समयको अभाव, बढ्दो महँगी, प्रविधिको विकास र युवा पुस्ताको पलायन नै बेठी प्रथा हराउनुका मुख्यकारण हुन्। धान दिवसमा गरिने सांकेतिक रूपमा गरिने बेठी कार्यक्रमले कृषि पेसासँग जोडिएको पुरानो संस्कृति जोगाउन असम्भव हुने देखिन्छ ।

राजेन्द्र गौतम
झापा असार । पूर्वी पहाड भोजपुरको अरुण गाउँपालिका– ६ जरायोटारका राम दाहाल अहिले ८४ वर्षका भए । चार वर्ष अघि उनी सुनसरीको इटहरी सरेका छन् । तर अहिले पनि उनको जरायोटार–इटहरी ओहोरदोहोर भइरहन्छ । उनले जरायोटारको माया मार्ने सकेका छैनन् । यसपटक उनी जरायोटारबाट इटहरी झरेको केही दिन मात्रै भएको छ । ०८३ साल लागेपछि पनि उनी एक महिना जति जरायोटारकै घरमा बसे । अहिले पनि उनकी श्रीमती उहीं छन् । रामले भने, ‘हाम्रो आउजाउ भइरहन्छ, उ उतै छे, म घुँडा र कम्मर दुखेर मात्रै झरेको हुँ ।’
बाल्यकालदेखि ८० वर्ष बिताएको घर, कमाएको बारी, लिँडे दोभानको खेती र साथीभाइको मायाले रामलाई जरायोटारले तानिरहन्छ । गाउँको मायाले आफूलाई नछोडेको उनले सुनाए । उनलाई शहरभन्दा गाउँ नै राम्रो लाग्छ । धान रोप्ने समयको याद त उनलाई कति आउँछ कति । ‘आली काट्ने, लाउने, भित्ता खुर्किने, हिल्याउने, बिऊ काड्ने, बाउसे गर्ने, रोप्ने असार साउन त उतै रमाइलो’ दाहालले भने, ‘बेठी लगाएर गरिने रोपाइँ त बिर्सनै सकिँदैन ।’ बेठी लगाएर गरेको रोपाइँ र घरगाउँको याद आएपनि उनले आफैँ बेठी लगाएर रोपाइँ चाहिँ कहिल्यै गरेनन् । भोजपुरको र्याङ, चरम्बी, धनकुटाको लेगुवा–बेलटारमा अरुहरुले लगाएको बेठी धेरैचोटी हेरेका छन्, सहभागी भएका छन् । ‘पहिला –पहिला त मानिसले असारमा बेठी खुब लगाउँथे अहिले त त्यो प्रचलन नै हरायो’ दाहालले भने, ‘हुनेखाने जति सबै बसाइँ सरे, तराई झरे, सहर पसे, बेठी लगाउने चलन नै हरायो । उसबेला गाउँका धनीमानी (महाजन) बेठी लगाएर रोपाइँ गर्ने गरेको उनले सुनाए ।
उसबेला बेठी लगाउँदा छरछिमेकीले जनसहित हल गोरु लिएर जाने चलन थियोे । दहीचिउरा मात्रै होइन मासुभात बै खुवाउने चलन रहेको दाहालले सुनाए । भने,‘जात अनुसार राँगा , खसी काटेर खुवाउने चलन नै थियोे, अहिले त्यो चलन हटेको छ , अहिले त बेठी नै लगाउन छोडे । हिजो बेठी लगाएर रोप्ने खेत आजभोलि बाँझिएको र जंगलामुलुक भएको उनले सुनाए । आफू युवा हुँदा देखेको बेठीको स्मरण मात्रै बाँकी रहेको सुनाएका दाहालले सुनाए,’ खेतमा पञ्चेबाजा बझाइन्थ्यो, दर्जनौँ हलगोरु नारिन्थ्यो, बाइसे गर्ने, रोप्नेको समूह नै हुन्थ्यो ।’ बेठीमा तरुनी–तन्नेरीले असारे भाखामा मायाप्रेमका गीत गाएर रमाइलो गर्थे । रोपाइले हली र बाउसेलाई लखेटी लखेटी हिलो छ्यापेको, हिलोमा लडाएको दृश्य मन छुने र हेरिरहुँ जस्तो हुने उनले बताए।
