Homeमहिलाअलैंचीको टुप्पा काटेर दैनिकी, किस्ता र अतिरिक्त खर्च जुटाउँदै महिला

अलैंचीको टुप्पा काटेर दैनिकी, किस्ता र अतिरिक्त खर्च जुटाउँदै महिला

रेजिना गौतम
विर्तामोड ।
विहान साढे आठभित्रमा अलैंचीको टुप्पा काट्न बसेकी मालती साह बेलुका पाँचबजेसम्म त्यहीं भेटिन्छिन् । वर्षौदेखि अलैंचीको टुप्पा काट्ने काममा संलग्न उनको हाजिरा अलैचीको गुणस्तरमा भर पर्छ । गुणस्तर अनुसार –कहिले धेर त कहिले थोर । भएको घर, जग्गा सबै सकिएर सुकुम्बासी भएपछि उनले फलामको कैंची र अलैंचीको टुप्पा समाउन थालेकी हुन् । मालतीले भनिन्–‘दुःखले आ’को नि अलैंची काट्न ।’ यसरी काम गर्दा सधैं एक किसिमको हाजिरा नबस्ने बताउँदै उनले भनिन्–‘राम्रो भए पचास केजीसम्म काट्छु तर नराम्रो छ भने त त्यत्रो पुग्दैन । नराम्रो अलैची भए २५ देखि माथि ३०, ३५, ४० केजीसम्म काटिने उनले बताइन् । प्रति केजी १२ रुपैयाँका दरले ज्याला पाउने अलैंची मजदुरहरुको दैनिक रोजगारी जति हात पाखुरा चलाउन सक्यो त्यति नै बढी हुने उनीहरुको भनाई छ ।
दैनिक काम गरेर पाउने पैसा नै जिवीकोपार्जनको माध्यम बनेको छ उनीहरुको । सहकारीबाट लिएको ऋणको किस्ता पनि त्यसैबाट तिर्दै आएको साहले बताइन् । हप्तामा दुईदेखि तीनहजारसम्म हाजिरा बस्छ उनले थपिन्–‘दिनै कमायो खायो, किस्ता तिर्नुपर्छ, खानु प¥यो, त्यस्तैमा खर्च हुन्छ ।’ श्रीमान्को स्थायी काम नभएका बताउँदै उनले भनिन्–‘साइकलमा काम खोज्दै हिड्छ, सिजन अनुसार जे भेट्यो त्यही गर्नु प¥यो नी ।’ छोराले मार्वल लगायत अन्य काम गर्ने बताएकी उनले किस्ता भने सबैले मिलेर तिर्ने गरेको सुनाइन् ।


