विराटनगर २२ असार । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा बजारको सुधार, सेवाको गुणस्तर अभिवृद्धि तथा आगामी आर्थिक वर्षका रणनीतिबारे विराटनगरमा जीवन, निर्जीवन, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूबीच ‘राउन्ड टेबल’ छलफल आज सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका कार्यालय प्रमुख तथा उपनिर्देशक प्रीति देवले छलफलको पहिलो सत्रमा चालु आर्थिक वर्षभरि प्राधिकरणको कोशी प्रदेश कार्यालयले विभिन्न सरोकारवालासँग सञ्चालन गरेका अन्तरक्रिया कार्यक्रमहरूमा उठेका प्रश्न, जिज्ञासा तथा जनगुनासोहरूको समीक्षा गरिएको थियो । बीमा सेवाप्रति सर्वसाधारणमा देखिएका अन्योल तथा बजारमा रहेका व्यवहारिक समस्याको समाधानका लागि बीमा कम्पनीहरूले खेल्नुपर्ने भूमिकाबारे सहभागीहरूले सुझाव दिएका थिए ।
छलफलमा कोशी प्रदेशमा कार्यरत बीमा कम्पनीहरूले चालु आर्थिक वर्षमा गरेका गतिविधि, प्राप्त उपलब्धि र भोगेका चुनौतीहरूको पनि समीक्षा गरिएको थियो। सहभागीहरूले बीमाको पहुँच विस्तार, सेवाको गुणस्तर सुधार, बजारलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउने तथा दावी भुक्तानी प्रक्रियालाई थप प्रभावकारी र छिटोछरितो बनाउने विषयलाई आगामी आर्थिक वर्षको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बीमा क्षेत्रप्रति नागरिकको विश्वास बढाउन नियामक निकाय र बीमा कम्पनीहरूबीच प्रभावकारी समन्वय, जनचेतना अभिवृद्धि तथा सेवामुखी कार्यशैलीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याइएको थियो ।
बीमा बजार सुधार र आगामी रणनीतिबारे विराटनगरमा ‘राउन्ड टेबल’ छलफल































































































