झापा । सत्ता गठबन्धनको आज काठमाडौंमा सम्पन्न बैठकले कोशी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ । गठबन्धनको बालुवाटारमा बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
प्रदेशसभामा गठबन्धनभित्र सबैभन्दा ठूलो संख्या कांग्रेसको रहेकोले कांग्रेसलाई मुख्यमन्त्री दिने निर्णय भएको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका कार्यबाहाक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । सबैभन्दा ठूलो दल काँग्रेस भएकोले उसको नेतृत्वमा सरकार गठन गर्न प्रदेशलाई सुझाब दिने निर्णय भएको उनले बताए । मुख्य मन्त्री कांग्रेसलाई दिने निर्णयसंगै सरकार गठनको लागि बहुमत जुटाउने जिम्मा पनि काँग्रेसलाई दिएको बताइएको छ ।
गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि लागि ४७ सिट चाहिन्छ ।
राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न समस्या छ । प्रदेशसभामा नेपाली कांग्रेसको २९, सभामुखसहित माओवादीको १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग ४७ सीट रहेपनि एमालेले सभामुखको गणना गर्न नमिल्ने बताउँदै आएको छ ।
नयाँ सरकार गठबन्धनका लागि राप्रपाको साथ लिन नसके गणपुरक संख्या पुग्न सकस देखिन्छ ।
यसअघि आइतबार काठमाडौंमा सम्पन्न नेपाली कांग्रेस प्रदेश समितिको बैठकले प्रदेश संसदीय दलको नेता समेत रहेका थापालाई मुख्य मन्त्री बनाउने निर्णय गरेको थियो ।
कोशी प्रदेशको मुख्यमन्त्री थापालाई बनाउने गठबन्धनको निर्णय

































































































