रेजिना गौतम
बिर्तामोड माघ । बैदेशिक अध्ययनमा विद्यार्थी र अभिभावकको रुची बढेसंगै उच्च माविदेखि माथिल्लो तहमा विद्यार्थी संख्या घट्दो छ । विद्यार्थी संख्यामा आएको कमीका कारण अध्यापन पेशामा कार्यरत प्राध्यापकहरुको पेशागत चिन्ता एकातिर छ भने अर्कोतिर नेपालको शैक्षिक प्रमाणपत्रले विश्वमा मान्यता प्राप्त गर्ने गरी प्रमाण पत्र (क्यूएए प्रमाण पत्र) प्राप्त गरेका क्याम्पसहरु दोहोरो दवावमा छन् ।
परीक्षण कालका रुपमा मान्यता प्राप्त गरेका ती क्याम्पसहरुले क्यूएए प्राप्त गरेपनि परिक्षण काल पार गरेर त्यसको स्थायित्वका लागि गरेका प्रतिवद्धता पूरा गर्न मापदण्ड अनुसारका भौतिक संरचना निर्माण गर्नुपर्ने दवाव छ । अर्कोतिर विद्यार्थी कसरी टिकाउने भन्ने मूल समस्याका रुपमा देखिएको छ । त्यही दोहोरो दवावमा छ चारआलीस्थित त्रिदेव क्याम्पस ।
प्रमाणपत्रले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको मान्यता पाउने भएपछि अन्यको तुलनामा त्रिदेव क्याम्पसमा विद्यार्थी भर्ना बढी नै भएपनि कक्षा छोड्ने समस्या रहेको क्याम्पस प्रमुख माधव प्याकुरेलले बताए । उनले भने–‘गतवर्ष भर्ना भएका २६३ विद्यार्थीमध्ये फष्टइयरको परीक्षा लेख्दा १७० जना मात्रै परीक्षामा सहभागी भए’ उनले थपे, ‘सेकेन्ड, थर्ड गर्दै अन्तिम वर्षमा पुग्दा त ४० जनासम्म विद्यार्थी रहन्छन् यस्तै अवस्था छ ।’
सर्टिफिकेटका लागि भएपनि विद्यार्थी भर्ना बढी नै भएपनि कक्षा लिने विद्यार्थी कम हुने क्याम्पस प्रमुख प्याकुरेलले बताए । ब्याचलर तहमा पुगेका विद्यार्थीको उमेर, रहर, पारिवारिक जिम्मेवारी, बाध्यता जे भएपनि क्याम्पसमा भर्ना भएका विद्यार्थीमध्ये ५ देखि १० प्रतिशत विद्यार्थी रहेको जानकारी दिंदै प्याकुरेलले भने, ‘तिनीहरु १/२ वटा क्लास लिन्छन् हिंडीहाल्छन् उनले थपे, ‘भर्ना भएकामध्ये १० देखि १५ प्रतिशत विद्यार्थीले बैदेशिक अध्ययनका कारण पढाई छोड्ने गरेका छन् ।’ पछिल्लो समय प्रविधिमार्फत विद्यार्थीको रेकर्ड राख्न थालेको त्रिदेवमा छ । ‘प्रविधिले पहिलो वर्ष भर्ना भएको विद्यार्थीको रेकर्ड सफ्टवेयरले ४ वर्षसम्म खोज्छ । तर, विद्यार्थी कहाँ गयो पत्तो हुँदैन ।’
सामुदायिक विद्यालयमा विद्यार्थी खोज्नेदेखि टिकाउनेसम्म शिक्षकले नै पहल गर्नुपर्ने अवस्था रहेको क्याम्पस प्रमुख प्याकुरेलले बताए । समुदायमा केन्द्रित क्याम्पसको खर्च गर्ने स्रोत नै विद्यार्थी भएको बताउँदै भने, ‘विद्यार्थी टिकाउन खोजी खोजी जब पनि लगाइदिन्छौं उनले थपे, ‘विद्यार्थी सुरक्षित हुनु भनेको हामी पनि सुरक्षित हुनु हो ।’ सामुदायिक क्याम्पसको आम्दानीको मुख्य स्रोत विद्यार्थी नै हुन् ।
