कृतिकार मोनिका प्रधान (गुरूङ) भाषा र साहित्यमा खारिएकी एक नारी यौद्धा हुन्, वरिष्ठ नारी श्रष्टा हुन् । उनले सन् १९७४ देखि नै भाषा र साहित्यको क्षेत्रमा लाग्नु भएको हो । कानेखुशी, हिमाली सन्देश, गोर्खा भारती, दार्जिलिङ टाइम्स, भारत दर्पण, सुनचरी, आजभोली, अब, सगरमाथा, कञ्चनजंघा टाइम्स, नयाँ जीवन, हाम्रो सन्देश, हाम्रो समाचार, नव ज्योती, हिमालय दर्पण, दार्जिलिङ पल्ली, बग्दो झरना लगायत अन्य धेरै पत्र–पत्रिकामा लगभग ५० बर्ष पहिल्यैदेखि आजसम्म पत्रकारिता, सम्पादन तथा सम्पादकको रूपमा अविरल सेवा पुर्याइरहेकी छन् । उनीको संलग्नता क्याथोलिक सम्प्रदायका विभिन्न संघ–संस्थाहरूसित रहेको पाइन्छ । उहाँ क्याथोलिक धार्मिक सम्मानहरू लगायत ‘कानेखुशी’ हाँस्यब्यङ्ग्य समूह अनि इजा प्रकाशन, घुम, दार्जिलिङबाट सम्मानित भैसक्नु भएको छ ।
उहाँका विविध संघ–संस्थाहरूको आजिवन सदस्य रहनु भएको छ । भाषा र साहित्य बाहेक थुप्रै सामाजिक संघ–संस्थाहरूमा पनि सक्रिय हुनुहुन्छ । उहाँको कलम आजसम्म निरन्तर रूपमा चलिरहेको छ । यसैको प्रतिफल उहाँको प्रथम कृति ‘गोठालाहरू’ जीवनी सङ्कलन सन् २०२१ सालमा प्रकाशित भइसकेको छ । जीवनी सङ्कलन ‘गोठालाहरू’प्रथम संस्करण प्रकाशित भएको बर्ष नबित्दै दोस्रो संस्करण पुनः सन् २०२२ मा प्रकाशित भइसकेको छ ।
५० यता साहित्य तथा पत्रकारिता क्षेत्रमा निरन्तर चलिरहेको सर्जक मोनिका प्रधान (गुरूङ) का सृजनात्मक कलम आजसम्म थाकेका छैनन् । उहाँको सृजनात्मक कलम निरन्तर चलिरहेछ । उहाँको दोस्रो कृति सामाजिक उपन्यास ‘मोना’ भर्खरै प्रकाशित भएको छ। उपन्यास ‘मोना’ माथि केही विचार राख्ने जमर्को गरेकोछु ।
उपन्यास ‘मोना’ विवाहित नारीहरूको अब्यक्त पीडाहरूको विभिन्न पाटोहरूलाई केन्द्रित गरेर लेखिएको उपन्यास हो । उपन्यास मोनाभित्र मोना अनि सागर मूल पात्र रहेकाछन् । उपन्यास ‘मोना’का धेरैजसो चरित्र तथा पात्रहरू नारीहरू नै रहेको देखिन्छ ।
उपन्यास, ‘मोना’का कथावस्तु स्थानीय गाउँघर, दार्जिलिङ, कालेबुङ अनि सिलगढी भेगतिर घुमेका छन् । उपन्यासको नायिका मोना ,पत्रकार, सामाजिक कार्यकर्ता तथा घरको सम्पूर्ण जिम्मेवारी बहन गर्न सक्ने क्षमताशील सफल आमा पनि हुन् तर उनको उन्नति तथा प्रगतिसित उनको पति धीरज पटक्कै खुशी भएका देखिन्दैन । यसर्थ एकदिन मोनालाई मार्नको निम्ति धीरजले चियामा विष मिसाएर मोनालाई पिउनका दिन्छन् । तर, मोनाले उक्त चिया पिउनका लाग्दा केही शंका लागेर त्यो चिया पिउनका योग्यको छैन भन्ने बुझेर छिमेकी तथा डाक्टरलाई देखाउनका पुग्छिन् । उक्त