दाहालका अनुसार जसले बेठी लगाएर रोपाइँ गर्थ्यो त्यो घरको मालिकलाई .मुलमान्छे ) नाचगान सहित ठूलो घराको बीचमा लगेर उभ्याइन्थ्यो , वरिपरि घुमेर धानको बीउले पूजा गरिन्थ्यो, हिलोको टीका लगाई दिइन्थ्यो । असारे गीत गाउँदै लिंङ्गो गाडिन्थ्यो र रोपाहार फरक–फरक दिशामा फर्केर रोप्न सुरु गर्थे । बीऊलाई जम्मा गरेर भकारी बाँधिन्थ्यो र रोपाइँ सुरु हुन्थ्यो । रोपाहारले मेलो उठाउथे, गरो पुरै ढाकेर रोपाइँ गर्ने चलन रहेको उनले सम्झे । त्यसबेला कतिपयले रहर र कतिपयले भाकल नै गरेर बेठी लगाउने गरेको उनले सुनाए । के को भाकल गरिन्थ्यो त्यो भने आफूलाई थाहा नभएको दाहालले सुनाए । त्यसबेला धनीमानीले (सम्पन्न) बेठी लगाउँदा मासुभात खान पाइने भएकाले पनि मानिस ह्वार्ह्वार्ती आउने गरेको हुन सक्ने उनले लख काटे । सामान्य र गरिबले बेठी नलगाई नै रोपाइँ गर्ने गरेको उनको अनुभव छ ।
दाहाललाई जस्तै झापा बिर्तामोड–१० चमरधापका हेमराज खनाललाई पनि बेठी खुब मन पर्छ । मावलीले ४५ वर्ष अघि लगाएको बेठीको घुरमैलो याद उनको दिमागमा आजसम्म पनि छदैछ । उनी त्यसबेला ५ र ६ वर्षका हुँदा हुन् । उमेरले ५ दशक हाराहारीका उनले सुनाए, ‘मामाहरुले चमरधापमा लगाएको बेठीको आलेली याद आउँछ, सम्झन्छु साँच्चै रमाइलो लाग्छ ।’ बेठी देखेको ३८ वर्ष पछि खनालले आफैँ अगुवा बनेर ७६ सालमा बेठी लगाए । ७६ सालमा लगाइएको बेठी व्यक्तिगत नभई संस्थागत थियो । विशाल कृषि सहकारीले २ बिघा खेत ३ वर्षका लागि ५० हजार रुपैयाँमा लिजमा लिएको थियोे । खेत लिजमा लिएको वर्ष बेठी लगाएर रोपाइँ गरेको व्यवस्थाक खनालले सुनाए । ‘कृषि नेपालको प्रमुख पेसा हो, हामीले हाम्रा सदस्यलाई कृषिको महत्व बुझाउन बेठी लगाएर रोपाइँ गरेको हो’ खनालले भने, ‘हाम्रो कृषि सहकारीले बेठी लगाएको हो, त्यसपछि लगाएको छैन, आजभोलि अरुले बेठी लगाएको देखेको पनि छैन ।’
खनालको भनाइमा सत्यता छ । निम्नबर्गीय बाहेक गाउँघरमा मानिस नै छैनन् । खेत बाँझो पल्टेका छन् । सबै मानिस शहर पसे । उनले भने ‘शहरमा घरबेटी हुन्छन्, बेठी हुँदैन ।’ कोठामा बस्ने शहरीया मानिस र अहिलेको पुस्तालाई बेठी के हो, त्यो पनि थाहा नभएको उनले बताए । कृषि नेपालीको जीवन जिउने आधार भएपनि यसमा आबद्ध मानिसको संख्या न्यून हुँदै गएको छ । शहरिया मानिसको संख्या अत्यधिक बढेको छ । कृषि हेयको पेसा बन्दा अहिलेको अव्यवस्था आएको खनालको बुझाइ छ । ‘किसानका लागि कृषि उद्योग, उमङ्ग र उत्सव हो’ उनले भने, ‘मानिसलाई कृषिमा अभिप्रेरित गर्न र खुशीसाथ धान रोपाइँ गर्न बेठी उपयुक्त माध्यम हो, कसैको ध्यान त्यता जान सकेको छैन ।’ उत्सापूर्वक कृषि कर्म गर्न पनि बेठी सहायक हुने उनको बुझाइ छ । बेठीमा पुरुषभन्दा पनि महिला उत्साही देखिने गरेको उनले सुनाए ।
