बिर्तामोड । समयमा कार्यालयमा दैनिक अनुपस्थित रहि वडाको काम सम्पादनमा असहयोग गर्ने वडासचिवलाई पारिश्रमिक मात्रै दिएर तलब नगरपालिकाको खातामा जम्मा गर्नुपर्ने माग माग गर्दै बिर्तामोड नगरपालिका वडा नं.–५ का वडाध्यक्ष रोहित प्रसाईले नगरपालिकामा धर्ना दिंदै सेवा प्रवाह शुरु गरेका छन् ।
कार्यालय समयमा सचिव अनुपस्थित हुँदा जनतालाई वडाबाट दिइने सेवा प्रवाहमा समस्या खेपेका वडाध्यक्ष प्रसाईले पटक पटक ध्यानाकर्षण गराएका थिए । तर, नगरपालिकाले सुनुवाई नगरेपछि माग सुनुवाईका लागि दबाब दिने उद्देश्यले प्रसाईले नगरपालिकाबाटै सेवा प्रवाह शुरु गरेका हुन् ।
नगरपालिकाको भवन बाहिर परिषरमा एउटा टेवल राखेर सेवा प्रवाह गरिरहेका प्रसाईले भने–‘२०७९ साल भदौ महिनादेखि बिर्तामोड नगरपालिका वडा नं.–५ ले विद्युतीय हाजिरी सिष्टम लागू गरेको थियो । त्यसयता कुनै पनि दिन वडा सचिव कार्यालय समयमा आइनपुग्ने र समयसम्म नबसेको पाइएको छ ।’ उनले थपे–‘सचिवका कारण सेवा प्रवाहमा समस्या भएपछि पटक पटक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षण गराउँदा पनि केही पनि भएन, जम्मा मेरो दुईवटा मात्रै माग हो, उहाँले काम गरेको अवधीको पारिश्रमिक दिनुपर्छ र बाँकी तलब कट्टा गरी नगरपालिकाको खातामा जम्मा गरिनुपर्छ ।’
समयमा वडासचिव कार्यालय नआउँदा सेवा प्रवाहमा थुप्रै समस्या झेल्नु परेको वडाध्यक्ष प्रसाईले बताए ।
सचिवले असहयोग गरेको भन्दै वडाध्यक्ष धर्नामा , तलब कट्टा गरी पारिश्रमिक मात्रै दिन माग

































































































