झापा । पूर्वी सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवल्दारलाई इन्स्पेक्टरले निर्घात कुटपिट गरेको खुलासा भएको छ। हतियारधारी तथा बर्दीधारी पाँचजना हवल्दारलाई सादा पोशाकमा खटिएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईसहितको तीनजनाको टोलीले मेची नदीको पानीमा डुबाउँदै बाँसको भाटैभाटाले निर्घात कुटपिट गरेको हो।
इन्स्पेक्टर राईको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरीका हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्रकै जवान उमेश राजवंशी घाइते भएका छन्। सप्रवह तामाङ र प्रज राजवंशीको ढाडमा चोट लागेको छ भने तामाङको शरीरभरि नीलडाम छ। त्यस्तै कार्की र राईको दायाँ हातमा चोट लागेको बताइएको छ। घाइतेहरूको धुलाबारीस्थित आम्दा मेची हस्पिटलमा उपचार भइरहेको छ।
सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले सादा पोशाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलाले सो नाकाबाट सामान गएको भन्दै बर्दीधारी सशस्त्रका हवल्दारहरूलाई कुटपिट गरेपछि मेचीनगर नगरपालिका– ५ स्थित नकलबन्दा क्षेत्र मंगलबार राति ५ घण्टा तनावग्रस्त बनेको थियो।
बर्दीधारी सशस्त्रलाई सार्वजनिक स्थलमा निर्घात कुटपिट गरेपछि आक्रोशित स्थानीयहरू सादा पोशाकका इन्स्पेक्टर राईसहित तीनै जनालाई कडा कारबाहीको माग गर्दै नाराबाजीमा उत्रिएका थिए। इन्स्पेक्टर राईसहित तीनैजनालाई बीओपी नकलबन्दा लैजाने क्रममा स्थानीयले होहल्ला गर्दै घटनास्थलमै घेरा हालेर रोक्न खोजेका थिए।
सोही क्रममा स्थानीयले सशस्त्रको बीएबी ३२४६ नम्बरको गाडी समेत तोडफोड गरेको बताइएको छ। घटनाले उग्ररुप लिएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल तत्काल घटनास्थल पुगेका थिए। साथै सशस्त्र प्रहरीले घटनालाई साम्य बनाउन करिब एक सय सशस्त्र प्रहरी परिचालन गरेका थिए। एसपी अर्यालले दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि मात्र स्थानीयले इन्स्पेक्टर राईसहित तीनै जनालाई लैजान दिएका थिए।
बराह बाहिनीबाट खटिएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापामा झिकाएर विभागीय कारबाही प्रक्रिया अघि बढाएको एसपी अर्यालले बताए। सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीका डीआईजी अञ्जनीकुमार पोखरेलले ड्युटीमा खटिएका सशस्त्रलाई कुटपिट गर्ने सशस्त्र कर्मचारीलाई विभागीय कारबाही गरिने बताए।
कुटपिटको घटनापछि बराह बाहिनी मुख्यालय सुनसरीका एसपी विक्रम हुमागाईँको नेतृत्वमा छानबिन समिति गठन गरिएको डीआईजी पोखरेलले जानकारी दिए । झापाका विभिन्न नाकाबाट चोरी तस्करी भइरहेको सूचना आएपछि सो कुरा बुझ्नलाई इन्स्पेक्टर राईसहित उनीहरूलाई खटाइएको स्वीकार्दै डीआईजी पोखरेलले भने, ‘झापामा घटना बुझ्न खटाइएको हो, आफ्नै संगठनका बर्दीधारी कर्मचारीलाई त्यसरी ड्युटीमा कुटपिट गर्नु कार्य एकदम गलत भयो।’ घटनाबारे छानविन गर्न समिति गठन गरिएको छ । उनले थपे, ‘‘छानबिन प्रतिवेदनको आधारमा दोषीलाई विभागीय कारबाही हुन्छ।’
इन्स्पेक्टरले बीओपी इञ्जार्चको कुरा पनि मानेनन्
नकलबन्दा नाकाबाट चोरी तस्करी भइरहेको भन्दै इन्स्पेक्टर राईको कमान्डमा सशस्त्र जवानहरू तामाङ र बास्तोला सादा पोशाकमा त्यहाँ पुगेका थिए। इन्स्पेक्टर राईले घटनास्थल पुगेर बीओपी नकलबन्दाबाट खटिएका १३ जना र सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएका ३ जना गरी १६ जनालाई सामेल गराएका थिए। त्यसपछि इन्स्पेक्टर राईले ड्युटीमा लापरबाही गरेको भन्दै उनीहरूलाई पानीमा चोप्दै भाटैभाटाले हिर्काएका थिए। बीओपी नकलबन्दाका इन्चार्ज तथा सई माधव खत्रीले इन्स्पेक्टर राईलाई सर यसो नगर्नुहोस् भन्दै रोक्न खोजेका थिए। तर, इन्स्पेक्टर राईले सई खत्रीको कुरा मानेनन्। उनले ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई एक घण्टासम्म पानीमा चोबल्दै कुटपिट गरिरहेको सशस्त्र स्रोतको दाबी छ। उनीहरूलाई आफ्नो ज्यान जोगाउनै हम्मेहम्मे परेको बताइएको छ।
ड्युटीमा रहेको शसस्त्रका हवल्दारलाई इन्स्पेक्टरद्वारा कुटपिट

































































































