
कल्पना भट्टराई
घर– घर हामी जाऔँ
स्वधर्म संस्कृती आफै बचाऔँ
नेपाल अनेकतामा एकता एकतामा विविधता भएको देश हो । यहाँ विभिन्न तिथि मितिमा धेरै चाडपर्वहरु मनाइन्छ । ती पर्वहरुले आ आफ्नो अर्थ राख्दछन् । यी सांस्कृतिक पर्व तथा जात्राहरुको आ– आफ्नै महत्व छ । ती पर्वहरु मध्ये महानचाड विजया दशैं देखि दोस्रो लोकपृय चाड तिहारलाई लिइन्छ । कात्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि तिहार शुरु हुन्छ र यो पर्व ५ दिनसम्म मनाइन्छ । पहिलो दिन काग तिहार, दोस्रो दिनलाई कुकुर तिहार, तेस्रो दिन गाईतिहार (लक्ष्मीपूजा), चौथो दिनलाई गोर्बधन पूजा वा हल तिहार र अन्तिम दिन (पाँचौ) भाइटीका हो । तिहारका पाँच दिनको आ–आफ्नो महत्व छ ।
तिहार पाँचदिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भनी विश्वास गरिन्छ । तिहारको पहिलो दिन भगवान धन्वन्तरीको जन्म भएको हुनाले यस दिनलाई धन्वन्तरी जयन्ती पनि भनिन्छ । विशेषत यमपञ्चकमा क्रमश : काग, कुकुर, गाई, लक्ष्मी, गोबर्धन पर्वत र दाजु–भाइ पूजा गरिन्छ । पीङ खेल्ने, घर घरमा शहर बजार वरपर सर्वत्र दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी मनाउने चाड हो भएको हुँदा तिहार लाई एक उत्सव र झिलिमिली अथवा प्रकाश पर्वको रुपमा लिइन्छ ।
पाँच दिनसम्म मनाइने तिहारका सम्बन्धमा सनातन धर्मशास्त्रका पौराणिक कथाहरूलाई आधारमान्दा सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक भनिएको भन्ने तर्क पाइन्छ ।
पाँच दिनसम्म रहँदा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई जे मन लाग्छ वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनु पर्ने, साथै दिदीभाइ र दाजु–बहिनीको प्रेम सदा अटल रहोस् साथै दाजुभाईको आयू, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै वरदान दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्न रूपमा यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुपंछी बीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजु–भाइ र दिदी–बहिनी बीचको पशु सम्बन्धलाई पनि यसले जोडेको छ । सनातन हिन्दु धर्मले मानव मात्रलाई पुजेको छैन, पशुपंछी, प्रकृती सबैलाई उच्च सम्मान गरि पुज्ने भएको हुदाँ सनातन धर्मलाई सर्वव्यापी, सर्वमंङ्गलकारी भनी विश्वले पुकारेका हुन ।
काग तिहार:
कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरि कागतिहार मनाउने गरिन्छ । कागलाई किन पुजा गरिन्छ त भन्ने प्रश्न पनि आउँछ, पंछीहरुमा अत्यन्त चतुर र चलाख काग हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा फट्याङग्राहरू खाइदिन्छ । कहि कतै सडेगलेका सिनोलाई खाइ दिन्छ प्रकृतिलाइ स्वच्छ राख्न मदत गर्दछ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रियभक्त पनि हो । त्यसैले यसदिन कागको पूजा गरि कागतिहार मनाउने गरिएको धार्मिक विश्वास र मान्यता रहि आएको छ ।
कुकुर तिहार:
यमपञ्चकको दोस्रो दिन हो । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई यमदूतका रूपमा पनि लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक( सुरक्षा) जनावरको रुपमा लिइन्छ । विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने काममा तथा अध्ययन अनुसन्धान गर्ने कार्यमा कुकुरको प्रयोग गरिन्छ । कुकुरले घरको रेखदेख तथा चोर डाँकाबाट बचाउने कार्य गरि मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचनासमेत कुकुरले दिन्छ । कुकुर घरमा वा साथमा रहँदा सुरक्षाको अनुभूति हुन्छ त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई पूजा गरि मनाइन्छ ।
