चारआली बैशाख । त्रिदेव बहुमुखी क्याम्पस चाराली झापाको सातौं अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि सन्तोष नेउपानेको अध्यक्षतामा नयाँ क्याम्पस सञ्चालक समिति सर्वसम्मत रुपमा गठन भएको छ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई क्याम्पसको प्राङ्गणमा विशेष कार्यक्रम गरी शपथ ग्रहण गराइएको थियो। निर्वाचन समितिका संयोजक दुर्गा प्रसाद भट्टराईको अध्यक्षता तथा समिति सदस्य ओदराज सापकोटाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा त्रिदेव बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष हरिचरण बानियाले क्याम्पस अत्यन्तै दुःखले अघि बढेको र यसको स्थापनाको पृष्ठभूमि र इतिहास समेत एउटा संघर्षशील रहेकोले आगामी नेतृत्वले क्याम्पसको गरिमा बढाउन मेहनतका साथ इमान्दार भएर काम गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा संस्थापक क्याम्पस प्रमुख माधव प्याकुरेल, निवर्तमान अध्यक्ष हरिप्रसाद घिमिरे, जिल्ला अदालत झापाका अधिकृत बोधराज सुवेदी, क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराई लगायतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
उक्त समितिको उपाध्यक्षमा भक्तबहादुर खेवाङ, शरद शिवाकोटी, सुनिता रिजाल, कृष्णप्रसाद सिग्देल र मोहन अधिकारी निर्वाचित हुनुभएको छ।
विधानत १९ सदस्यीय सञ्चालक समिति रहेकोमा अन्य सदस्यहरू पदेन सदस्यको रुपमा निर्वाचित हुनेछन्। निर्वाचित र पदेन सदस्यहरूको संयुक्त बैठकबाट आफूहरू मध्येबाट थप एक उपाध्यक्ष छनोट गरि दुईजना उपाध्यक्ष हुने व्यवस्था रहेको जानकारी भएको छ।
यसैगरी आन्तरिक लेखा समितिको संयोजकमा जगन भट्टराई सदस्यहरूमा मवेन्द्र पौडेल र दीपेन्द्र सुवेदी निर्वाचित हुनुभएको छ। उक्त कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष भक्तबहादुर खेवाङ र आन्तरिक लेखा समितिका संयोजक जगन भट्टराईले आफूहरूले निष्ठापूर्वक क्याम्पसको उन्नति र विकासको लागि लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
निर्वाचन कार्यक्रम अत्यन्त सुहाद्रपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन समितिका संयोजक दुर्गा प्रसाद भट्टराईले बताउनुभयो । निवर्तमान अध्यक्ष हरिप्रसाद घिमिरेले आफ्नो कार्यकालमा क्याम्पसले फड्को मारेको र विभिन्न प्रकारका रचनात्मक कार्यहरू गरेकोले आगामी दिनमा समेत क्याम्पसको उन्नति र विकासका लागि लागिपर्ने प्रतिबद्धता सहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो।
त्रिदेव क्याम्पसका नयाँ सञ्चालक समितिको पदहस्तान्तरण

































































































