बिर्तामोड ६ भदौ । नेपाली महिलाहरुको सांस्कृतिक पर्व हरितालिका तीज आउन अब सातदिन बाँकी छ । तर शहर–बजार र गाउँ–घरमा तीजको रौनक भित्रिसकेको छ । विभिन्न महिला समूह, राजनीतिक दल, एवं सामाजिक संघसंस्थाहरुले सामुहिक तीज मनाउने परम्परा केही बर्षयता बढ्दो छ ।
तीजको सांस्कृतिक पक्ष एकातिर भएपनि सामुहिक रुपमा मनाइने यस्ता तीजले एक–आपसमा आत्मीयता बढाउने, रमाइलो हुने एवं सामाजिक कामहरुमा सक्रियता बढ्नेजस्ता सकारात्मक लाभ हुने एवीसी नेपालकी झापा अध्यक्ष कञ्चना ढकाल बताउँछिन् । उनले आमा–बुवाको सम्मान घरबाटै थाल्नुपर्ने बताइन् ।
शिक्षासेवी अन्जना ढुङ्गानाले महिलाहरुलाई स्वावलम्बी र आत्मनिर्भर बनेपछि मात्रै वैवाहिक बन्धनमा बाँधिए स्वतन्त्र रुपमा जीवन निर्वाह गर्न सहज हुने बताइन् । जिल्ला खेलकुद संघ झापाका अध्यक्ष प्रशान्त भण्डारीले तीज एउटा मौलिक एवं सांस्कृतिक पर्व भएको बताउँदै यसले दिदीबहिनी र दाजुभाइवीचको आत्मीयता बढाउने बताए ।
तीज पर्वको अवसर पारेर कतिपय संघसंस्थाले नृत्य प्रतियोगिता, नाटक एवं विभिन्न कलात्मक प्रतियोगिताहरु सम्पन्न गरेका छन् ।
यसले महिलाहरुमा जागरुकता बढाएको छ भने आत्मनिर्भरतातर्फ पनि उन्मुख बनाएको छ । यही अवसर पारेर विर्तामोड उद्योग बाणिज्य संघ, विर्तामोड नगरपालिका वडा नं–५, नेपाल उद्यमशील महिला संघ झापा लगायतले सामुहिक तीज पर्व मनाइसकेका छन् ।
नेपाल उद्यमशील महिला संघले बिर्तामोड–४ स्थित परोपकार अनुसन्धान केन्द्रमा आश्रित बृद्धबृद्धालाई सामुहिक दर खुवाएर तीज पर्व मनाएको छ ।
संघका अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा शिक्षा सेवी अञ्जना ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ढुङ्गाना, विशेष अतिथि चेम्बर अफ कमर्शका झापा जिल्ला अध्यक्ष ओमकृष्ण विमली, प्रशान्त भण्डारी, एबीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटी, राधा सुब्बा, उर्मिला विमली, सम्झना भण्डारी, संगीता चिमरिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
निरमाया पुलामीले स्वागत गरेको कार्यक्रमको सञ्चालन यशोदा प्रसाईले गर्नुभएको थियो ।
उद्यमी महिला समूहको तीज मिलन कार्यक्रम
बिर्तामोड उद्योग बाणिज्य संघ अन्तरगत रहेको उद्यमी महिला समूहको आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
उद्यमी महिला समूहकी अध्यक्ष तिलोत्तमा खत्रीको अध्यक्षता तथा उद्योग बाणिज्य संघ प्रदेश अध्यक्ष प्रदेश अध्यक्ष टिकाराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रमको औचित्यमाथि बिर्तामोड उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराईले प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि ढकाल, जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता रोक्का, हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मि मैनाली, आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख शुभप्रसाद रिजाल, सिता पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नैनकला भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत यशोदा उप्रेतीले गर्नुभएको थियो । कार्यक्रममा कृपा पौडेलको विशेष सांगितीक प्रस्तुती रहेको बताइएको छ ।
विगतमा सानैमा विवाह गरेर दिएका छोरी–चेलीहरु हतपत माइत आउन नपाउने, बाटो–घाटो, पुल–पुलेसा आदिको समस्याका कारण बर्षदिनमा मात्रै माइती गएर चेलीबेटी ल्याउने र हविष्य भोजन बनाउने मिठो–मसिनो खुवाउने प्रचलन थियो । अहिले महिलाहरु कामकाजी भएका छन् । रोजगारी, शिक्षा, स्वास्थ्य, उद्यम, विभिन्न सामाजिक क्षेत्रमा महिलाहरुको क्रियाशीलता बढेको छ ।
बाटो–घाटोको विकास भएको छ भने विगतमा जस्तो माइति लिनै जानुपर्ने अवस्था पनि देखिदैन ।
यो अवस्थामा रोजगारी एवं विभिन्न काममा रमाउने महिलाहरुले आफ्नो टोल, छिमेक, सहकारी, सामाजिक संघसंस्था एवं आसपासमा क्रियाशील महिलाहरुबीचमा रमाइलो गरेर मनाउने प्रचलन बढेको छ ।
यो सँगै होटल, पार्टी प्यालेस र सार्वजनिक स्थलहरुमा महिलाहरु जम्मा भएर नाच्ने, गाउने, विभिन्न मिष्ठान्न परिकारहरु बनाउने, खाने–रमाउने प्रचलन बढ्दो छ । तीजको मौलिक परम्परामा केही परिवर्तन भएको छ भने परिकारहरु पनि फेरिएका छन् । मुख्य गरी तीजमा दुध, घ्युमा बनेका हविष्य भोजनका परिकार खाने परम्परागत चलन भएपनि पछिल्लो समय माछा–मासु, विभिन्न पेय पदार्थहरुका परिकार बढी प्रयोगमा ल्याएको पाइन्छ ।
नेपाल उद्यमशील महिला संघ र उद्यमी महिला समूहको सामुहिक तीज

































































