चिया डाक्टरलाई देखाउँदा त्यो चिया बिषयुक्त रहेको थाहा लाग्छ । त्यसपछि उनी पतिसंग छुट्टिएर एक्लै बस्न थाल्छिन् । उनले कटिङ टेलरिङ सम्बन्धी कार्य सिकेकी हुँदा लुगा सिलाउने कार्य गरेर नानीहरूको लालन–पालनतिर लाग्छिन् । अनि आफैंलाई ईशुप्रति समर्पित गर्दै आफ्नो जीवनयात्रा अगाडी बढाउछिन् । उपन्यासका कथा बस्तु सन् १९८६ सालको हिंसात्मक आन्दोलन छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनसंग पनि जोडिएको पाइन्छ । कथा नेपाली भाषा मान्यतासँग पनि जोडिन पुगेको छ । जहाँ मोना उपन्यासले ऐतिहासिक भाषा आन्दोलनको इतिहासलाई पनि छोएको पाइन्छ । उपन्यासको नायिका ‘मोना’ पत्रकारिताको शिलशिलामा प्रशासनिक अधिकारी भेट्न जानुपर्ने हुँदा नेपाली भाषी पुलिस दाजु–भाइहरूले दार्जिलिङ गोर्खा पार्वत्य परिषदको मुख्यालय ‘काउन्सिल अफिस’ जाने सल्लाह दिएको अनि एउटी एक्ली नारी काउन्सिल अफिस पुग्दा त्यहाँ त सीआरपीएफको समूहमात्र रहेको अनि त्यो बेला सीआरपीएफद्वारा पहाडमा साधारण नागरिक माथी पाशविक अत्याचार गरिन्थ्यो । निर्दोष मानिसहरूको हत्या गरिन्थ्यो । मोनाको एक निर्दोष आफन्तलाई पनि आन्दोलन कालमा हत्या गरिएको थियो । पुलिस तथा सीआरपीएससंग मोना यसै पनि डराएकी थिइन् । बिगतका काण्डहरूले । यहाँ उपन्यासकारले सिआरपीए अनि हाम्रा नेपाली भाषी पुलिस समूहको व्यवहारलाई जोडेर त्यो बेला सन् १९८६ सालको राजनैतिक माहोल तथा हाम्रो नेपाली भाषी पुलिस दाज्यूभाइको धोकेबाज चरित्रको उजागर गर्नु खोज्नु भएको छ ।
उपन्यासको कथा वस्तुलाई उपन्यासकारले सामाजिक सञ्जालसंग जोड्न सफल भएकीछन्। उपन्यासको मूलकथा सामाजिक सञ्जाल सितै जोडिएको छ । मोना उपन्यासको कथा बस्तुले लामो कालखण्डलाई समेट्न भ्याएकोछ । सामाजिक सञ्जाल फेसबुकमार्फत मोनाले आफ्नो विद्यार्थी जीवनको सहपाठी सागरलाई नामक व्यक्तिलाई भेटेकी छिन् । जो प्रदेशी जीवन बिताइरहेका युवक हुन् । मोना र ती प्रदेशी साथीको फेसबुक मेसेन्जर अनि फोन मार्फत कुरा भइरहन्छ । कुराकानीको शिलशिलामा एकदिन पुरूष साथीले मोनालाई उहिल्यैदेखि नै मन पराएको अनि अझै पनि मन पराइ रहेको अवगत गराउँछन् । मोनाले उनको प्रेम प्रस्ताव स्वीकार गर्दिनन् तर मोनाको मनमा सागरप्रति प्रेम रहेको तर व्यक्त गरेकी देखिन्दैन । मोनाले प्रेम प्रस्ताव स्वीकार नगर्दा सागर दुःखी बनेको उनी मोना लेखक भएकी हुँदा उपन्यास लेखिरहेकी जनाएकी अनि कुनैदिन भेट्न आउने भनेकी तर अचानक सागर मोनासंग सम्पर्क विहिन बन्छन् त्यसपछि उपन्यासको कथावस्तु अर्कोतिर घुमेको देखिन्छ । सागर मोनासंग सम्पर्क विहिन बनेपछि मोनालाई सागरको यादले सँधै सताइरहन्छ । मोनामा बेचैनी आउन थाल्छ । अब सागरसँग पुनः सम्पर्कमा कसरी आउने, कसरी भेट्ने यी कुराले मोना दुःखी बनेकी हुन्छिन। उनी सोच्न थाल्छिन् अरू नारीहरू त उनी झैं दुःखी छैनन् होला ।
