बिर्तामोड । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले संस्था स्थापनाको तेह्रौ स्थापना दिवस सामाजिक उत्तरदायित्व अन्तरगतका काम सहित विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
विर्तामो–१ मा मुख्य कार्यालय रहेको साना मझौला सहकारीले बिर्तामोड २ स्थित साङ्गवेद संस्कृत पाठशाला सञ्चालनार्थ एकलाखको अक्षयकोष स्थापनाको घोषणा गर्दै २५ हजार रुपैयाँ हस्तान्तरण गर्दै उक्त कार्यको थालनी गरेको छ । कोषमा आगामी दिनमा रकम थप गर्दै एकलाख पुर्याउने संस्थाका सचिव चन्द्रकुमार भट्टराईले जानकारी दिए ।
त्यसैगरी बिर्तामोड–४ स्थित परोपकार अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई सामुहिक भोजन गराएको संस्थाले संस्थाका सञ्चालक समिति तथा कर्मचारीलाई लक्षित गरी सहकारी अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।

संस्थाको कनकाई सेवा केन्द्रको आयोजनामा माविको सभाहलमा सम्पन्न सञ्चालक समिति तथा कर्मचारीलाई लक्षित गरी सहकारी अभिमुखिकरण कार्यक्रममा जिल्ला बचत संघ झापाका पूर्व सचिव लीलाप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारीले सहकारीले कर्जा लगानीमा व्यहोर्नु गरेको कठिनाई, वित्तिय व्यवस्थापनमा संचालक, व्यवस्थापन पक्ष र कर्मचारीहरुको भूमिकाका विषयमा सहजीकरण समेत गरेका थिए ।
४४ जना सहभागी कार्यक्रममा संस्थाका सहव्यवस्थापक रमन अधिकारीले संस्थाको वर्तमान वित्तिय अवस्थाबारे अवगत गराएका थिए भने सचिव भट्टराईले सहकारीको प्रारम्भिक इतिहासदेखि नेपालमा सहकारी स्थापना र सहकारी अभियानका विषयवस्तुमा सहजीकरण गरेका थिए ।
संस्थाका अध्यक्ष देवीका निरौला बस्नेतको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण तालिममा स्वागत सेवा केन्द्र ईकाइका संयोजक राजेन्द्र उप्रेतीले गरेका थिए भने सञ्चालन प्रेम अधिकारी र कार्यक्रमको औचित्यमाथि प्रकाश सचिव भट्टराईले परेका थिए ।

































































































