जोस्ना श्रेष्ठ
कृषि प्रधान देश नेपालमा हरेक वर्ष असार १५ गते मनाइदै आएको राष्ट्रिय धान दिवसले यस बर्ष पनि निरन्तरता पाएको छ । यस बर्ष २० औँ राष्ट्रिय धान दिवस ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ भन्ने मूल नाराका साथ मनाइएको हो । ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा असार १५ लाई धान महोत्सवका रूपमा नै मनाईदै आएको छ ।
धानको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले २०६१ साल मङ्सिर २९ गते सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालमा झण्डै १५ लाख हेक्टर जमिनमा धान उत्पादन हुँदै आएको छ । यसवर्ष १४ लाख ९६ हजार हेक्टर जमिनमा रोपाइँ हुने प्रक्षेपण गरिएको छ । यसै दिवसका दिनदेखि अधिकांस स्थानमा रोपाइँ सुरुवात गरिन्छ ।
चालु आर्थिक वर्षमा धानको उत्पादनमा वृद्धि भएको तथ्यांकले देखाएको छ । यस वर्ष ५४ लाख ८६ हजार ४७२ टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यो परिमाण २०७८/७९ को तुलनामा तीन लाख ५५ हजार ८४७ टन बढी उत्पादन भएको हो । आउँदो बर्ष पनि धान उत्पादनमा वृद्धि हुने अनुमान सरकारले गरेको छ ।
विश्वमा कृषि प्रधान देश भनेर चिनिने नेपालमा पछिल्लो समय खेती योग्य जमीन मासिदै गएर उक्त जमीनमा मानव बस्ती तथा शहरीकरण बढदै जाँदा कुल जनसंख्यालाई धान्ने पर्याप्त धान उत्पादन हुन सकेको छैन । बाहिरी मुलुकबाट चामल आयात गर्नुपर्ने बाध्यता छ । त्यस्तै कृषकलाई मल तथा बीउको अभाव जस्ता विभिन्न समस्याहरू छ । रोपाइँ गर्न किसानले आकासे पानीको भर गर्नुपर्ने अवस्था छ । कहिले खडेरीले भने जति धान उत्पादन नहुँदा किसानको लगानी त्यसै खेर जाने गरेको छ ।
त्यस्तै धान रोप्दा गाइने लोक असारे भाकाका गीतहरु गाउन छोडिएको छ । असारे भाकाका गीतहरु गाउन छोडिएसगै मौलिकता मासिने भन्दै अग्रजहरुले चिन्ता व्यक्त गर्दै आएकाछन् । आज भोली त धान दिवस मनाउने शैली पनि उछृंखल र बिकृत देखिन थालेको छ । दिवस मनाउने निहुँमा आयोजना गरिएका औपचारिक कार्यक्रमहरुमा अतिथिलाई मञ्चमा राखेर स्वागत तथा सम्मान जनाउने नाममा आयोजकले धानको विउका माला लगाइदिएको देखिन्छ । यसले अतिथि र आयोजक दुवै दुनियाँका नजरमा मजाकको पात्र बनिरहेका छन् । यद्यपी दोष अतिथिमा मात्र पोखिने गरेको छ । हिलोमा डुबेर मनाउने रोपाई दिवस कार्पेटमाथि सुट/बुटमा सजिएर गलामा धानको बिऊको माला लगाएर मनाएको दिवसले सच्चा कृषकलाई गिज्याइरहेको अनुभूत गर्न सकिन्छ । अर्कोतिर सयौ धानको बिऊ त्यत्तिकै नष्ट भएर जाने गरेको छ । त्यति विरूवा रोप्न पाए कति धान उत्पादन गर्न सकिने थियो ? भन्ने हेक्का आयोजक तथा अतिथिहरूले राख्न जरुरी छ । यस्ता शैली परिवर्तन गर्न जरुरी छ । आउदा दिनहरुमा दिवस मनाउने नाममा यस्ता गतिविधि आयोजना गर्ने आयोजक र अतिथि दुवैले सच्चिन आवश्यक छ । धान दिवसका दिन शहरी क्षेत्रमा साच्चै धान रोप्न नभएर फोटो सुटका लागि धान रोप्ने चलन बढेको छ।
सिचाई,उन्नत जातका बीउ,मलको सहज रुपमा किसानलाई उपलब्ध गराउन सके र भएका थोरै जमीनरु सही सदुपयोग गरी कसरी धेरै धान उत्पादन गर्न सकिन्छ भन्ने तर्फ सरकार गम्भीर बन्न जरुरी छ ।
राष्ट्रिय धान दिवसको महत्व र दृष्य

































































































