विर्तामोड १५ असार । भारी बर्षातका कारण असार १४ गते डुवान र कटानबाट विस्थापित भएकाहरुमध्ये केही घर फर्किएका छन् ।
बस्तीमा पानीको सतह बढ्दै गएपछि विस्थापित भएका २८९ परिवार मध्ये १६४ परिवार घर फर्किएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।
पानीको सतह घटेसंगै गौरीगंज १ दास चौरीका १२ परिवार घर फर्किएका छन् भने भद्रपुर–८ सुकुम्बासी बस्तिका २६ परिवार, गौरादह–६ लेलियाका १२५ परिवार बाह्रदशी–२ सुकुम्बासी टोलका विस्तापित ६० परिवार मध्ये १३ परिवार घर फर्किएको बताएको छ ।
अंधुवा खोलाको बाढीका कारण विस्थापित बाह्रदशी–२ का ६० परिवार मध्ये ४७ परिवार दक्षिणेश्वर मन्दिरमा रहेका छन् भने गौरीगंज १ टुनुवस्तिका १२ परिवार स्थानीय रामजानकी प्राविमा र शिवसताक्षी ४ सुकुम्बासी बस्तीका ३३ परिवार त्रिभुवन माविमा आश्रित छन् । त्यसैगरी छिमेकीकामा शरण लिइरहेका गौरीगंज १ भन्सार टोल अधिकारी बस्तीका १५ घर परिवार घर फर्कन नसकेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।
गौरीगंज १ का विस्थापत परिवारका लागि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ६० थान त्रिपाल र ६० थान हाईजिन किट वितरण गरेको छ ।
बाढीले विस्थापित भएका १६४ परिवार घर फर्किए

































































