आफू दुःखी बनेकी समय मोनाले शान्ति नाम गरेकी विवाहित नारीलाई भेट्छिन् अनि शान्तिको श्रीमानले अर्कै नारीसित विवाह गरेको जानकारी पाएपछि शान्तिलाई नारी अत्याचारको विरुद्धमा भारत सरकारको लोक अदालत संविधानको धारा ३९–१३ ब् अन्तर्गत मुद्दा हाल्न भन्छिन् ।
मोना,उपन्यासभित्र विवाहित नारीको दुःखहरू अनि वेदनालाई उजागर गर्न खोजिएको छ । उपन्यासको कथाभित्र निलु नाम गरेकी युवती जसको विवाह सानो उमेरमै धनी घरनाका युवकसित भएको देखाइएको छ । जहाँ निलुलाई खान लाउनको दुःख नभएको तर श्रीमानको हुकुम तथा आदेशमा बाँच्नु पर्ने बाध्यता तथा निलुको जीवन चाबीवला गुडिया झैं बनेको देखाइएको छ ।
मैले अगावै उल्लेख गरिसकेको छु। उपन्यासको कथावस्तुले लामो कालखण्डलाई समेट्न भ्याएको छ। समय आफ्नै गतिमा बितिरहन्छ । उपन्यास कथावस्तु उत्तराद्र्धमा पुग्न लाग्दा मोनाका नानीहरू आ–आफ्ना कार्यक्षेत्रमा लागिसकेका देखिएका छन् । मोनाले आफ्नो उपन्यास पनि लेखिसकेकी छन् । तर, मोनासंग भेट्ने वाचा गरेको मोनाको साथी सागर मोनालाई भेट्न आइपुग्दैनन् । सागरको आगमनको बाटो कुर्दाकुर्दै मोनाको शारीरिक अवस्था नाजुक बनिसकेको हुन्छ । उनी सिकिस्त विरामी छिन् । त्यसपछि मोना उपन्यासको कथावस्तुले कस्तो मोड लिने हो ? उपन्यास संयोगान्त हुने हो या वियोगान्त, यी सबै रहस्य बुझ्नलाई उपन्यास मोना आद्योपान्त पढ्नपर्ने हुन्छ ।
उपन्यास मोना मार्फत कृतिकार मोनिका गुरूङले नारी जातिलाई सचेत गराउँन खोज्नु भएको छ। नारी स्वयम जागरूक हुनपर्छ । अर्काको अधिनमा बाँधिएर बस्नु हुँदैन । पारिवारिक सदस्यहरूले पनि धनको लोभमा परेर आफ्ना–छोरी चेलीलाई कच्चा उमेरमै तथा आफ्नो स्तर नमिल्ने घरनामा विवाह गरिदिनु हुँदैन भन्ने सन्देश दिन खोजिएको छ। उपन्यास मोना नारी जातिलाई सचेत तथा जागरूक गराउन खोजिएको सामाजिक उपन्यास हो। मोना उपन्यास पढिसक्दा उपन्यासकारले कथावस्तु सुन्दर ढाँचामा बुन्न सफल भएको भान हुन्छ । उपन्यास मोनाभित्र के कस्ता कमि–कमजोरीहरू छन् अथवा उपन्यास कत्तिको सफल बनेकोछ? यसको निक्र्र्यौल समयमा पाठकहरूले गर्ने नै छन् ।
कृतिकार मोनिका प्रधान (गुरूङ)को कलमले समाजो–पयोगी सृजनाहरू पस्किरहून्। थप प्रगतिको कामना ।
उपन्यास ‘मोना’– काव्यात्मक विश्लेषण
