विर्तामोड ८ फागुन । प्रजातान्त्रिक समाजवादका ब्याख्याता एवं निष्ठावान नेता छत्रमानकेशरी (सि.के) प्रसाईको २८ औं स्मृति दिवस विविध कार्यक्रमका साथ आज सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका पूर्व सभापति, केन्द्रीय समितिका पूर्व प्रवक्ता एवं पूर्व केन्द्रीय सदस्य समेत रहनुभएका प्रसाईको २०५० सालमा निधन भएको थियो ।
प्रजातान्त्रिक समाजवाद, वाक एवं अभिब्यक्ति स्वतन्त्रताका लागि जीवनभर संघर्ष गर्नुभएका सि.के. प्रसाईंले पञ्चायती शासनकालमा लामो समय निर्वासनको सजाय भोग्नुपरेको थियो भने सर्वस्वहरणमा समेत पर्नुभएको थियो ।
वि.पी.को सान्निध्यमा रहेर राजनीति गर्नुभएका सि.के. सिद्धान्त र निष्ठाप्रति अडिग हुनुहुन्थ्यो भने वि.पी.ले अवलम्बन गर्नुभएको प्रजातान्त्रिक समाजवादको आधिकारिक ब्याख्याताका रुपमा समेत सि.के. प्रसाईलाई लिइन्थ्यो । समाजवादी विचारकको रुपमा रहनुभएका सि.के.ले आफ्नो जीवनकालमा लेख्नुभएका विचारहरुलाई समेटेर आजको सरल राजनीति र सि.के.का विचारहरु नामक कृति प्रकाशन भएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सि.के.का समकालीन राजनीतिज्ञ एवं नेपाली कांग्रेसका पूर्व सभापति पूर्णानन्द शर्मालाई सम्मान गरिएको छ ।
सम्मानित ब्यक्तिलाई प्रमुख अतिथि शर्मा, प्रतिष्ठानका संरक्षक विवेककेशरी प्रसाई, संगिता प्रसाई, सभापति टिकाप्रसाद प्रसाईंले सम्मानपत्र र दोसल्ला प्रदान गर्नुभएको हो ।
सोही कार्यक्रमका बीच सि.के. चिन्तन प्रतिष्ठानले शैक्षिक क्षेत्रमा प्रारम्भ गरेको सहयोग यसबर्ष अर्जुनधारा नगरपालिका–४ स्थित लक्ष्मी प्रा.विलाई हस्तान्तरण गरिएको थियो । विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर डाँगी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द श्रेष्ठलाई सि.के. प्रसाइका नाती अनुदान प्रसाईले ५१ हजार राशीको सहयोग प्रदान गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि विश्वप्रकाश शर्माले सि.के.को सिद्धान्तप्रतिको निष्ठा र शालिनता प्रत्येक राजनीतिकर्मीका लागि अनुकरणीय रहेको बताउनुभयो ।
कार्यक्रममा उहाँका समकालीन एवं सम्मानित ब्यक्तित्व पूर्णानन्द शर्माले सि.के. प्रसाईको अत्यन्तै साधारण जीवनशैली, आदिबासी मूलका नागरिकहरुसँगको सान्निध्यता, एवं उच्च वर्गका ब्यक्तिभन्दा मध्यम र निम्न बर्गका मानिसहरुसँग घुलमेल हुने बानीले पनि त्यसबेला कांग्रेसको संगठन बलियो रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व राज्यमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले आफू प्रसाई परिवारकै भएपनि सि.के.को राजनीतिक योगदानका बारे पश्चिम नेपालमा पुग्दा ‘सि.के.को विचार पढेर कांग्रेसमा लाग्यौं’ भन्ने सुनेपछि थप प्रभावित भएको बताउनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री एवं कांग्रेस नेता दीपकप्रकाश बास्कोटाले वि.पि.कोइरालापछि सि.के. प्रसाइले प्रजातान्त्रिक समाजवादी विचारको आधिकारिक रुपमै ब्याख्या गरेको बताउनुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकालले सि.के.को जीवनशैली, विचार र सिद्धान्तप्रतिको निष्ठाबाटै आफू प्रभावित भएको धारणा राख्नुभयो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सि.के प्रसाइकै पालामा झापामा कांग्रेसको बैचारिक जग बलियो बनेको बताउनुभयो ।
कार्यक्रममा विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष राम कट्टेल, प्रतिष्ठानका पूर्व अध्यक्ष लोकराज ढकाल लगायतले बोल्नुभएको थियो ।
सि.के. चिन्तन प्रतिष्ठानका सभापति टिकाप्रसाद प्रसाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष कुमार भट्टराई र सञ्चालन सचिव इन्दु पूर्वेलीले गर्नुभएको थियो ।
सि.के. स्मृति दिवसमा सम्मान एवं सहयोग

































































