गाईतिहार र लक्ष्मीपूजा:
गाई नेपालको राष्ट्रिय जनावर मात्र होइन, गाईलाई देवीका रुपमा पनि पुज्ने गरिन्छ । गाईको गहुँत र गोबर पनि सनातन हिन्दुधर्ममा पवित्र छ भने आर्युवेदिक चिकित्स पद्दतीमा समेत त्यत्तिनै धेरै महत्व छ । मानवका सोह्र संस्कारमा गाइ र दूधको महत्व मानिस जन्मदेखि मृत्यु एवम मृत्यु पछि पनि गाईको दूध नै आवश्यक छ । हरेक पुजापाठमा पञ्चामृत, पंचकाव्यमा गाईको दूध गहुँत विना कुनै कार्य सिद्ध हँुदैन । यसर्थ पनि तिहारमा गाईको पूजा गरिएको हो । सनातन धर्ममा गाईलाई लक्ष्मीको प्रतिक मानिन्छ । गाईपूजा र लक्ष्मीपूजा एकैदिन मनाइन्छ । यसदिन साँझमा घर–घरमा दीपावली गरि लक्ष्मी पुँजिन्छ, लक्ष्मी पुँजा गरि सकेपछी बेलुका विषेशतः दिदी बहिनीहरु सामुहिक रुपमा भेला भएर भैलो खेल्ने गरिन्छ । घर घर र शहरबजार सबै तिर वत्तिका झिलिमिली एवम दिदी–बहिनीहरुको भैली नाचगानले यो चाडको रौनकता बढेको हुन्छ । अति नै सबैलाइ रमाइलोको अनुभूति प्रदान गर्दछ । सबै तिर मगमग सेलरोटीको वास्ना आउँछ ।
सनातन हिन्दु धर्ममा धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घरआँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर, कोठा चोटा पवित्र तुल्याउने सनातन हिन्दूहरूको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । सनातन हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । कार्तिक कृष्णऔंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले छोपी दिने विश्वासका साथ घरघरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिने गरिएको हो ।
अर्को एक भनाइ अनुसार यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुना कहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको हो । यस्तै सुख सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्णऔंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा तिहारको तेस्रो विशेषताको दिन लक्ष्मी पूजाको दिन हो ।
गोरु तिहार:
हल तिहार वा गोवर्धन पूजाको रुपमा तिहारको चौथो दिन मनाइन्छ । पौराणिक कथन अनुसार गोवर्धन गोकुल शहर नजिकै रहेको एक पर्वत हो । कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे। गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रबाट उनीहरूले केही पाउँदैनथे । कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घाँस, पानी र दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी पनि हुन्छन् । उनीहरु गोवर्धन पर्वतको पूजा पनि गर्छन् ।
आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्टी गराउँछन् । भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन् । अन्त्यमा आफ्नो हार मानि इन्द्रले गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो भनी मान्यता रहँदै आएको छ । त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनमा रहेका गोरूको पनि पूजा गर्दछन् । हलतिवार का दिन देखि घरघरमा दाजु भाइ दिदी बहिनी आ आफ्ना मौलिक पोषकमा सजिएर झिलीमिली –देउसुरे भन्दै देउसी खेल्ने परम्परा रहि आएको छ । देउसीमा रामयण कथा र विभिन्न पौराणिक कथाका प्रङ्गहरु उठाएर देउसीमा भट्ट्याइने गरिन्छ यसरी देउसीले हाम्रा लोक संस्कृती र पुराना कथाहरुलाइ समेत उजागर गरिने भएको हुदाँ सनतन धर्म संस्कृती भेषभुषा परम्परालाई बलियो बनाउने एउटा जगको रुपमा लिइन्छ ।
