झापा । नेपालको समृद्धि कृषिबाटै संभव देखेका झापाका केही युवाले इलाममा कृषिक्रान्ति शुरु गरेका छन् । एक पटक खेती लगाएपछि लामो समयसम्म उत्पादन हुने भएपछि झापाका सातजना युवाले इलामको सन्दकपुर–२ मा किवी र लोडसल्लाको व्यवसायिक खेती शुरु गरेका हुन् । समृद्धिको आधार नै कृषिक्षेत्र र कृषि कर्म हुने ठहर गरेका उनीहरुले एकपटक रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि व्यवसायिक खेतीका रुपमा किवीलाई रोजेका हुन् ।
सप्तरंगी बहुउद्देश्यीय कम्पनी प्रा.ली.मा आवद्ध भइ सीपी कडरिया, तेजमणि प्रसाईं, कमलप्रसाद कडरिया, दुष्यन्त भट्टराई, श्रीप्रसाद सिटौला, ईश्वरीप्रसाद तिवारी र झलकबहादुर राई मिलेर व्यवसायिक खेती शुरु गरिएको कम्पनीका अध्यक्ष सिपी कडरियाले बताए ।

तीनसय रोपनी जमिनमा किवी र लोडसल्लाको खेती गरेका उनीहरुले एकसय ५० रोपनीमा किवी र बाँकी एकसय ५० रोपनीमा लोडसल्ला लगाएको अध्यक्ष कडरियाले बताए ।
वेरोजगार युवालाई रोजगार, कृषिलाई उद्यमशिलता र उद्यमशिलतालाई प्रविधिसँग जोड्ने उद्देश्यले शुरु गरिएको खेतीमा कृषि सम्बन्धी भिजन भएका राजनीतिक दलका नेता तथा कार्यकर्तालाई समेत जोड्न सकिने अध्यक्ष कडरियाले बताए । किवीलाई राष्ट्रिय रुपमै फरक तरिकाले लैजाने तयारीमा जुटेको बताए । ‘यही माध्यमबाट बेरोजगार युवा र राजनीतिक नेतालाई पनि रोजगारीमा जोड्नु पर्छ भन्ने कोणबाट हामी अघि बढेका छौं ।’ ‘बैदेशिक रोजगारीले २० प्रतिशत जीडीपी धानेको छ भनिरहँदा २४ प्रतिशत जिडीपी कृषिले धानेको छ, अध्यक्ष कडरियाले भने, ‘तर कृषिलाई हेर्ने दृष्टिकोण कुनै पनि सरकारको ध्यान पुगेको नदेखिएको बताउँदै भने, ‘कृषिमा भिजिनरी प्रकृतिको बजेट आउन सकेन ।’ सरकारले कृषिलाई प्राथमिकता दिने हो भने जीडिपी अझ बताउन सकिन्छ ।
किवीको उत्पादन, प्रवद्र्धन, बजारीकरण लगायतका लागि अध्ययन, अनुसन्धान, परामर्श र अन्यमुलुक निर्यातका लागि संभावना अध्ययन गरिरहेको छ । हरेक सरकारले देशलाई कृषि प्रधान देश भन्न नछोडेपनि त्यस अनुसारको बजेट व्यवस्थापन र कृषिमा नयाँ भिजन ल्याउन नसकेको कडरियाले बताए ।
२०७२ सालदेखि शुरु गरिएको उक्त खेतीमा साडे तीन करोड रुपैयाँ लगानी भएको उनले जानकारी दिए । गत वर्षदेखि उत्पादन हुन थालेको किवी यो वर्ष लगभग ४ हजारदेखि ५ हजार किलो उत्पादन हुने अनुमान गरिएको छ । एकनासको उत्पादन नहुने बताउँदै कडरियाले भने,‘अघिल्लो वर्ष दुईहजार २५ सय केजी उत्पादन भएको थियो ।’ एकपटक खेती लगाएपछि ३५ वर्षदेखि ५० वर्षसम्म उत्पादन दिने किवी प्रतिबोट दुई हजारभन्दा बढी फल उत्पादन हुने जनाइएको छ । कम्पनीले एकसय ५० रोपनी जमिनमा २५ सय बढी किवीका विरुवा लगाएको जनाएको छ ।
