बैंक तथा वित्तीय संस्थाले बैंकिङ लगानी घटाउँदै लगेसंगै व्यवसायीहरु घर भाडा नै तिर्न नसकेर समस्या हुँदै आएको बताउँछन् । यद्यपी व्यापारी व्यवसायीले आफ्नो पेशालाई निरन्तरता दिनु बाध्यता ठानिरहेका छन् । केही ऋणीहरु बैकको ऋण तिर्नु हुन्न भने कुरा सार्वजनिक रुपमा आह््वान समेत गरिरहेका छन् । यस्तो परिस्थितिमा कसरी चलिरहेको छ ब्यापार व्यवसाय भन्ने विषयमा बिर्तामोडका हार्डवेयर ब्यापारी भक्त कार्कीसंगको कुराकानीको केही अंश :
व्यापार–व्यवसाय कस्तो चलिरहेको छ ?
नाजुक अवस्थामा छ ।
नाजुक हुनुको कारण के हो ?
अर्थतन्त्र कमजोर भएकै कारण त होला ।
तर, घर बन्ने क्रम त त्यत्तिकै छ नि ?
यस्तो छ । आर्थिक मन्दी नभएका बेला पाँचसय घर बन्थे भने अहिले दुईसय घर बन्दैछन् । आर्थिक मन्दी हुँदा र नहुँदाको फरक यही छ । कति बन्थे र कति बन्दैछन् भन्ने कुरा हो । बन्न चै बन्दै नै छन् । तर, थोरै बन्दैछन । बिर्तामोडमा हार्डवेयर व्यवासायी÷व्यापारीहरु बढ्दैछन् । अढाई÷तीनसयको हाराहारीमा व्यवसायी छन् । घर निर्माण गर्ने मान्छे थोरै । अब ठूला ठेकेदारले हामीसंग सामान लिंदैनन् । सानाले तिर्दैनन्, त्यसो भएको हुँदा व्यापारमा अलिकति अप्ठ्यारो स्थिति छ ।
व्यवसायमा बैंक आतंक भयो भन्ने गुनासो सुनिन्छ ? बैंकको ताकेता कस्तो छ ?
बैंकको ताकेता छ । तर, ऋण लिएपछि त उसको सिष्टम छ । उसले बनाको एउटा वे छ । उसले दिएको वे मा हामी रुजु भएर ऋण लिएका छौं । हामीले नै दिएको वे हो । त्यो वे अनुसार फलो गर्दा त हामीले रिसाउनु भएननी । ब्याज अलि महंगो भएको छ, ब्याज बढाएकोमा अलि आपत्ती छ । तर, ऋण लिएपछि तिर्नु पर्दैन भन्ने मान्यतामा म छैन् । सिष्टम मानेर ऋण लिएपछि धर्म सम्झेर तिर्नुपर्छ । तिर्नु हुँदैन भन्ने कुरामा म चै कन्सिडर गर्न सक्दिन । जहाँसम्म ब्याजको कुरा छ, त्यसलाई घटाउनु पर्छ । राज्यले व्यवसायीलाई मार्नुहुँदैन । राज्य पोलिसी परिवर्तन गर्नु पर्यो । ऋण खाएर तिर्दिन भन्नु मलाई चै सैह्रय हुदैन, पच्दैन पनि र म त्यसो पनि गर्दिन । मेरो त्यो खालको नेचर पनि होइन । मैले मात्रै होइन अरुले पनि त्यसो गर्नु हुँदैन । आफूले पनि कसैलाई दिएको छ भने उसले पनि त दिंदैननी ।
कति भयो व्यवसाय शुरु गर्नुभएको ?
मैले यो शुरु गरेको १२/१३ वर्ष नै भयो ।
यो व्यवसायका चुनौति के रछन् ?
–यसका चुनौतिहरु धेरै छन् । कष्टमरहरु फल्ट, लगेको कुरा फर्काउन नजान्ने, झुटो कुरा बोल्न जान्ने धेरै भएका सामान फर्काउन नजान्ने भएका कारण समस्या छ । सामान लगेर घर बनाको छ । घर भनेको मन्दिर हो, मन्दिर बनाएको हिसाब बुझाउने जस्ता समस्या छन् । अब घर भनेको उसका मन्दिर हो । मन्दिर बनाको कुरामा पनि मान्छेले तीर्न ढिलो गर्ने, आनाकानी गर्ने जस्ता कामहरु गर्छन् । अनि हार्डवेयरले धेरै मुनाफा खायो भन्ने, हार्डवेयरले कमायो, लुट्यो भन्ने गर्छन । हार्डवेयरले कति कमाएको छ भन्ने चै थाहा छैन । तर, हार्डवेयर कसरी चलेको छ ? भन्ने कुरा चै हेरिंदैन । खाली कमायो, लुट्यो, खायो मात्र भन्ने गरेको पनि पाइन्छ । हार्डवेयरले कत्ति कमायो, कति पर्सेन्टमा काम गरेको छ भन्ने कुरा बुझ्नतर्फ चै कोही लाग्दैन।
क्यासको कारोबार गर्न सकिंदैन ?
