बिर्तामोड पुस । बिर्तामोड नगरपालिकाले विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । नगर पालिकाको कार्यालयमा शुक्रवार एकसय ६० जनालाई कम्बल वितरण गरिएको हो ।
नगरका सबै वडाबाट संकलन गरिएको नामका आधारमा ओढ्नको लागि न्यानो कम्बल वितरण गरिएको नगरको महिला तथा बालबालिका शाखाले जनाएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले जाडोले ज्येष्ठ नागरिक बढी पीडित हुने भएका कारण कम्बल वितरण गरिएको बताइन । २०७४ को निर्वाचन पछि नगरका सबै टोलमा पुगेर अनुगमन गर्दा सिरक नभएर अगेनोको छेउमा सुतेर रात विताएको देखेपछि नगरपालिकाले कम्बल वितरण कार्यक्रमको सुरुवात गरेको जानकारी दिइन ।
यस्तै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गरिविको रेखामुनि रहेका जेष्ठ नागरिकलाई पुस, माघको जाडो छल्न कम्बल वितरण गरिएको बताए । यस वर्ष छुटेका ज्येष्ठ नागरिकहरुलाई अर्को वर्ष समेट्ने उनको भनाई थियो । नगरपालिकाले आगामी दिनमा योजना बनाएर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचमा समेत लाग्ने बताए ।
नगरपालिकाले गएका वर्षहरुमा प्रत्येक वडाबाट १०र१० जनाको दरले १ सय जनालाई कम्बल वितरण गर्दै आएको थियो । यस वर्ष यसको संख्या बढेको छ । नगरपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल लिन आउँदा जाँदा लाग्ने भाडाको समेत व्यवस्था गरेको थियो । वडाको सिफारीसका आधारमा कम्बल वितरण गरिएको सामाजिक विकास अधिकृत डिल्ली दाहालले जानकारी दिए ।
कम्बल वितरण कार्यक्रममा वडा नम्बर ९का वडाअध्यक्ष हरिप्रसाद चौलागाई, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, वडा नम्बर १का कार्यवहाक वडाअध्यक्ष योगचन्द्र आङबुहाङ, कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, शर्मिला राजवंशी, सिता ढुङ्गाना, जगतबन्धु राजवंशी, संगिता शिवा, वडासदस्यहरु अग्निप्रसाद सिटौला, जिवन बाँस्कोटा, रमा राजवंशी, खडानन्द निरौला, ज्येष्ठ नागरिक समाजका जिल्ला अध्यक्ष इश्वरी तिम्सिना लगायतको सहभागिता रहेको थियो ।
ज्येष्ठ नागरिकलाई नगरपालिकाद्वारा कम्बल वितरण

































































































