भद्रपुर २६ असार/ झापाको भद्रपुरमा आयोजित एक कार्यक्रमका बीच प्रस्तावित जिल्ला विपत प्रतिकार्य योजना पारित भएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सम्पन्न सरोकारवालाहरुको बैठकले विपतका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले पेश गरेको १४१ पृष्ठ लामो विपत प्रतिकार्य योजनाको खाका पारित गरेको हो ।
उक्त प्रस्तावमा विपतका बेला गर्नुपर्ने काम, नीति निर्देशिका, आवश्यक जनशक्ति लगायत विपतसंग सम्बन्धित सबै कुरा उल्लेख गरिएको सभापति ढकालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकमा यो वर्षको बाढीलाई मध्यनजर गर्दै झापाका सरोकारवाला सरकारी तथा गैह्रसरकारी निकायले संघसंस्थाको आ–आफ्नो तयारीबारे सबैले जानकारी गराएका थिए ।
बैठकमा कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेल, कमल गाउँपालिकाका प्रमुख मेनुका काफ्ले, गौरीगञ्ज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठ, हल्दिवारी गाउँपालिकाका प्रमुख रविन्द्र लिङ्देन, जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुखहरु तथा सरकारी कार्यालयका प्रमुखहरु, नेपाल रेडक्रस सोसाइटी लगायतका सरोकारवाला गैह्र सरकारी तथा सरकारी निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
विपत प्रतिकार्य योजना पारित

































































































