बर्खामा झरी र भेल आउँछ, धनजनमा क्षति पु¥याएर जान्छ । हावा हुरी र प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन, क्षणिक रुपमा आउँछ, क्षति भइसकेपछि पछुताउनु भन्दा यस्तोबाट जोगिनु राम्रो हुन्छ
मिरा खड्का
नेपालीमा एउटा उखान छ ‘कागले कान लग्यो भनेर कागका पछि नदौडनु, कान छाम्नु’ । कागले कान लान्छ कि लादैन, थाहा छैन । तर सानो बच्चादेखि सुनेको उखान आज निर्वाचनका सन्दर्भमा उपयोग गर्न मन लाग्यो । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मतदाता महानुभावहरु ! प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिदैछ । यो ब्रम्हाण्डमा रहेका प्राणीमध्येको सचेत प्राणी मानव जाति हो । हामीसँग विचार छ, आदर्श छ, संस्कार छ, संस्कृति छ । राम्रो अनि नराम्रो, हित र अहित, भलो र कुभलो छुट्याउन सक्ने बुद्धि र विवेक छ । असल संस्कार र सद्बुद्धि दिएरै परमात्माले यस धर्तीमा पठाउनु भएको छ । बुद्धिको भरपुर उपयोग गरौं । हावा–हुरीको पछि नलागौं । चैत–बैशाखमा हावा–हुरी आउनु स्वभाविक हो । तर यसले भूगोललाई प्रदुशित बनाउँछ र मानव साथै धन–जनको क्षति गराएर जान्छ भन्ने नभुलौं । बर्खामा झरी र भेल आउँछ, धनजनमा क्षति पु¥याएर जान्छ । हावा हुरी र प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन, क्षणिक रुपमा आउँछ, क्षति भइसकेपछि पछुताउनु भन्दा यस्तोबाट जोगिनु राम्रो हुन्छ –अहिलेका नयाँ पार्टी ठिक त्यस्तै छन् ।
उनीहरुको राजनीतिक पृष्ठभूमि छैन । देश बनाउने स्पष्ट भिजन छैन । प्रष्ट कार्यनीति र कार्यदिशा छैन । स्पष्ट नीति, सिद्धान्त, विधान पनि सार्वजनिक गरिएको छैन । जो सत्ता र कुर्सीका लागि परिवर्तनको नाम दिएर लहड सिर्जना गरिरहेका छन् । भदौ २४ को दृश्य हेर्ने हो भने देशका ऐतिहासिक धरोहर, ब्यक्तिका घर र सार्वजनिक सम्पत्ति जलाउँदै हिड्ने थुप्रै अनुहार उम्मेद्वारका रुपमा मत मागिरहेका छन् । आफ्नो इतिहास, संस्कृति, एवं देश जलाएर उन्मत्त नाचिरहेका दृश्यहरु सामाजिक सञ्जालमा देखिन्छ, यसले प्रश्न उब्जाउँछ–भाद्र २३ र २४ को आन्दोलन के कोही अमूक ब्यक्तिलाई सत्तामा पु¥याउनकै लागि भएको थियो ? २०८४ मा हुने निर्वाचन २०८२ मा सार्नका लागि भएको थियो ? त्यसैका लागि ७६ जनाले ज्यान गुमाउनुपरेको हो ?
यदि होइन भने अस्पतालमा घाइतेहरु छट्पटाइरहँदा, काठमाडौं महानगर भित्रका संरचनाहरुमा तीन/चारदिनसम्म आगो दन्किरहँदा नगरपालिकाको नेतृत्वकर्ता कहाँ थिए ? देशभरको राष्ट्रिय सम्पत्ति अनि ब्यक्ति–ब्यक्तिका घर–सम्पत्ति क्षणभरमै स्वाहा भइरहँदा काठमाडौं महानगरभित्रै दमकल सजाएर राख्नुको अर्थ ? एकपटक सोच्नुहोस् त – मत माग्न आउने रास्वपाका उम्मेद्वारसँग यी प्रश्न सोध्नु आवश्यक छ कि छैन ? ठेलामा मकै पोलेर जीवन गुजारा गर्ने सुकुम्बासीहरुलाई काठमाडौं महानगरपालिकाबाट हटाइएको दृश्य सबैका आँखामा ताजा छ । काठमाडौंका सुकुम्बासी हटाउनेले झापा क्षेत्र नं–५ का सुकुम्बासीलाई ब्यवस्थित गर्न सक्लान् ? झुटो आश्वासनमा फस्ने कि नफस्ने ? अब सोच्नुपर्छ । अझै ढिला भइसकेको छैन, फागुन–२१ नजिकिदै गर्दा यी प्रश्नको उत्तर खोज्ने कि लहडकै भरमा मत दिने ? भन्ने कुरा मतदाताकै मर्जी ।
सांसद भवन जलिरहँदा त्यही देखिएकी तोसिमा कार्की, बलात्कारजस्तो जघन्य अपराधका विषयमा विवादास्पद अभिब्यक्ति दिने महिला उम्मेद्वार, आफूले जितेमा रवि र बालेन लिएर निर्वाचन क्षेत्रमा आउछु भन्ने उम्मेद्वारको एजेण्डाले भोलीको सुन्दर नेपाल अनि सुखी नेपाली कल्पना गर्न सकिन्छ ? मजदुरी गरेर, ठेलामा मकै पोलेर सहकारीमा पैसा जम्मा गर्ने ती निर्दोष ब्यक्तिहरुको पीडामा रविको जितले मल्हम लगाउन सक्छ ?
यी र यस्ता यावत प्रश्नहरुको समिक्षा गर्दै आम मतदाताले यतिवेला आफ्नो विवेक प्रयोग गर्नुपर्छ । जसरी हामी ज्वाँई वा बुहारी खोज्दा हामी कुल–घराना, बानी ब्यहोरा, शैक्षिक योग्यताजस्ता विषयलाई आधार बनाउँछौं । पाँचबर्षमा हुने निर्वाचन, यसपटक तीनबर्षमै मत हाल्ने अवसर प्राप्त भएको छ । यसको भरपुर सदुपयोग गर्दै इतिहास, समन्वय, काम, इमान, नेतृत्वको ब्यवहार सबै हेरेर मत दिनु आवश्यक छ ।



















