बिर्तामोड । मनोक्रान्ति अभियानका प्रवर्तक डा. योगी विकाशानन्द बैशाख २२ गते झापा आउने भएका छन् ।
विकाशानन्द फाउण्डेसन विश्व परिवार आयोजक समिति झापाले आयोजना गर्न लागेको एकदिने योग, ध्यान, साधना, हिप्नोसिस तथा आध्यात्मिक ज्ञान प्रवचनका लागि योगी विकाशानन्द झापा आउन लागेको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पछिल्लो समय तीब्रगति र असन्तुलित जीवनशैलीका कारण मानिसमा डिप्रेसन, डर, त्रास, लागूपदार्थ दुव्र्यसनले मानवजीवनलाई चिन्ताको जालोले घेरिरहेका कारण मनोक्रान्तिका प्रवर्तक मेडिटेसनल पद्धतिका अभियान्ताको प्रवचनले नयाँ जोश, जाँगर पैदा भई जीवनशैली बदल्न सहयोग पुग्ने उद्देश्यले डा. विकाशानन्दलाई ल्याउन लागिएको आयोजक संस्थाका अध्यक्ष रिना थापा मगर (मेहर मगर) ले जानकारी दिइन् ।
डा. विकाशानन्दले बैशाख २२ गते बिर्तामोडस्थित डोमालाल रंगशालामा योग, ध्यानका साथै प्रवचन दिने तयारी गरिएको आयोजक संस्थाका सचिव बिजय बरालले जानकारी दिए । उक्त अवसरमा उपस्थित हुनेले दैनिक व्यवहारबाट उत्पन्न तनावलाई कसरी नियन्त्रण गर्ने ? विचारको परिवर्तन कसरी गर्ने भन्ने ज्ञान लिन सकिने बिकाशानन्दका चेला गजेन्द्र नेम्वाङ्गले बताए ।
विकाशानन्द फाउण्डेसन विश्व परिवार आयोजक समिति झापाकी संयोजक मेहर मगरको अध्यक्षता तथा शिक्षा सेवी जयनारायण ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्पन्न पत्रकार सम्मेलनमा प्रमुख अतिथि ढुङ्गानाले आत्मबल बटुलेर कुनै पनि कुराको दृढ संकल्प गरे असंभव नहुने बताउँदै आफैंलाई विश्वास गरेर स्वनिर्णय गरेर कार्यान्वयनमा प्रतिवद्ध हुन जरुरी रहेको बताए ।
बृहत जनमानसको सहभागितामा झापामा डा. विकाशानन्दको पहिलो पटक हुन लागेको कार्यक्रम सम्पन्न गर्न सातलाख अनुमान गरिएको छ भने झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी लगायतका १० हजार बढीको उपस्थिति रहने आयोजकले जनाएका छन् । सो अवसरमा मनोक्रान्तिका प्रवर्तक डा. विकाशानन्द र कमलेश्वरीलाई नागरिक अभिनन्दन गरिने कोषाध्यक्ष ओमविक्रम नेम्वाङले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सल्लाहकार गजेन्द्रबहादुर पौडेल, शिक्षा सेवी अञ्जना ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।
डा.योगी विकाशानन्दलाई झापामा नागरिक अभिनन्दन गरिने

































































































