भद्रपुर २० पुस । गस्तीका समयमा विभिन्न ठाउँमा बेवारिसे अवस्थामा फेला परेका एउटा पिकअपसहित सातवटा सवारी साधन आवश्यक कारवाहीका लागि प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ ।
बेवारिसे रुपमा फेला परेका सबै साधनको अन्दाजी मूल्य १९ लाख अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गत पुस १५ गते गस्ती गर्ने क्रममा प्रहरीले दमक नगरपालिका वडा नं.–४ पूर्व–पश्चिम राजमार्गको दक्षिणमा प्रहरीले मे १ च २१७५ नम्बरको सेतो रंगको बुलेरो पिकअप बेवारिसे अवस्थामा फेला पारेको थियो । फेला परेको पिकअप लगभग १३ लाख मूल्य अनुमान गरिएको छ ।
त्यस्तै सोही दिन भद्रपुरमा गस्ती गर्ने क्रममा गार्मेन्ट चोक सडकखण्डमा मे ६ प १७७३ नम्बरको सुपर स्प्लेन्डर, मे ७ प ७०३४ नम्बरको १५० सिसिको पल्सर तथा मे ११ प ६३३९ नम्बरको २२० सिसिको पल्सर मोटर साइकल फेला परेको जनाइएको छ ।
त्यसैगरी पुस १४ गते भद्रपुर नगरपालिका वडा नं. ९ कारागार कार्यालय अगाडी घोडामारा देखी जिल्ला प्रशासन कार्यालय भद्रपुर सडकखण्डमा गस्ती गर्ने क्रममा मे २ प १६५७ आर टि आर अपाची, १३ प ३१५२ पल्सर र ६ प ४५७८ पल्सर मोटरसाईकल प बेवारिसे अवस्थामा फेला पारेको थियो ।
फेला परेका साधन दावी गर्न कोही पनि नआएपछि प्रहरीले आवश्यक कारवाहीका लागि भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

































































































