प्राप्त उपलब्धीलाई परिणाममा परिणत गरेर महिलाको उम्मेद्वारीलाई प्रमाणित गर्नुपर्ने चुनौति छ । प्रत्यक्ष निर्वाचनमा होमिएका महिलाले परिणाम प्राप्त नभए प्रतिनिधित्व हुन सक्दैन । यसको अर्थ आगामी निर्वाचनमा महिलाले उम्मेद्वारी प्राप्त गर्न झन कठिन हुनेछ । सत्ता र शक्तिका लागि अंकगणितमा चल्ने राजनीतिमा परिणाम मुख्य हुन्छ ।
रेजिना गौतम
नेपालको संविधान–२०७२ ले महिलाहरुको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको छ । तर, त्यही संविधान लेख्ने राजनीतिक दलहरुले नै कार्यान्वयनमा इच्छाशक्ति देखाएका छैनन् । त्यसको स्पष्ट खाका दलका आन्तरिक संरचनादेखि आम निर्वाचनमा महिला उम्मेद्वारीलाई उदाहारण काफी छ । दलहरुले ३३ प्रतिशत सहभागिता जुटाउन प्रत्यक्ष भन्दा समानुपातिकतर्फ स्थान दिने गरेका छन् । तर, प्रत्यक्ष निर्वाचनतर्फ ३३ प्रतिशत महिला उम्मेद्वार बनाउनैपर्ने बाध्यकारी ब्यवस्था नहुँदा संविधानतः प्राप्त अधिकार ब्यवहारमा कमजोर छ ।
यसअघि संविधानको कार्यान्वयन गर्नका लागि निश्चित निर्वाचन क्षेत्रहरु महिलालाई मात्रै प्रतिष्पर्धीका रुपमा सबै दलले उतारेर सहभागिता सुनिश्चित गर्नुपर्ने माग नउठेको होइन । तर यस विषयलाई न त राजनीतिक दलले प्राथमिकतामा राखे न त महिला अधिकारकर्मी र राजनीतिक नेतृहरुले नै जोडतोडका साथ उठाए । बरु महिलाहरु नै प्रतिष्पर्धामा उत्रनै नचाहने गरेको भनेर दलहरु पन्छिदै आएका छन् । प्रतिनिधिसभा निर्वाचन–२०८२ मा चुनावी प्रतिष्पर्धामा उत्रिएका सबै राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेद्वार प्रत्यक्ष निर्वाचनतर्फ उठाएका छैनन् । तर राजनीतिक दलका शिर्ष नेताहरु भिडेका स्थानमा महिलाहरुले चुनावी प्रतिष्पर्धा गर्न चाहेका र उम्मेद्वारी दर्ता गराएका भने छन् । गगन थापा, केपी ओलीदेखि सि.के. राउतसम्म उठेका चुनावी क्षेत्रमा दलसम्बद्ध वा स्वतन्त्र रुपमा भएपनि महिलाहरुले उपस्थिति देखाउनु गर्वको विषय बनेको छ । चुनावी परिणाम के आउँछ ? भन्नका लागि भने फागुन २१ पर्खनैपर्छ ।
गगन थापा
‘बदल्यौं कांग्रेस बदल्छौं देश’ यही नाराका साथ नेपाली कांग्रेस देशभर निर्वाचनमा होमिएको छ । निर्वाचनमा कांग्रेससंगै अन्य दलहरु पनि चुनावी मैदानमा छन् । भदौ २३ र २४ को आन्दोलनको मनोभावलाई बुझेर बदल्छौं कांग्रेस भन्दै जुटेका कांग्रेसका दुई महामन्त्रीको भिष्म प्रतिज्ञालाई देशभरका अधिकतम् कांग्रेसले साथ दिए । त्यही बलमा कांग्रेसको नीतिमात्रै होइन नेतृत्व नै बदलिदियो र बदल्छौं भन्नेलाई नै नेतृत्व सुम्पियो विशेष महाधिवेशनले ।
बिशेष महाधिवेशनले सुम्पिएको जिम्मेवारी ग्रहण गर्दै अघि बढ्ने क्रममा पार्टी भित्रैबाट आएका बाधा अड्चन, अवरोध सबैलाई अवसरकै रुपमा ग्रहण गर्दै अघि बढेका कांग्रेस सभापति गगन थापासहित अलिकति चर्चामा रहेका राजनीतिक दलका नेतृत्वले जहाँ जहाँ उम्मेद्वारी दिएका छन् त्यहाँ कुनै न कुनै दलका महिला उम्मेद्वार निर्वाचनमा टक्कर गरिरहेका छन् । सधैं अप्ठ्यारोमा अवसर खोज्ने कांग्रेस सभापति गगनकुमार थापा यो पटक मधेश झरेका छन् । खाइखेली हुर्किनुका साथै तीनपटकसम्म निर्वाचित भएको क्षेत्रलाई छोडेर सर्लाही झरे । गगनले सर्लाही रोजेसंगै त्यहाँका मतदाता पनि उत्साहित भएका छन् त्यसको कारण हो – कांग्रेसले गगनलाई नै प्रधानमन्त्री बनाउने निर्णय । सर्लाहीका जनता देशको प्रधानमन्त्री दिनका लागि उत्साहित देखिएको माहौलले देखाउँछ । यद्यपि चुनावलाई कसैले पनि कम आँक्नु हुँदैन ।
