रियात्मक कार्यक्रममा प्रशान्त भण्डारी, राजु न्यौपाने, गोकुल श्रेष्ठ, खड्ग लिम्बू लगायतले धारणा राखेका थिए। सोही कार्यक्रममा तरुण दल केन्द्रिय समिति सदस्यमा मनोनित सजेश शिवाकोटी र राजेन्द्र उप्रेतीलाई प्रमुख अतिथि राणाले खादा लगाएर सम्मान गरेका थिए। तरुण दल झापा अध्यक्ष गोपाल तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राजु न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अनिल ढुङ्गानाले गरेका थिए ।
‘नीति महाधिवेशनले कांग्रेसको चारवर्षे कार्ययोजना तयार गर्छ’: राणा

































































































