रेवतिराज घिमिरे
भद्रपुर । नेपाल बार एशोसियसन झापाले कोरोना भाईरसका कारण अक्सिजनको अभावमा मृत्युवरण गरिरहेका सिकिस्त विमारीहरुलाई सहयोग पुर्याउने उद्देश्यले ३ थान अक्सिजन सिलण्डर बापतको नगद ४५ हजार सहयोग रकम हस्तान्तरण गरेकोछ ।
एसोसियसनको सभाहल चन्द्रगढीमा शुक्रवार आयोजित कार्यक्रमका बीच एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेत तथा रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाललाइ उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै एसोसियसनका अध्यक्ष हरी अधिकारीले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसबाट उच्च जोखिममा रहेका संक्रमितहरुको उपचारमा अक्सिजनको अभाव रहेकोले व्यत्तिको स्वास्थ्यप्रतिको मानव अधिकारको सम्मान गर्दै विपतिको यस घडिमा सो रकम सहयोग गरेको बताउनु भयो ।
निषेधाज्ञाको समयमा घरमै रहन बाध्य हुँदा घरेलु हिंसाजन्य घट्ना कसुर समेत हुन सक्ने भएकोले कानुन विपरित हुने कार्य कोहि कसैबाट भएमा स्थानीय जनप्रतिनिधि, प्रहरी, राष्ट्रिय महिला आयोग तथा सिधै अदालतमा उजुरी गर्न समेत सरोकारवाला सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।
सचिव हेमकला कट्टेलको संचालनमा सम्पन्न कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेतले अक्सिजन अभावामा झापाका धेरै सर्वसाधारणले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आफुहरुले अभियानको थालनी गरेको जानकारी दिनुभयो । अभियान संचालन गरेको ५ दिनमा ४ सय बढी अक्सिजनको सिलण्डर जम्मा भएको सो अवसरमा जानकारी गराएको थियो ।
सोसाइटी झापा अध्यक्ष लोकराज ढकालले सरकार संग सम्झौता नै नगरी झापाका निजी अस्पातलहरुले संक्रमित विमारीहरुबाट मनोमानी तरिकाले लाखौलाख रकम लुट्ने गरेको बताउदै यस्तो कृयाकलाप तत्काल रोक्न एसोसियसनले पहल गर्न सुझाउनु भयो ।
कार्याक्रममा डिएलए झापा अध्यक्ष यज्ञप्रसाद अधिकारी लगायतका कानुन व्यावसायीहरुको सहभागिता रहेको थियो । निषेधाज्ञाको बेला घरेलु हिंसा तथा झैझगडामा परेका बेसहरा असहाय पक्षलाई निषेधाज्ञाको अबधिभर तत्काल उजुरी दिनु परेमा झापा वार मार्फत निशुल्क कानुनी सहायता उपलब्ध गराइने झापा बारले जनाएको छ ।
अक्सिजन बैंक स्थापना अभियान: झापा बारद्वारा ४५ हजार सहयोग

































































