यस पटकको चुनाव आँकलन गरिनसक्नुको छ भन्दा अत्युक्ति नहोला । किनकी डिजिटल चक्रब्यूहमा फसेको एउटा जमात छ । जुन जमातको स्वभाव ‘न भुतो न भविष्य’ मतलव गर्दैन । जसमा वर्तमानको फोबिया छ । एकखालका मान्छेले देश–विदेशबाट स्वदेशमा रहेका आमाबुबा र आफन्तलाई दिएको इमोसनल्ली दबाब एकातिर छ। यति हुँदाहुँदै पनि एकखालका मान्छे र मिडियाका नाममा अनुमानका अंकहरु सार्वजनिक भइरहेका छन् । त्यसलाई निर्वार्वाचनको बेला यस्तै हो भन्ने बुझ्नुको विकल्प छैन ।
यही चुनावमा प्रायः शीर्ष दलका नेतालाई महिला उम्मेद्वारले टक्कर दिइरहेका छन् ।
कांग्रेस सभापति गगन थापा उम्मेद्वार रहेको सर्लाहीको क्षेत्र नं. ४ मा आम जनता पार्टीकी उम्मेद्वार रिंकीकुमारी साह उम्मेद्वार छिन् । सर्लाही आमजनता पार्टीको राम्रै पकड भएको मानिन्छ । सर्लाही ४ मा रिंकी एकमात्र महिला उम्मेद्वार हुन् । सर्लाही ४ मा १ लाख २१ हजार १२ जना मतदातालाई मतदान गर्नका लागि ८१ वटा मतदान स्थल निर्धारण गरिएको छ ।
केपी/बालेन्द्र
देशको पटक–पटक नेतृत्व गरिसकेका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र अब नेतृत्व गर्छु भनेर कस्सिएका रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहसंग कांग्रेसकी मन्धरा चिमरिया पौडेल चुनावी प्रतिष्पर्धामा छन् । सामाजिक सञ्जालमा एमाले अध्यक्ष ओली र रास्वपा नेता साहको छायाँमा चिमरियालाई कार्यकर्ताको साथ रहेको बताइन्छ । राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी उनले दमकमा बालआश्रम स्थापना गरेकी छन् । दुई नेताको टक्करका बीचबाट परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छिन्। नेकपाका युवा रञ्जित तामाङ पनि त्यही दावी गर्दै आएका छन्। ओली र साहसंग मन्धरासंगै स्वतन्त्र उम्मेद्वारहरु रञ्जना गौतम र शोभा भण्डारी पनि चुनावी मैदानमा छन् ।
नेकपा एमाले, स्वतन्त्र, नेकपा, नेपाली कम्युनिष्ट, राष्ट्रिय प्रजातन्त्र, रास्वपा लगायत अन्य राजनीतिक दल साथै स्वतन्त्र उम्मेद्वारसहित २४ जना उम्मेद्वार चुनावी मैदानमा छन् । फागुन २१ मा हुने निर्वाचनको दृष्टिले राजनीतिक इपिसेन्टर रुपमा चर्चामा रहेको झापा–५ मा १ लाख ६३ हजार ३ सय ७९ मतदाता र ६१ मतदान स्थल रहेका छन् ।
पुष्पकमल दाहाल
कांग्रेस नेतृ कुसुम थापामगर रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग चुनावी मैदानमा उत्रिएकी छन् । देशको नेतृत्व गरिसकेका प्रचण्डकी प्रतिष्पर्धी कांग्रेसको बिशेष महाधिवेशनबाट केन्द्रीय सदस्य हुन् । विघटित प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी उनी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति थिइन् । प्रचण्डसंग रुकुम पूर्वमा प्रतिष्पर्धाका लागि थापामगरसंगै मंगोल नेशनल अर्गनाइजेसनबाट पनि महिला उम्मेद्वार ज्योति रोकामगर प्रतिष्पर्धामा छन् । शीर्ष नेताहरुले प्रतिष्पर्धा गरिरहेका निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम मतदाता रहेको पूर्वी रुकममा ३४ हजार ७ सय ७२ जना मतदाता छन् भने मतदानका लागि ४४ वटा मतदान स्थल तय गरिएको छ ।
