
इलामको रोङ गाउँपालिकामा अवस्थित धार्मिक आस्था र विश्वासको प्रतिक पाथिभरा मन्दिर पवित्र एवं प्रसिद्ध तिर्थस्थल स्थल हो । जहाँ टाढा टाढाबाट ठूलो संख्यामा जहाँ श्रद्धालु भक्तजनहरू दर्शनका लागि आउने गर्दछन् ।
खास गरी अन्य दिनको तुलनामा शनिबार र मंगलबार मन्दिरमा भक्तजनहरूको भीड लाग्ने गर्दछ । यस मन्दिरलाई ताप्लेजुङकी ठूलो पाथीभरादेवीको बहिनी तथा सानो पाथिभरा भन्ने गरिन्छ ।
इलामको रोङ गाउँपालिका ३ कुटी डाडामा वि.स.२०५१ सालमा स्थापना गरिएको पाथिभरा मन्दिर समुद्री सतहबाट १८४० मिटरको उचाईमा अवस्थित छ । स्थापना भएदेखि नै मन्दिरमा भक्तजनहरुको भीड लाग्ने गरेको हो ।
मेची राजमार्गमा अवस्थित हाँसपोखरी सिद्धदेवीको दर्शन पश्चात आठ सय मिटर उचाइमा पैदल यात्रा पछि देवीको दर्शन गर्न सकिन्छ ।
आफ्ना विभिन्न मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजनहरू देवीको मन्दिरमा दर्शनार्थ आउने गरेको बताइन्छ ।
मन्दिरका पुजारी यदुनाथ घिमिरे पाथिभरा देवीले धेरै वटा होइन । भक्तजनको एउटा विषेश मनोकांक्षा पुरा गरिदिने विश्वास व्यक्त गर्दछन् ।
मन्दिरमा दर्शन गर्न आएका झापा खुदुनाबारी निवासी भिम बास्कोटाले धार्मिक आस्था र विश्वास कारण आफु यहाँ आएको बताए ।
सोही स्थानबाट आएकी अर्की भक्तजन बिष्णु बासकोटा आफ्नो मनोकांक्षा पूरा होस् भनी बरदान माग्न देवीको चरणमा आएको बताइन ।
मन्दिरमा नेपालका भरका विभिन्न जिल्ला, झापा, मोरङ, सुनसरी, लगायत अन्य छिमेकी देशहरू भारत, बङ्गलादेश तथा भुटानबाट समेत भक्तजनहरू दर्शनका लागि आउने गरेका छन् ।
शक्ति , विश्वास र आस्थाकी प्रतिक देवी पाथीभरा मन्दिरमा विशेषगरि दशैं–तिहार, तीज, बालाचतुर्दशी, रामनवमी लगायतका चाडपर्वहरूमा मेला लाग्ने गरेको छ ।
झापा जिल्लाको सिमानादेखि थोरै माथि रहेको यस पवित्र तीर्थस्थल झापाको चाराली बजारबाट उत्तरतर्फ मेची राजमार्ग हुँदै सार्वजनिक यातायातमा करिब डेढ घण्टाको यात्रा पछि पुग्न सकिन्छ । आकाश खुलेको बेला मन्दिर परिसरबाट ताप्लेजुङको ठूलो पाथीभरादेवीको मन्दिर, नजीकै रहेको रमिते टावरबाट तराईका समथल भूभाग साथै सुन्दर दृष्यावलोकन गर्न सकिन्छ ।
पर्यटकीय दृष्टिले सुन्दर मानिने इलाममा अन्य प्रसिद्ध धार्मिक तिर्थस्थलहरू पञ्चकन्या, गजुरमुखी, माईपोखरी, सिंहमाहिनी, सेतीदेवी लगायतका धेरै प्रसिद्ध र पवित्र धार्मिक स्थलहरु रहेका छन् । जसले आन्तरिक पर्यटनमा टेवा पुर्याउन सघाएको छ ।

































































































