
ताप्लेजुङ २० बैशाख । शुक्रबार राति लगभग साढे १० बजेदेखि ताप्लेजुङ सदरमुका फुङलिङको बैंक लाइनमा आगलागी हुँदा ३७ परिवार विस्थापित भएका छन् ।
आगलागीबाट ७ घर क्षति हुँदा चारवटा सामाजिक संस्थासहित ३७ परिवार विस्थापित भएको जिल्ला दैवी प्रकोप उद्दार समिति ताप्लेजुङले जनाएको छ ।
भण्डारी खाजा घरबाट शुरु भएको आगलागी फैलिंदै जाँदा खेम केसी चारतले पक्की घर, नेत्र कार्की, खड्ग थापा, भट्टराई बन्धुका दुई घर र टेकबहादुर लेछर्बोको घर जलेर नष्ट भएका छन् भने नेत्र कार्कीको पाँचतले घर आधा जलेपछि आगो नियन्त्रणमा आएको बताइएको छ ।
सो स्थानमा नेपाली कांग्रेस पार्टी कार्यालय, जिल्ला फुटबल संघ, प्याब्सन जिल्ला समिति, जिल्ला अलैंची महासंघको कार्यालय रहेका थिए भने आगलागीबाट ८ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

आगलागीबाट विस्थापित भएकालाई राहतको प्रक्रिया अघि बढाइएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाले जानकारी दिनुभयो ।
आगलागीको पछिल्लो घटनासंगै बजार क्षेत्रमा मात्रै १७ वर्षमा पाँचवटा आगलागीका घटना भएका छन् ।
यसअघि २०६० सालमा सदरमुकामको मुख्य भाग मानिएको बीरेन्द्रचोकमा आगलागी भएको थियो भने २०६८ सालमा सदरमुकामकै शेर्पाटोलमा, ०६९ मा टुक्रे बजारमा आगलागी भएको थियो । त्यसपछि २०७३ सालमा तोक्मे बजारमा आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सबै आगलागी हिउँदको समयमा भएका छन् । प्रहरीको तथ्याङ्क अनुसार आगलागीबाट सबैभन्दा बढी क्षति २०६० चैत १५ गते साँझ वीरेन्द्र चोकको आगलागीमा भएको थियो । त्यतिबेला ४५ घर जल्दा ५१ करोड बढीको क्षति भएको थियो ।
२०७३ चैत ९ गते तोक्मे क्षेत्रमा भएको आगलागीमा ४४ घर जल्दा ४१ करोडभन्दा बढीको क्षति भएको थियो । २०६८ मा शेर्पाटोल र ६९ सालमा टुक्रे बजारमा आगलागी भएको थियो । शेर्पाटोलमा ८ करोड ५० लाख र टुक्रेमा ५ करोडभन्दा बढीको क्षति भएको उद्योग वाणिज्य संघले जनाएको छ ।
वीरेन्द्रचोकको आगलागी टुकी बत्तीबाट भएको थियो भने तोक्मेमा होटलमा रक्सी झान्दा आगलागी शुरु भएको अनुसन्धानबाट खुलेको थियो । टुक्रेमा रोटी पकाउदा र शेर्पाटोलमा विद्युत सर्ट भएर आगलागी भएको थियो ।

































































































