अर्जुनधारा १६ असोज । अर्जुनधारा १० स्थित पञ्चकन्याधामको ११ ओै बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
धाम समितिका अध्यक्ष कर्णाखर ढुङ्गेलको अध्यक्षता र धार्मिक तथा सामाजिक व्यक्तित्व गोपीकृष्ण प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संस्थाको लेखा प्रतिवेदन कोषाध्यक्ष पर्मान्द पोखरेल, र सचिव जगन्नाथ अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

धामको संरक्षण, संवद्र्धन र उन्नयनका लागि योगदान गर्ने दातामध्येबाट प्रत्येक वर्ष एकजनालाई सम्मान गर्ने संस्थाको नियमानुसार यो वर्ष विर्तामोड ४ निवासी विवेक गजमेरलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तलाई सम्मान पत्र र रुद्राक्षको मालासहित सम्मान गरिएकोथियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाईले सत्चित्तले भगवानको उपासना र भत्तिभावले मानवजीवनलाई नै फाइदा पुग्ने बताउनु भयो । धाम समितिका पूर्व अध्यक्ष तथा दाता विपिन बजगाँई, सरस्वती बालकल्याण मावीका प्र अ शिक्षक शुक्र घिमिरे, सुखानी सहिद स्मृति प्रतिष्ठानका लेखापाल पुष्प तिवारी, मैनादेवी पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो क्रममा बोल्दै पूर्व अध्यक्ष तथा व्यवसायी समेत रहनु भएका विपिन बजगाँईले पञ्चकन्या देवी मन्दिरको जिर्णाेंद्वारसहित अन्य भौतिक संरचना निर्माण आवश्यकता औल्याउँदै त्यसका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

सम्मानित व्यक्तिको सम्मान पत्र वाचन चन्द्रकला भण्डारीले वाचन गरेको कार्यक्रममा बहुमुखी प्रतिभाका धनी मातृका संग्रौलाले भजन तथा नाकले मुरली बजाउनु भएको थियो । जगननाथ अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष सिता घिमिरेले गर्नुभएको थियो ।
एकदशक अघि स्थापित पञ्चकन्या धामसमितिले पञ्चकन्या मन्दिर परिषरमा श्रवणहलसहितको दुईतले पक्की भवन निर्माण गरिसकेको छ भने जिर्ण हुँदै गएको पञ्चकन्या देवीको मन्दिरको चालु आर्थिक वर्षमा जिर्णोद्वार गर्ने लक्ष्य राखेको बताइएको छ ।