गौरीगंज । झापाको गौरीगञ्जमा विद्यार्थीलाई लक्षित गरी प्रविधिको बढ्दो प्रयोग साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
गौरीगञ्ज गाउँपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रविधि हरेक मानिसको अभिन्न अंग झै बनिसकेको निष्कर्ष निकाल्दै प्रविधिको प्रयोगबाट हुने अपराधजन्य घटनाबाट बच्न व्यक्ति स्वयं सचेत र सतर्क हुनुपर्नेमा जोड दिइएको थियो ।
प्रविधिको सदुपयोगले मानिसलाई हरेक सहजता हुने निश्चित भएपनि सही सदुपयोग गर्न नजाने त्यसबाट हुने समस्याबारे छलफल गरिएको थियो ।

गौरीगञ्ज गाउँपालिका अन्तरगत रहेका मावि तहका विद्यार्थी, अभिभावक र शिक्षक प्रतिनिधि सहभागी कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि तथा गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले प्रविधि आजको आवश्यकता भएपनि त्यसबाट बच्न सबै सचेत हुन आग्रह गरिन् ।
कार्यक्रम अतिथि तथा गाउँपालिका उपाध्यक्ष पुजनकुमारी न्यौपाने कुँवरले आफूले सिकेको प्रविधि सम्बन्धी ज्ञानलाई साथीसंग बाँड्न सुझाव दिंदै आगामी दिनमा वडातहमा पनि सञ्चालन जरुरी भएको बताउँदै संभव भएसम्म आफूले त्यसका लागि पहल गर्ने धारणा राखिन् ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठले समय सापेक्ष कार्यक्रम भएको भन्दै प्रविधिको प्रयोग र त्यसबाट हुने फाइदा, बेफाइदाबारे सबै जानकार हुनै पर्ने बताए ।
कार्यक्रममा सहजकर्ता तथा इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाले प्रविधिको प्रयोगको विश्व र नेपालको अवस्था, नेपालमा देखिएका समस्या, साइबर अपराधबाट बच्ने उपाय, उजुरी गर्ने ठाउँ, कानूनी व्यवस्थाका लगायतका विषयमा सहजीकरण गरेका थिए । सहजीकरणका क्रममा डिएसपी लामाले सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो सुरक्षा आफैं भएको उल्लेख गर्दै साइबर अपराधबाट बच्न आफू सुरक्षित हुनुपर्नेमा जोडदिएको बताइएको छ ।
त्यस्तै अर्का सहजकर्ता भिमा शिवाकोटीले प्रविधिको प्रयोगबाट गाउँसमाजमा देखिएका समस्या, ती समस्याले निम्त्याएका असामाजिक व्यवहार र त्यसले परिवार र समाजमा पुर्याएको असरका बारेमा सहजीकरण गरेकी थिएन ।

सो अवसरमा सहभागी विद्यालयका शिक्षकका तर्फबाट लालमणी कट्टेल, अभिभावकका तर्फबाट पवित्रा पाण्डे र टेकबहादुर योङ्या तथा विद्यार्थीहरु सुजिया सिवा र सेविका बरालले कार्यक्रम उपयोगी भएको भन्दै विद्यार्थी, शिक्षकका साथै समुदायमा पनि कार्यक्रम पुर्याउनु पर्नेमा जोड दिए ।
नारी सञ्चार गृह झापकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता र सचिव मायामितु न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको सञ्जु शिवाकोटीले जानकारी दिइन् ।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीसहित ६५ जना बढीको सहभागिता रहेको आयोजक संस्थाकी सदस्य शान्ति सुब्बाले जानकारी दिइन् ।

































































































