विर्तामोड २९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वडामा पनि जित्न नसक्ने दावी गरेका छन् ।
नेकपा एमाले झापा जिल्लाका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पार्टीमाथि नेपालले गद्दारी गरेको उल्लेख गर्दै नेपाललाई जनताले भोट दिने कुनै आधार नै नभएको दावी गरे । नेता नेपालले जनताको मत र देशमाथि बेइमानी गरेर नेपालले गद्दारी गरेको आरोप लगाए । नेता नेपालले पार्टी बनाउन नभइ एमाले फुटाउन तमासा गरेको टिप्पणी गरेका ओलीले पार्टी फुटाउन खोजे पनि त्यो संभव नभएको बताए ।
१६ वर्ष पार्टीको नेतृत्व गरेका नेपालले पार्टीबाट र प्रधानमन्त्री चलाउन नसकेको भन्दै राजीनामा दिएको उल्लेख गर्दै ओलीले आफैं असफल भएका व्यक्तिलाई फेरि पार्टी र प्रधानमन्त्रीको जिम्मेवारी खोज्नु हाँस्यास्पद भएको बताउँदै भने–‘पार्टीलाई रसातलमा पुर्याउने माधवलाई फेरि अध्यक्ष र प्रधानमन्त्री दिनु देशलाई पनि रसातलमा पुर्याउनु हो ।’
कार्यकर्ता सम्बोधनका क्रममा अध्यक्ष ओलीले देश विकास र पार्टी संगठन सञ्चालनका सम्बन्धमा अन्य दलले एमालेलाई गुरु थाप्नुपर्ने बताए ।
संसदमा प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले सरकार गठन भएको दुईमहिनासम्म कुनै पनि राम्रो काम नगरेको टिप्पणी गरे । चुनाव टारेर बनाएको सरकारले आगामी चुनावमा आफ्नो हैसियत थाहा पाउने बताए ।
एकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचनामै समय खर्चिएका एमाले अध्यक्ष ओलीले प्रचण्डलाई भने धोकेवाज नेताको संज्ञा दिए ।
प्रचण्डको मोहजालमा नफस्न कार्यकर्तालाई सजग गराउँदै अध्यक्ष ओलीले प्रचण्डका पछि लागेर जिन्दगी वर्वाद नगर्न आग्रह गरे । उनले भने–‘गरिबका छोरीछोरीको रगत पसिनामाथि प्रचण्डले सौदाबाजी रहेका छन्, परिवार र आफन्तका लागि असल भएपनि जनताका लागि धोकेवाज नेता हुन्, उनी तान्त्रिक पो हुन कि जस्तो लाग्छ, प्रचण्डको मोहजालमा नफस्नु होस् ।
एमाले अध्यक्ष ओली भन्छन् : माधव गद्दार, प्रचण्ड धोकेवाज

































































