बेठी सांस्कृतिसँग पनि जोडिने भएकोले लोप हुनु नराम्रो भएको बताएका खनालले बेठीमा बजाइने पञ्चेबाजा, लोकलयमा गाइने होहो रे हो होहो रे हो !!! जस्ता आसारे गीतले लोकसंगीतको पनि संरक्षण हुने उनको बुझाई छ । कृषि पेसाप्रति युवा पुस्तालाई आकर्षित गर्न पनि बेठी भरपर्दो माध्यम हुने खनालले बताए । ‘बेठीमा गाइने गीत, आपसमा खेलिने हिलो र गरिने रमाइलोले चाडकै झल्को दिन्छ’ उनले भने, ‘बेठीमा महिला दिदीबहिनीको उत्साह बढी हुन्छ, हिलोमा दौडने, नाच्ने प्रतियोगिता राख्न सक्दा यो बहुआयामिक पनि हुन्छ ।’ असारमा सबैलाई हिलोमा पस्ने रहर हुने भएकोले पनि बेठीको अवसर पारेर रोपाइँ गर्न सकिन्छ भन्ने सन्देश प्रबाह गर्न जरुरी भएको उनले सुझाए । बेठीलाई संस्कृतिसँग जोड्न सक्नुपर्ने उनले औल्याए ।
लोक संस्कृति र मौलिक परम्परासँग जोडिएको बेठी अचेल लोपोन्मुख कृषि कर्ममा सीमित भएको छ । दाहाल र खनाललाई मात्रै होइन बेठी सबैलाई मन पर्छ । पञ्चेबाजा र असारे भाखाका लोकलयमा नझुम्ने कोही हुँदैन । तर, आजभोलि बेठी छाडेर कार्पेट र गमला संस्कृति मौलाएको छ । सुटबुटमा सजिएर रातो कार्पेटमा बुट बजार्दै आलिसान ठाउँमा राखिएको गमलामा धान रोप्ने संस्कारले बेठी गुमनाम बनेको धेरैको बुझाइ छ ।
पहिलापहिला खेतालाहरूले पाखुराको बलमा दिनभर गर्ने काम आजभोलि ट्र्याक्टर, पावरटिलर र धान रोप्ने मेसिन जस्ता आधुनिक उपकरणको प्रयोगले एकैछिनमा सकिने गरेको छ । बढ्दो प्रविधिको प्रयोगले धेरै मानिस जम्मा भएर परम्परागत रूपमा गरिने रोपाइँको आवश्यकता नै हटिसकेको अवस्था छ । गाउँघरका युवा र सक्रिय श्रमशक्ति वैदेशिक रोजगारी जाने र सहर पस्ने क्रम तीव्र भएको छ। गाउँघरमा रोपाइँ गर्नका आवश्यक पर्ने खेताला पाउन मुस्किल हुँदै गएको छ । पर्याप्त जनशक्ति नहुँदा बेठी र सामूहिक कृषि उत्सव सञ्चालन गर्न कठिन भएको छ ।
बेठी लगाउँदा बाजा बजाउने मानिस , धेरै खेतालाका लागि भोजभतेर नै चलाउनु पर्ने हुन्छ । कृषि उत्पादनको लागतभन्दा व्यवस्थापनको खर्च बढी हुने देखिएकोले पनि बेठी ओझेलमा परेको धेरैको बुझाई छ । बेठीलाई फजुल खर्चका रूपमा हेरिनु पनि लोपको कारण भएको जानकारहरु बताउँछन् । पञ्चेबाजा बजाउने र बेठीका गीत गाउने पुराना पुस्ताका मानिस घट्नु र युवा पुस्तामा मौलिक सीप र संस्कृति हस्तान्तरण नहुँदा बेठीको रौनक हराएको हो। आपसी सहयोग, पर्म, पालोपालो काम गर्ने प्रचलन हट्दै जानू र श्रम पूर्ण रूपमा व्यावसायिक तथा ज्यालादारी बनेकोले पनि बेठीको चलन हराएको हो । मानिसमा जागेको छिटो काम गर्ने सोचले पुराना परम्परा ओझेलमा परेको बुझ्न गाह्रो छैन ।
कृषिमा आधुनिकरण र प्रविधिको बढ्दो प्रयोग, श्रमशक्तिको अभाव, बढ्दो लागत र आर्थिक भार, सामाजिक सोच र जीवनशैलीमा आएको परिवर्तन तथा परम्परागत संस्कृति र बाजा बजाउने पुस्ताको कमी बेठी लोप हुनुका मुख्यकारण भएको जानकारहरु बताउँछन् । समयको अभाव, बढ्दो महँगी, प्रविधिको विकास र युवा पुस्ताको पलायन नै बेठी प्रथा हराउनुका मुख्यकारण हुन्। धान दिवसमा गरिने सांकेतिक रूपमा गरिने बेठी कार्यक्रमले कृषि पेसासँग जोडिएको पुरानो संस्कृति जोगाउन असम्भव हुने देखिन्छ ।

































































































