बिर्तामोड । बिर्तामोड नगरपालिकाले फागुन २० गतेदेखि नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ । नवनिर्मित नगर अस्पतालबाट हाल दैनिक २५० देखि ४०० जनाले सेवा लिइरहेको बताइएको छ ।
मानिसको सबैभन्दा ठूलो धन स्वास्थ्य भएकाले नगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले नगरबासीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको बताइन् ।
अस्पताल परिसरमा थप रू. १८ करोड ५० लाखको लागतमा भवन निर्माणको तयारी भइरहेको छ । भवनसँगै क्रमशः अस्पतालबाट प्रवाह हुने सेवा विस्तार गरिने योजना रहेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेले बताए ।
नगर अस्पतालबाट नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमासहित दैनिक बहिरंग, प्रयोगशाला, भिडियो एक्स–रे, ईसीजी, प्रसुती, एक्स–रे लगायतका सेवा प्रवाह हुने नगर अपस्तालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले बताए । विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाउँदै डा. अधिकारीले विशेष परिस्थिति बाहेक रिफर नदिइने बताए ।
नगर अस्पतालका हाल ३६ जना जनशक्ति समेत व्यवस्थापन भइसकेको छ । एक जना विशेषज्ञसहित तीन जना मेडिकल अधिकृत, प्यारामेडिक्स १२ जना, नर्स सात, प्रयोगशालामा चार, रेडियोग्राफर एक, प्रशासन कर्मचारी एक, कार्यालय सहयोगी चार, सरसफार्इ कर्मचारी दुई र सुरक्षा गार्ड एकजना गरी ३६ जना जनशक्ति व्यवस्थापन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत राजिव विष्टले जानकारी दिनुभयो ।
नवनिर्मित नगर अस्पतालको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने बताइएको छ ।

































































