देउसी भैलो भट्याउनेको तरिका अनुसार गित गाउँदै, नाच्दै र आशिष दिदैं देउसी– भैलो खेल्ने चलन छ । देउसी टिमको नेताले कथा गाउँछन, जसको प्रतिकृयामा देउसे टिमका सदस्यले देउसिरे भनेर लय मिलाएर गाउँछन ।
आहै झिलिमिली झिलिमिली – देउसिरे, आहै फुलको झिलिमिली – देउसिरे, आहै भनभन भाइ हो देउसिरे भन्दै विच – विचमा गित गाउने गरिन्छ । जस्तै ः– वर्ष र दिनको चाडपर्व मनाउँदै,
आयो है देउसे जोरमादल घनकाउदै, मादल बजाउँदै आहै मादल बजाउँदै ।
आउन नाचौं देउसे हो कम्मर मर्काउँदै ,
पुर्खा है देखि चलेको यो हाम्रो रिती ,
,सबलाइ प्यारो चाडपर्व यो हाम्रो संस्कृती,
फुलको वासना आहै फुलको वासना ।
नाचौन, नाचौन घर भेटी कम्मर भाँचौन,
छम छमी नाचौन आहै कम्मर भाँचौन । आदि तुक्का मिलाउँदै गाउँदै आशिष् दिने गरिन्छ देउसेले दिएको आशिषलाई अति महत्व लिइन्छ ।
भाइटीका:
भाइतिहार अर्थात् भाइटीका तिहारको अन्तिम दिन मनाइन्छ । कार्तिक शुक्ल द्वितीया तिथिका दिनपर्ने यो पर्व विशेष उत्साहका साथ मनाउँदै दिदीबहिनी र दाजु–भाइवीचको सहृदयता आत्मियता साटासाट गरिन्छ । यस दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई तथा भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान्न दिने दिदीबहिनीलाई दानदक्षिणा एवं वस्त्र दिने परम्परा छ । यस दिनले दाजु–भाइ दिदी–बहिनीको सम्बन्ध अत्यन्तै बलियो बनाएको पाइन्छ ।
परापूर्वकालमा बहिनी यमुनाले यसैदिन दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी–बहिनी र दाजु–भाइको सुख,समृद्धि, अरोग्य एवं दीर्घायूको कामना गरिन्छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा समेत भाइटीकालाई लिइन्छ ।
यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदी–बहिनीले भाइटीकाको दिन दाजुभाइलाई भाइटीका लगाउन पानी तथा तेलले ७ घेरा हाली छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइ दिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियो रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान प्रदान गरिन्छ ।
दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले राजधानीको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पूजाआजा गरि टीका लगाउने चलन पनि छ । यसरी तिहारका ५ दिन रमाइलो गरि मनाउने गरिन्छ । नेपालका रैथाने धर्म – संस्कृतिले वैदिक कालगणनामा आधारित रहेरै चाडपर्व मनाउने गरिन्छ । दशैं–तिहार, छठ, उभौली – उधौली, चण्डी पुर्णिमा, न्वागी पुर्णिमा बुद्ध पुर्णिमा, योमरी मुन्ही, सिथी नखः सिरुवा, पर्व तथा विभिन्न– जात्राहरु वैदिक कालगणनाकै आधारमा मनाउने गरिन्छ , यी सबै पर्वहरु नेपालिका साझे हुन जसमध्ये तिहारले पनि विशेषत हाम्रो साँस्कृतिक महत्व पूर्णरुपमा बचाइ राखेकोछ ।
तिहारलाई झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै गाउँ घर शहर बजारमा थरी–थरीका बत्ती बाल्न शुरु भइसकेको छ। बत्तीको उज्यालोले गाउँ घर शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । कतिपयले त आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि बत्तीहरु वाली तिहार (दीपावली) लाई निरन्तरता दिएको पाइन्छ । यश, महत्वपुर्ण पर्वमा सबै नेपाली दाजु भाइ दिदी बहिनीहरुमा चेतना साहित्य समाजको तर्फबाट समेत हार्दिक शुभकामना।
लेखक : चेतना सहित्य समाज भद्रपुर ७ झापाको संयोजक हुनुहुन्छ
































































