आफ्नै शरीरमा रोग लागेसंगै थपिएको ऋणले मालतीका परिवारको भिटामात्र सकेन, बसेको घरबासै उठायो । ऋण तिर्ने अरु कुनै उपाय नभएपछि बस्दै आएको घर समेत बेच्नुपरेको विगत उनले सुनाइन् । विगत स्मरण गर्दै मालतीले भनिन्–‘पहिला टन्नै सम्पत्ति थियो, ६÷७ वटा भिटा थियो, दीन लाग्यो, विरामी भयो, बसेको घर पनि बेचेर अहिले त्यही घरमा भाडा तिरेर बसेको छु, अब आफ्नो माटो भन्ने कहीं छैन ।’ उनीहरु चारजनाको परिवार कोठाभाडामा बस्दै आएका छन् । साहको परिवारमा एक छोरा र एक छोरीसहित चारजनाको परिवार छ ।
पूर्वी नेपालदेखि पश्चिमका पहाडी जिल्लासम्म विस्तार भएको अलैची कतिको दैनिकी धान्ने माध्यम भएको छ त कतिको आफूलाई खर्च जोहो गर्ने स्रोत भएको छ ।
विगत १० वर्षयता विर्तामोड–५ की विष्णुमाया खड्का पनि अलैंचीसंगै खेल्दैआएकी छन् । उनलाई दैनिकी धान्न कठिन छैन, तर त्यत्तिकै घरमा बस्नुभन्दा नजिकै पाएको काम गरेको बताइन् । ‘नजिकै छ, घरमा काम छैन, बस्तु भाउ पनि छैन, सबै साथी भाईसंग भेट हुन्छ त्यसैले आएको ।’ भू.पू. प्रहरी भएका कारण श्रीमान्को पेन्सन आउँछ उनले भनिन्–त्यसमा पनि अटो कुदाउनु हुन्छ, त्यसैले यो गरेर मैले खानु पर्दैन’–खड्काले भनिन्–‘ आफूलाई चाहिने खर्च अरुलाई माग्न नपरोस भनेर अलैंची काट्न आएँ, प्रेसर छ, दवाई पानी खान्छु, आफूलाई मन लागेको खर्च गर्न अरुलाई माग्नु पर्दैन, नाती–नातिनालाई दिन्छु ।’ उनले दैनिक २० किलोसम्म टुप्पा काट्ने गरेको बताइन् ।
डाँगीबारीकी सपना चौधरी साइकलमा निरन्तर विर्तामोड धाउँछिन् । विहान टिफिनको बट्टामा खाना बोकेर आउने उनी अरुजस्तै बेलुका पाँचबजेसम्म अलैंचीको टुप्पा काट्ने काममै समय विताउँछिन् । पाँचदिन अघिदेखि मात्र रोजगारी खोज्दै अलैंचीको टुप्पा काट्ने काम शुरु गरेकी सपना दैनिक २२÷२२ केजीसम्म मात्र पुर्याउँछिन् । धान थन्क्याइसकेर रोजगारी खोज्दै अलैंचीको टुप्पा काट्न आइपुगेकी चौधरी प्राप्त आम्दानीले घर खर्च चलाउने बताउँछिन् । १७ वर्षकै उमेरमा बैबाहिक यात्रा शुरु गरेकी उनका श्रीमान विदेशिएपछि सासू ससुरासंगै बस्दै आएकी चौधरीले भनिन्–घर खर्च चलाउनुपर्छ, सानो नानी छ उसलाई अनि आफूलाई पनि त चाहिन्छ ।’


डाँगीबारी, विर्ताबजार, विर्तामोड लगायत क्षेत्रका सयौ महिलाहरु अलैचीको टुप्पा काटेर खर्चको जोहो गर्छन् । अलैचीको टुप्पा काटेर धेरै महिलाहरुले घर–ब्यवहार धान्ने गरेको अलैची ब्यवसायी महासंघकी पूर्व केन्द्रीय सदस्य पार्वता खरेल विमलीले बताइन् ।
शहरीमा डेरा भाडा गरेर बस्ने महिलाहरुका लागि पनि रोजगारीको माध्यमका रुपमा रहेको अलैंचीको टुप्पा काट्ने काममा पुरुषको भने सहभागिता नदेखिएको बताउँदै पार्वताले भनिन्–‘झट्ट हेर्दा बसेर मसिनो गरी गर्ने काम भएर होला, महिलाका लागि रोजगारीको ठूलो माध्यम बनेको यो काममा पुरुषको भने प्रवेश देखिन्न् ।’
पछिल्लो समय अलैंचीको मूल्य निरन्तर ओरालो लागिरहेको छ । अहिले २५ हजार ५ सयदेखि गुणस्तर अनुसार २७ हजार ५ सयसम्म मूल्य रहेको महासंघका पूर्व महासचिव ओम विमलीले बताए ।
उनका अनुसार विर्तामोडमा मात्रै अलैंची काट्ने कामलाई रोजगारीको माध्यम बनाएर जिविकोपार्जन गर्ने एकहजार बढी महिला श्रमीक रहेका छन् ।
यसअघि कटिङ र चालु मालको मूल्यको अन्तर चारदेखि पाँचहजार थियो । अहिले घटेर दुईहजार मात्र अन्तर रहेको अलैंची ब्यवसायी बताउँछन् । अब कटिङ र चालु्मालको अन्तर १ हजारमा सिमित रहेमा अलैंची काटेर गुजारा चलाउने महिला श्रमीकको रोजगारी सङ्कटमा पर्नसक्ने पूर्वमहासचिव विमलीको भनाई छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलाअलैंचीको टुप्पा काटेर दैनिकी, किस्ता र अतिरिक्त खर्च जुटाउँदै महिला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img