रबि लामिछाने
यता चितवन २ मा रास्वपा सभापति रवि लामिछानेसंग प्रतिष्पर्धाका लागि कांग्रेसले मिनाकुमारी खरेललाई चुनावी मैदानमा उतारेको छ । चितवनमा कांग्रेसको राजनीतिमा सक्रिय खरेलले समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी छन् । यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधिसभाका लागि निर्वाचित भएका लामिछाने गृहमन्त्री समेत बनिसकेका व्यक्ति हुन् । वीरेन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्व गरिसकेकी खरेल कांग्रेस चितवनको जिल्ला कार्यसमिति सदस्य र १४ औं महाधिवशेनबाट महासमिति सदस्य भएकी थिइन् ।
सामाजिक कार्यमा सक्रिय खरेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार पाएकी ब्यक्ति हुन् । चितवन–२ मा जनमत पार्टीबाट निर्मलाकुमारी ठाकुर, नेपाल मजदुर किसान पार्टीबाट शोभा बासुकला, राष्ट्रिय जनमोर्चाबाट देवी शर्मा, मंगोल नेशनल अर्गनाइजेसनबाट ऋषा गोले, आम जनता पार्टीबाट देवीकुमारी मगर पनि उम्मेद्वार छन् । १ लाख ३७ हजार १ सय ५२ जना मतदाता रहेको चितवनको क्षेत्र नंं २ मा मतदानका लागि ४३ वटा मतदान स्थल निर्धारण गरिएको छ ।
राजेन्द्र लिङदेन
झापा–३ बाट चुनावी प्रतिष्पर्धामा रहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि कांग्रेस, एमाले, रास्वपा, नेकपासहित तीन महिला उम्मेद्वारको सामना गरिरहेको छ । राप्रपाका राजेन्द्रको प्रतिष्पर्धा कांग्रेस राजेन्द्रकुमार घिमिरे, एमालेका हरिबहादुर राजवंशी, नेकपाका डिल्लीराम घिमिरे र रास्वपाले प्रकाश पाठक, नेमकिपाकी धर्मलक्ष्मी दुवाल(लघु),संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चन्द्रकला साँवा र जनता समाजवादी पार्टीले विनिताकुमारी राजवंशीलाई उम्मेद्वार बनाएको छ । झापा क्षेत्र नं. ३ मा १ लाख ४० हजार ८ सय ५७ जनालाई मतदान गराउनका लागि ६७ वटा मतदान स्थल तय गरिएको छ ।
सिके राउत
यता जनमत पार्टीका अध्यक्ष सिके राउतसंग रञ्जुकुमारी झा (ठाकुर) ले प्रतिष्पर्धा गर्दैछिन् । सर्लाही २ मा नेपाल जनता पार्टीबाट उम्मेद्वार बनेकी झा सहित यो क्षेत्रमा ३४ जना उम्मेद्वार रहेका छन् । ठाकुर पूर्व सांसद हुन् । यस्तै नेपाल मजदुर किसान पार्टीकी निलमकुमारी यादव तथा स्वतन्त्रतर्फ साधना दास र अम्बिकादेवी साफीको पनि उम्मेद्वारी छ । सप्तरी –२ मा ६८ वटा मतदान स्थल रहेका छन् भने १ एकलाख ५ हजार ९ सय २२ जना मतदाता रहेका छन् ।
उपेन्द्र यादव
उता उपेन्द्र यादव कांग्रेस, एमाले, नेकपा र रास्वपाका साथै स्वतन्त्र चार महिलाको चुनावी घेरामा छन् । २२ जना उम्मेद्वार रहेको सप्तरी–३ मा स्वतन्त्रतर्फ कौशलकुमारी चौधरी, कोशिलादेवी पासवान, रजियादेवी सदा र सरिताकुमारी यादवले उम्मेद्वारी दिएका छन् । ७४ वटा निर्वाचन स्थल रहेको सप्तरी–३ मा १ लाख ११ हजार ८ सय ७१ जना मतदाता रहेका छन् ।
