बिराटनगर २० पुस । सही कारोबार देखाएर राज्यलाई तिर्नुपर्ने कर तिर्न उद्योगी व्यवसायीलाई आन्तरिक राजश्व विभागका महानिर्देशक दिर्घराज मैनालीले सुझाव दिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको आयोजनामा उद्योगी व्यवसायीको संघ संगठनका पदाधिकारी सहभागी आन्तरिक कार्यक्रममा विभागका महानिर्देशक मैनालीले यस्तो सुझाव दिएका हुन् ।
आन्तरिक राजश्व विभाग सूचना प्रविधिको प्रयोग गरेर अगाडि बढि रहेको जानकारी दिंदै महानिर्देशक मैनालीले उद्योगी व्यवसायी सही कारोबार देखाएर नाफा गरेको रकमबाट राज्यलाई वास्तविक कर तिर्न सुझाउँदै गलत कारोबार देखाएर कर छली गरेको पाइएमा राज्यले दण्डित गर्ने स्पष्ट पारे । उनले भने, ‘बेइज्जती सहेर राज्यलाई कर तिनैपर्छ । त्यसकारण गलत कारोबार तिर नलागी सही कारोबार गर्नुपर्छ ।’
उद्योगी व्यवसायीले गरेको कारोबारको सम्पूर्ण विवरण राज्यसँग सुरक्षित रहेकोले केही समयका लागि गलत कारोबारको विवरण देखाएर लुकाएको रकम कुनै न कुनै बेला देखिने र कारवाहीमा पर्नसक्नेतर्फ सचेत गराउँदै गलत कारोबार नगर्न मैनालीको सुझाव थियो ।
त्यस्तै अधिकारको दुरुपयोग गरेर अनुचित तरिकाले कर निर्धारण गरी राज्यलाई नोक्सानी पुर्याउने कर अधिकृतदेखि प्रमुख कर अधिकृतलाई आन्तरिक राजश्व विभागले कारवाही गर्ने बताए । कर अधिकृत मिलाउने नाममा उद्योगी व्यवसायीबाट बिचौलियाले अनुचित तरिकाले रकम असुली गरिरहेको उल्लेख गर्दै मैनालीले सबैले मिलेर सुधार गर्नुपर्ने बताए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्री, विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल, नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरे, परिसंघका कोशी प्रदेश अध्यक्ष पवन सारडा, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठी, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री, नेपाल चार्टर एकाउन्टेन्ट संस्था विराटनगर शाखाका अध्यक्ष सिए अश्विनी बंशल लगायत उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।
उद्योगी व्यवसायीलाई सही कारोबार देखाउन राजश्व विभागका महानिर्देशकको सुझाव

































































































