दमक । प्रविधिमैत्री कृषि अभियानका लागि दमक नगरपालीकाले कृषकहरुलाई आधुनिक कृषि सामाग्री वितरण गरेको छ । नगरभित्र रहेका कृषकहरुलाई समुह मार्फत ५० प्रतिशत अनुदानमा बिषादी छर्किने इलेक्ट्रिक पावर स्प्रेयर र मकै छोडाउने मेसिन प्रदान गरेको हो ।
नगरपालिकामा आज आयोजित कार्यक्रममा नगर प्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराईले कृषि समाग्री कृषक समुहलाई हस्तान्तरण गरेका हुन् । कृषक समुहलाई सामग्री वितरण गर्दै नगर प्रमुख थापाले आर्थिक मन्दिका कारण सोचेजति सहयोग गर्न नपाए पनि भएसम्मको सहयोग उपलब्ध गराइएको बताए ।
यसअघि सरकारले दिएको अनुदान बास्तविक किसानसम्म पुग्न नसकेको गुनासो आए पनि अहिले भने वास्तविक किसानहरु नै छनौट गरेर सामग्री वितरण गरिएको उनको भनाई थियो । कार्यक्रममा नगर उपप्रमुख भट्टराईले कृषि सामग्रीसहित माटोको परिक्षण, मल विउ वितरण लगायतका सेवा समेत सञ्चालन गरेको भन्दै यसबाट लाभ लिन सबै कृषकहरुलाई आग्रह गरिन् ।
कृषकहरुलाई समुह मार्फत १५ वटा पावर स्प्रेयर र २० वटा मकै छोडाउने मेसिन वितरण गरिएको नगरपालिकाकी कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले जानकारी दिइन् । छोडाउने मेसिन प्रतिगोटा २३ हजार पाँचसय रुपैयाँ मकै र चारहजार पाँचसय रुपैयाँ पावर स्प्रेयर मेसिन पचास प्रतिशत अनुदानमा कृषक समुहलाई वितरण गरिएको भट्टराईले जानकारी दिइन् ।
नगरपालीकाको आर्थिक बिकास समिति संयोजक इन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष हरि न्यौपानेको समेत उपस्थिति रहेको थियो ।
दमक नगरपालिकाद्वारा कृषक समुहलाई आधुनिक कृषि सामाग्री प्रदान

































































