अबको केही वर्ष पछि नेपालमा खाद्यान्न र पानीको समस्या देखिन सक्ने संभावनालाई मध्यनजर गरेर पनि आफूहरुले शुद्ध प्राकृतिक वातावरणमा अग्र्यानिक तरिकाले उत्पादन गर्न लागेको उनले बताए ।
उपभोक्ताको मागलाई नेपालमै उत्पादित किवीले धान्ने भएपनि भण्डारणको उचित व्यवस्था नहुँदा अन्य मुलुकको किवी भित्रिरहेको कडरियाले बताए । चीन र इटलीबाट भित्रिएको किवीको तुलनामा नेपालको किवीको गुणस्तर उच्च रहेपनि भण्डारण गर्ने प्रविधिको अभावमा लामो समय सञ्चित गरेर विक्री गर्न सक्ने अवस्था नरहेको उनले बताए । जसको असर किसानलाई पर्ने गरेको छ । किवीको व्यवसायिकताका लागि कोल्डचेन आवश्यक रहेको अध्यक्ष कडरियाले बताए ।
हाल माहुरी र हावाको भरमा परागसेचनका लागि निर्भर हुनुपरेको बताउँदै अध्यक्ष कडरियाले सरकारले नै पोलिनेशन (गर्भाधान) सिष्टम भित्र्याउनुपर्नेमा जोड दिए ।, ‘नेपालको किवीमा पोलिनेशन (गर्भाधान) विधिको विकास भएको छैन, खाली माहुरी र हावाको परागसेनको भरमा निर्भर छ,उनले थपे, व्यवसायिक खेतीका लागि पोलिनेशन सिष्टमको विकास गर्नुपर्छ ।’

अहिलेसम्म राज्यको अनुदान नलिएको बताएका उनले अनुदानको अपेक्षा गरेर कृषि कार्म शुरु गर्नु गलत मानसिकता रहेको बताउँदै सरकारले कृषिमा सहुलियत ऋण दिनुपर्नेमा जोड दिए । कत्तिपयले अनुदानकै लागि कृषि कार्य गर्ने गरेको बताउँदै कडरियाले भने, ‘अनुदानप्रति नकारात्मक भाव बढ्यो, यो राम्रो पनि होइन, अनुदान बन्द गरेर सहुलियत ऋण, बजार नीति तथा कृषि प्रविधिमा जोड दिंदै कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुँदै विदेश निर्यात गर्न सक्ने हुनुपर्छ ।’
राजनीतिक दलले पनि आफ्ना कार्यकर्तालाई कृषिमा जोडिन प्रोत्साहित गर्नुपर्ने बताउँदै सदस्य बताउँदै गर्दा कृषिलाई पनि एउटा इण्डिकेटरको रुपमा राखिनु पर्छ । जमिन खाली राख्नु नहुनेमा जोड दिएका कडरियाले कृषिमा भिजीनरी नेतालाई जोड्नुपर्छ भन्ने कोणबाट पनि आफूले काम गरिरहेको बताए ।
किवीलाई प्रशोधन गरेर त्यसबाट गर्नसकिने उत्पादन, बजारीकरण र प्रवद्र्धन तथा अन्य मुलुकमा निकासीको संभावना बारे समेत अध्ययन भइरहेको अध्यक्ष कडरियाले बताए ।
किवीसहित अन्य कृषिजन्य उत्पादनमा वेरोजगार युवालाई रोजगार कृषिलाई उद्यमशिलता र उद्यमशिलतालाई प्रविधिसँग जोडेर उत्पादित सामग्रीलाई स्वदेश तथा विदेशका विभिन्न बजारसम्म पुर्याउन सक्ने हो भने नेपालमा समृद्धिको सपना साकार अवश्य हुनेछ ।

































































