हेविवेट–हेविवेटको टक्कर
संसदलाई रुलिङ गर्ने सभामुख र उपसभामुख एउटै निर्वाचन क्षेत्रमा प्रतिष्पर्धा रोचक मानिएको छ । नेकपा एमालेबाट बिघटित संसदका सभामुख देवराज घिमिरे र रास्वपाबाट उपसभामुखको जिम्मेवारीमा रहेकी इन्दिरा रानामगर झापा क्षेत्र नं.२ मा प्रतिपष्र्धा गरिरहेका छन्।उनीसंगै पूर्व राज्यमन्त्रीद्वय नेपाली कांग्रेसबाट सरिता प्रसाई र नेकपाबाट धर्मशीला चापागाँई समेत त्यही चुनावी मैदानमा छन् । त्यतिमात्र होइन २०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेद्वार उठेर दोस्रो पोजिसन कायम गरेका भद्रप्रसाद नेपाल यो पटक राप्रपाबाट उम्मेद्वार बनेका छन् भने बौद्धिक व्यक्तित्व भएका युवराज संग्रौला स्वतन्त्र उम्मेद्वारका रुपमा उभिएका छन् । यही क्षेत्रमा अन्य दुई राजनीतिक दलबाट २ महिलासहित पाँचमहिला, तीनजना स्वतन्त्रसहित १८ जना चुनावी मैदानमा छन् । चर्चामा नआएको झापा क्षेत्र नं. २ को पनि मत परिणाम रोचक हुने मतदाताको अनुमान छ । यो निर्वाचन क्षेत्रमा १ लाख ४७ हजार ५ सय २२ मतदाता रहेका छन् भने मतदानका लागि ४९ वटा मतदानस्थल तय गरिएको छ ।
फागुन २१ मा हुने निर्वाचनका लागि रास्वपाले १६, नेकपाले १२, कांग्रेसले ११, एमालेले १० जना तथा साना दल र स्वतन्त्र उम्मेद्वारसहित ११ प्रतिशत महिला उम्मेद्वारी पुगेको हो ।
निर्वाचन आयोगले महिला उम्मेद्वारलाई मनोनयन शुल्कमा दिएको छुटका कारण पनि महिला उम्मेद्वार बढेको अनुमान गर्न सकिन्छ । प्रतिनिधिसभा निर्वाचनमा महिला उम्मेद्वारका लागि प्रति उम्मेद्वारका लागि ५० प्रतिशत छुट दिएको थियो । १० हजार मनोनयन शुल्क तोकिएको थियो ।
देशभर ११ का प्रतिशत महिला उम्मेद्वार जिताउन महिलावादी अभियान्ताहरु केन्द्रित हुन जरुरी छ । यो बेला प्राप्त उपलब्धीलाई परिणाममा परिणत गरेर महिलाको उम्मेद्वारीलाई प्रमाणित गर्नुपर्ने चुनौति छ । प्रत्यक्ष निर्वाचनमा होमिएका महिलाले परिणाम प्राप्त नभए प्रतिनिधित्व हुन सक्दैन । यसको अर्थ आगामी निर्वाचनमा महिलाले उम्मेद्वारी प्राप्त गर्न झन कठिन हुनेछ । सत्ता र शक्तिका लागि अंकगणितमा चल्ने राजनीतिमा परिणाम मुख्य हुन्छ । पुरुषसंग प्रतिष्पर्धामा गएका महिलाको जितलाई सिटमा हिसाब गर्न पाएभने मात्रै दलहरुले उपलब्धी मान्छन् ।
फागुन २१ गतेको निर्वाचनका लागि ९२ लाख ४० हजार १३१ जना महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० जना अन्यसहित गरी १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाता रहेको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ । महिला र पुरुषको मतसंख्यात्मक अन्तर ४ लाख २३ हजार २२७ देखिन्छ । पुरुष उम्मेद्वारको तुलनामा महिला उम्मेद्वार अत्यन्तै न्युन हुनुलाई सकारात्मक रुपमा ग्रहण गर्दै बहुसंख्यक पुरुष प्रतिष्पर्धीबाट निर्मम भएर महिलाको मत क्रस गर्न सक्ने हो भने परिणाम दुर देखिंदैन ।

































































































