भद्रपुर २२ असार । झापा उद्योग संघको २७ औं वार्षिक साधारणसभा तथा अधिवेशन विविध कार्यक्रमसहित सम्पन्न भएको छ । संघको सभाहल भद्रपुरमा आयोजित साधारणसभा सार्क चेम्बर्स अफ कमर्सका अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्य तथा कोशी प्रदेशका पूर्व मन्त्री ओमप्रकाश सरावगीको विशेष आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि सार्क चेम्बर अफ कमर्सका अध्यक्ष ढकालले नेपालमा अहिले सत्ता परिवर्तन भएर युवाहरुको काँधमा सत्ता आएकोले उद्योगी व्यवसायीले नयाँ सरकारसँग धेरै अपेक्षा गरेको चर्चा बताउनु भयो । निजी क्षेत्रका उद्योगी व्यवसायी त्रसित रहेको चर्चा गर्दै सरकारले निजी क्षेत्रका उद्योग मैत्री नीति र व्यवहार नगरेसम्म नेपालको अर्थतन्त्रको उत्थान नहुने ठोकुवा गर्नुभयो । ढकालले चियामा हालै आएको समस्याको उल्लेख गर्दै अब चिया उद्योगीले भारतको मात्र भर नपरेर चिन र पाकिस्तानमा पनि बजार खोज्नु पर्नेमा उहाँको जोड थियो ।
नेपाल चिया तथा कफि विकास बोर्डका उपाध्यक्ष आदित्य पराजुलीले अहिले नेपालका सबै उद्योग व्यवसाय अप्ठ्यारो अवस्थामा रहेको चर्चा गर्दै बैंकको व्याजदर घटेर मात्र हुँदैन उद्योग चलेमात्र समस्या समाधान हुने बताउनु भयो । उहाँले चिया क्षेत्रको समस्या समाधानमा सबै एग्रोवेस इण्डष्ट्रिजहरु एकजुट भएर सरकारलाई समस्या समाधान गर्न दबाब दिनुपर्ने बताउनु भयो
भद्रपुर नगरप्रमुख गणेश पोखरेलले भद्रपुरको बन्द उद्योग मोमेन्टो एपेरल्सलाई पुन सञ्चालन गर्न सरकारले पनि सहजीकरण गर्नुपर्ने बताउँदै देशमा उद्योग धन्दा फस्टाए भने मात्र अर्थतन्त्र बलियो हुने धारणा राख्नुभयो ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उद्योगलाई प्रशासनिक र सुरक्षाको लागि सदैब सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । झापा उद्योग तथा बाणिज्य संघका काबा अध्यक्ष राजकुमार राईले समेत शुभकामना दिएको कार्यक्रममा उद्योग संघका कोषाध्यक्ष प्रदिपकुमार सरावगीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा गरेका काम र त्यसका उपलव्धिका बारेमा अडियो मार्फत जानकारी गराउनु भएको थियो ।
सो अवसरमा उद्योग र पत्रकारिताको क्षेत्रमा योगदान दिनेहरुलाई सम्मान गरिएको थियो ।
उत्कृष्ठ व्यवसायीका रुपमा सार्क चेम्बर्स अफ कमर्सका अध्यक्ष चण्डीराज ढकाल, नेपाल चिया तथा कफि विकास बोर्डका नवनियुक्त उपाध्यक्ष आदित्य पराजुली,
पत्रकारद्वय गोपाल गिरी र रोहित काफ्ले, चिया निर्यातकर्ता अंशु गिरी, प्लाइउड उद्योगी महेश चित्लागिया, अलैंची निर्यातकर्ता निर्मल भट्राई तथा संघका उत्कृष्ट सदस्यकारुपमा सूर्य टि इस्टेटका सत्यनारायण तायल, विनय गोयल र महेश चित्लागिया, उद्योग संघका कर्मचारीहरु सुश्मा शाक्य, राजु दवाडी र सिमा दाहाल लगायतलाई सम्मान गरिएको थियो । सो अबसरमा केही दिन अघि मात्र शिवकुमार गुप्ताको अध्यक्षतामा निर्विरोध निर्वाचित गरिएका नयाँ कार्य समिति सदस्यहरुको सफत ग्रहण समेत सम्पन्न गरिएको थियो ।
उद्योगमैत्री नीति नबने अर्थतन्त्रको उत्थान हुन नसक्ने : ढकाल

































































































