बिर्तामोड ३ बैशाख । हातमा सीप भएमात्रै सिर्जना गर्न सकिन्छ र त्यही सिर्जनाले मानिसलाई स्वाबलम्बी बनाउँछ, आत्मबल बढाउँछ । त्यही सीप सिकाएर स्वाबलम्वी बन्न प्रेरित गर्ने उद्देश्यले झापाको बिर्तामोड नगरपालिका वडा नं. १० सैनिकमा पहिलो पटक सिलाई कटाई सम्बन्धी तालिम सेन्टर सञ्चालनमा आएको छ ।
बिर्तामोड १० सैनिक बजारमा सञ्चालनमा ल्याइएको जानुका सिलाई कटाई तालिम सेन्टरको आज आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि तथा बिर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङले उद्घाटन गर्नुभयो ।
सैनिककी अगुवा महिला मनु मुखियाको अध्यक्षता तथा वडाध्यक्ष गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न तालिम सेन्टर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गुरुङले सिप सिकेर उद्यमी हुन प्रेरित गर्दै सबैले स्वाबलम्वी बन्नुपर्नेमा जोड दिनुभयो । वडामा विकास निर्माणका कामसंगै उद्योग व्यवसाय स्थापनाको क्रम बढेसंगै सैनिकलाई हेर्ने परम्परागत दृष्टिकोण पनि सकारात्मक बन्दै गएको बताउनु भयो ।
त्यस्तै वडा सदस्य पृथ्वी बस्नेतले शहरी क्षेत्रमा स्थापना गरिएका ठूल्ठूला व्यवसायिक सिलाई कटाई सेन्टरहरुमा पुरुषहरुकै बर्चस्व रहेको प्रसङ्ग उल्लेख गर्र्दै सिप सिक्ने कुरामा महिला र पुरुष भनेर आफैं छुट्याउन नहुने उल्लेख गर्नुभयो ।
भुपू सैनिक टोल विकास संस्थाका अध्यक्ष अनुज सुब्बाले सिकेको सीपलाई घर परिवारमात्रै प्रयोग गर्ने हो भने पनि महिलाहरु घरैमा स्वरोजगार बन्नुका साथै परिवार सञ्चालनमा पनि आर्थिक सहयोग पुग्ने धारणा राख्नुभयो । सो अवसरमा क्यान्सर विरुद्धकी अभियान्ता नमिता बस्नेतले पूर्वाञ्चल क्यान्सर अस्पतालले महिलालाई लक्षित गरी ल्याएको स्वास्थ्योपचार छुटका बारेमा जानकारी गराउनु भएको थियो ।
वडा सदस्य धनमाया श्रेष्ठसहित विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा तालिम सेन्टरकी सञ्चालक भीमा श्रेष्ठले स्वागत तथा औचित्य माथि प्रकाश पार्नुभएको थियो । खिलेश्वरी पाण्डेले सञ्चालन गरेको कार्यक्रममा तालिममा सहभागी मध्ये उत्कृष्ट तीनजनालाई रोजगारी समेत दिने प्रतिवद्धता जनाउनु श्रेष्ठले तालिममा टायम पासको रुपमा कसैले पनि नलिन आग्रह गर्दै मेहनत गरेर सिके स्वरोजगारदेखि जागिरसम्म अवसर रहेको स्पष्ट पार्नुभयो ।
सैनिक बजारमा सिलाई कटाई तालिम सेन्टर, उत्कृष्टलाई रोजगारी

































































































