झापा १ कात्तिक । उज्यालो र उमङ्गको पर्व दीपावली आजदेखि शुरू भएको छ । सामान्यतः ५ दिनको हुने यो पर्व यसपालि तिथिको घटबढका कारण १ दिन बढेर ६ दिन भएको हो ।
मधेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्व मैथिल परम्परा अनुसार आज ‘धनतेरस’ बाट शुरू भएर आउँदो बिहीवार ‘भैयादुज’ मनाइएसँगै सम्पन्न हुनेछ ।
नेपाली बोलीमा तिहार भनिने यो पर्व पाँच दिनको हुँदा यसलाई ‘यमपञ्चक’ भनिँदै आएपनि यो वर्ष ६ दिन तिहार पर्व परेको छ । यसपाली गएको बडादशैंको नवरात्रमा पनि यमपञ्चक झैं १ दिन बढेको हो । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मिथिलामा दीपावली भनिने ‘यमपञ्चक’ यसपालि तिथिको भोग घटबढले ६ दिन भएको हो ।
महोत्तरीसहित मधेशका प्राचीन मिथिला क्षेत्रमा चाडपर्व र तिथिको टुङ्गो मिथिला पञ्चाङ्गम् र विद्यापति पञ्चाङ्गम्बाट निधो गरिन्छ । यमपञ्चकको पहिलो दिन धनतेरस कात्तिक कृष्ण त्रयोदशीको गोधुली साँझपछिको रात्रिभोगको समयमा मनाउने चलन रहेको छ । यसैले आज दिउँसो १ बजेर २३ मिनेटपछि त्रयोदशी शुरू भई भोलि आइतवार दिउँसो १ बजेर ५६ मिनेटसम्म रहने पञ्चाङ्गमा उल्लेख रहेको पण्डित महेशकुमार झा बताउनुहुन्छ ।
‘त्रयोदशीको साँझ र रात एकैदिन परेको हुँदा धनतेरस आजै मनाइएपनि त्रयोदशी तिथिमै गरिने दीपावली पर्वको कागपूजा भने आइतवार मध्याह्नसम्ममा गर्नुपर्नेछ। धनतेरस सन्ध्याकालसँगै रात्रिमा र कागपूजा दिनमा मनाउने चलनले यस्तो भएको उहाँको भनाई छ ।
यसैगरी दीपावली पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजा सोमवार साँझ नै गरिने छ । त्यस दिन सूर्योदय चतुर्दशी तिथि भए पनि दिउँसो ३ बज्नुअघि औँशी शुरू हुने हुँदा लक्ष्मीपूजा त्यही दिन गरिने पञ्चाङ्गले निर्देश गरेको झाको भनाइ छ ।
दीपावली पर्वका धनतेरस र लक्ष्मीपूजा सन्ध्याकालमा शुरू गरिन्छ । यस्तै यसै पर्वको गौपूजा, गोधनपूजा र भैयादुज दिनमा गरिने चलन छ । औँशीको रातमा गरिने लक्ष्मीपूजा सोमवार गरिए पनि त्यही तिथिमा गरिने गौपूजा भने मङ्गलवार बिहान गरिने झाले जानकारी दिनुभयो । मैथिल परम्पराको दीपावली पर्वको गोधनपूजन कात्तिक शुक्ल प्रतिपदा र भैयादुज द्वितीया तिथिमा गरिन्छन् । यस अनुसार यसपाली गोधन बुधवार र भैयादुज बिहीवार सम्पन्न गरिनुपर्नेछ ।
दीपावली पर्व देशभर उमङ्ग र उत्साहसाथ मनाउने परम्परा छ । खासगरी पहिलो दिनको धनतेरस र लक्ष्मीपूजा मिथिलामा विशेष मानिन्छन् ।
यो वर्ष यमपञ्चक ६ दिनको

































































































