बिर्तामोड । राजनीतिक व्यक्तित्व कुन्दन भट्टराईको स्मृतिमा तयार पारिएको कुन्दन भट्टराई स्मृतिग्रन्थ लोकार्पण गरिएको छ ।
कुन्दन भट्टराई स्मृतिग्रन्थ सम्पादन समितिका संयोजक कमल गुरागाँईको अध्यक्षता तथा नेकपा एमालेका नेता गुरु बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ग्रन्थ नायक भट्टराईका सहकर्मीहरूले स्व कुन्दनका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा शिक्षा विभाग प्रमुख केन्द्रीय नेता गुरु बरालले ग्रन्थ प्रकाशनले कुन्दन भट्टराईलाई पुनः जन्म दिएको बताए ।
छरिएको इतिहास, पोखिएको व्यक्तित्वलाइ समेटेर ग्रन्थको आकार दिनु कठिन काम भएको उल्लेख गरे । हराएको कुन्दनलाई जीवित तुल्याएको भन्दै खुशी व्यक्त गर्दै सम्पादन मण्डलले न्याय दिलाइएको आफूले अनुभूत गरेको बताउँदै जनप्रतिनिधिको हकमा उनले गरेको योगदानको सदैव सम्झने बताए ।
प्रकाशित स्मृति ग्रन्थमाथि प्रा.डा. गंगाप्रसाद अधिकारी र पुन्यप्रसाद खरेलले समिक्षा गरेका थिए ।
स्मृति ग्रन्थ प्रकाशन समूहका सदस्य सचिव सावित्रा दाहालले सञ्चालन गरेको कार्यक्रममा स्वागत भानु भट्टराईले गरेका थिए ।
प्रमुख अतिथि बराल, स्व. कुन्दनका सहयात्रीहरु सिएम निरौला, देवी पन्थी, हरिचरण बानियाँ, सुमित्रा वाङ्देल चेली, भट्टराई कुलबंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई, नेकपा एमालेका जिल्ला अध्यक्ष दिपक कार्की, स्व. भट्टराईकी जीवन संगिनी विष्णुमाया भट्टराई लगायतले बोलेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले स्व. भट्टराईले जीवन भोगाईका क्रममा भोग्नु परेका तिता मिठा कुराको चर्चा गरेका थिए । कार्यक्रममा बोल्ने क्रममा सर्जक तथा दिवंगत भट्टराईका प्रवासी साथी देवी पन्थीले क्षमता अनुसारको जिम्मेवारी नदिएर पार्टीले कुन्दनमाथि अन्याय गरेको बताउँदै भने–‘के थाहा अनुसन्धान गर्ने होे भने कुन्दनलाई फोक्सोको क्यान्सर हुनुको कारण पनि त्यही हो कि !, पार्टीभित्र देखिएको जुन परिदृष्य छ, यो मैले सांकेतिक रुपमा मात्र भनेको हो ।’
स्व. भट्टराईको प्रकाशित स्मृति ग्रन्थमा ६३ जनाको लेख रचना समेटिएका छन् । एकसय १० पृष्ठ लामो ग्रन्थलाई स्व. भट्टराईकी धर्मपत्नी विष्णुमाया कार्की भट्टराईले प्रकाशन गरेकी हुन् ।
कुन्दन भट्टराई स्मृतिग्रन्थ लोकार्पण

































































