–अब चै क्यासको सिष्टम नै ल्याएर माथि बन्द नै गरेर आएका हौं । बाँकी बन्द गराएकोमा हामी त खुशी छौं । अब हामीले नै नपाएपछि हामीले दिन सक्ने कुरा पनि हुँदैन । २/४ विश्वास लागेकालाई दिनु अलग कुरा भयो । क्यासमा गर्दा ठूलो व्यापार गर्न सकिंदैन । थोरै कारोबार गर्छौं, क्यासको गर्छौं । त्यसले हामीलाई पनि पूँजी सटेज त भएन । बाँकी नफर्किनु नै हाम्रा लागि चुनौति हो । मान्छेमा नकारात्मक पाटोमात्रै बढ्दै गयो ।
नकारात्मक भावना बढ्नुको कारण के हुन सक्छ ?
महंगी बढ्यो, मान्छेमा इच्छा आकांक्षा बढ्दै गयो । हाईफाई बढ्यो । हुनेखानेका बच्चाले जे खायो, जे लायो त्यही चाहियो बच्चा र अभिभावकलाई । नकारात्मक कुराहरु बढ्दै गयो, आम्दानी बढेन, खर्च बढ्यो, महंगी बढ्दै गयो तर इन्कमको स्रोत भने बढेन । यो समस्या बाबुआमादेखि छोराछोरी सम्मै हो । हिजो २० हजारमा चाड मनाउँथे भने आज त्यसरी नै चाड मनाउनका लागि दुईलाख लाग्न थाल्यो । तर देखासिखी गर्ने क्रमले आम्दानी भन्दा खर्च धेरै हुन जाँदा मान्छेमा समस्या छ ।
तपाई आफूलाई सफल, असफल वा मध्यम कस्तो व्यवसायी ठान्नुहुन्छ ?
– म आफू मध्यममा पर्छु । कहाँ हो कहाँ ठूलो ब्यापार पनि गर्न सकेको छैन । तर त्यसो भन्दैगर्दा केही नभएको पनि होइन् । १२/१३ वर्षको अनुभवमा म मध्यम खालको व्यापारी हो । म विग्रिएको नासिएको पनि छैन ।
किन हार्डवेयर नै रोज्नुभयो ?
– काम त अरु पनि गरियो । तर मेरो भित्री इरादा के छ भने हार्डवेयर व्यवसाय नै गर्नुपर्छ । निर्माण क्षेत्रको व्यवसाय गर्ने भन्ने लागेको हो । किन भने निर्माण व्यवसाय क्षेत्रको काम गर्यो भने चिनिन्छ भन्ने लागेर नै यतातिर लागेको हुँ । ह्वाइट काम गर्ने हो किलोमा जोखेर गर्ने व्यवसाय हो । कसैलाई ठग्ने कुरा पनि हुँदैन, कुहिएर जाँदैन । निश्चित एउटा दररेट हुन्छ । र अर्काले भनेको भरमा अरेको भरमा कुद्नु हुँदैन भन्ने हो ।
कत्तिको सजिलो छ व्यवसाय सञ्चालन गर्न ?
काम सबै अप्ठ्यारै हुन्छन् । तर, यहाँ कन्सेप्ट भएका मान्छे आउँछन् । पैसा लिएर माल पठाउने हो । सकिंदैन भने हात उठाउन पाइयो । तर अरु भन्दा यो २०० प्रतिशत सजिलो लाग्यो । आफूले गल्ती गरे त्यसको जिम्मा लिंदा पुगिहाल्छ । जोखिम जुन क्षेत्रमा पनि हुन्छ नै । बाँकी उठाउने चुनौति त छ । तर, घर भनेको मन्दिर हो । जहाँ सधैभरी आफू बसिन्छ, रमाइन्छ, दुःख सुख बिताइन्छ । तसर्थ मन्दिरलाई सामान दिएका छौं, मन्दिरमा बसेर सपना कस्तो देख्नु हुन्छ ? मन्दिरमा बसेर अरुलाई रुवाउनु हुँदैन भन्ने भावना जागृत गराएर मन जित्दैछौं ।
व्यापारिक प्रतिष्पर्धा कस्तो छ ?
–ब्यापारी व्यवसायीको संख्या बढेको छ । अघि नै भने निर्माणको संख्या आधाभन्दा धेरैले घटेको छ । व्यापारीहरुलाई घर भाडा तिर्न पनि समस्या छ । केही अस्वस्थ प्रतिष्पर्धा पनि छ भन्छन् । म आफू गर्दिन्, मलाई व्यापार–व्यवसाय इमानको हुनुपर्छ भन्ने लाग्छ । व्यापारमा इमान्दारिता हुनुपर्छ भन्ने लाग्छ । मान्छेले जतिसुकै जे–जे गरेपनि एकदिन मरेर जानुपर्छ । तसर्थ व्यवसायलाई धुमिल बनाउन कसैले पनि खोज्नु हुँदैन र मबाट कहिले पनि त्यस्तो काम हुँदैन र अरुले पनि गर्नुहुँदैन भन्छु । यद्यपी कता कता कहिलेकाँही भयो रे भन्ने सुनिन्छ । सबैले पनि कसैको टिप्पणी गर्नु र अफवाह फैलाउनु दुवैका लागि राम्रो हुँदैन ।
अन्त्यमा ?
ब्यापारिक इमान्दारितामा नचुकौं । सबैले सुध्रिनुपर्छ । गुणस्तरयुक्त काम गरौं । स्वस्थ्य प्रतिष्पर्धा गरौं भन्न चाहन्छु ।
व्यवसायमा इमान्दारिता हुनुपर्छ–कार्की