क्युएए मान्यता प्राप्त क्याम्पसलाई युजिसी (विश्व विद्यालय अनुदान आयोग) ले प्रतिवद्धता अनुसार भौतिक संरचना निर्माणका लागि दिएको अनुदान रकम अन्यत्र खर्च गर्न पाइन्न । प्याकुरेलले भने, ‘पब्लिक क्याम्पसको स्रोत भनेको विद्यार्थी शुल्क नै हो ।’ यद्यपी त्रिदेवले युजिसीसंग गरेको मापदण्डको प्रतिवद्धता लगभग पूरा गर्दै लगेको प्राध्यापक सावित्रा दाहालले बताइन् ।
क्याम्पसमा भर्ना भएका विद्यार्थीले कतिबेला कक्षा छोड्छन् पत्तो नहुने मनकामना कलेजका प्राध्यापक राजेन्द्र प्रसाई बताउँछन् । यति विद्यार्थी भर्ना भए भनेर भन्ने अवस्था नै छैन प्राध्यापक प्रसाईले भने–‘त्यसले कतिबेला कक्षा छोड्छ पत्तै हुँदैन ।’ विगत दुई वर्षयता विद्यार्थी संख्या अत्याधिक मात्रामा घटेको बताउँदै प्रसाईले सामुदायिक र निजी क्याम्पसहरु संकटको अवस्थामा देखिएको बताए । उनले भने, ‘विद्यार्थी घट्न थालेको २ वर्ष अघिदेखि हो, यो वर्ष त आश्चार्यजनक तरिकाले घटे ।’ विद्यार्थी घटेसंगै क्याम्पसको आम्दनी पनि घटेको तर, खर्च भने बृद्धि हुँदै जाने हुनाले क्याम्पसहरु र क्याम्पसका प्राध्यापकहरु भविष्य के हुने भन्ने चिन्ता बढेको बताउँदै भने, ‘अब हाम्रै पेशा पनि के हुने भन्ने अवस्थामा पुगेको छ । त्यसमा पनि हाम्रो कलेजमा त अलग्गै विषय हुनाले विद्यार्थीहरु अन्यत्र भन्दा बढी नै छन् । उनले थपे, ‘कतिवटा क्याम्पसले त कक्षा ११/१२ माथि अर्थात क्याम्पस तह हटाउँदै लगेका छन् ।’
बढ्दै क्याम्पस, घट्दै विद्यार्थी
हाल देशभर ११ वटा विश्वविद्यालय सञ्चालनमा छन् । त्यसका आंगिक कलेजको संख्या एक सय ५०, सामुदायिक कलेज संख्या पाँच सय ३७ र सम्बन्धन प्राप्त निजी क्याम्पस सात सय ५३ गरी मुलुकभर एक हजार ४४० क्याम्पस छन् ।
घट्दै विद्यार्थी र क्याम्पस नविकरणको संख्या
अनुदान आयोगको एक तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा सामुदायिक क्याम्पसको संख्या वृद्धि भएको छ भने विद्यार्थी संख्या घट्दै गएको छ । ०७५ जेठसम्म ५३२ सामुदायिक क्याम्पसमा पाँचवटा थप भए ५३७ पुगेको छ । सोही वर्ष सामुदयिक क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी संख्या ३६.६ प्रतिशतबाट घटेर हाल २९.०९ प्रतिशतमा झरेको छ ।
हरेक वर्ष नविकरण गर्नुपर्ने त्रिविअन्तर्गतका निजी, आंगिक र सामुदायिक गरी एकसय ५० वटा क्याम्पसले नवीकरण नै नगरेको बताइएको छ । नियमानुसार हरेक वर्ष असारसम्ममा डिनको कार्यालय पुगेर क्याम्पस नविकरण गर्नुपर्छ ।
विषय अनुसार जति विद्यार्थी भएपनि प्राध्यापकको व्यवस्था गर्नैपर्ने तर विद्यार्थी घट्नासाथ आम्दानी पनि घट्छ । जति विद्यार्थी भएपनि विषय अनुसारका प्राध्यापकको राख्नैपर्ने बाध्यताले प्राध्यापकलाई प्रदान गर्ने तलब सकेसम्म बढाउनुपर्ने तर विद्यार्थी संख्या घट्ने क्रमले झापासहित देशभरका सामुदायिक तथा नीजि क्याम्पसहरुमा संकट देखिदै गएको हो ।