बिर्तामोड । बिर्तामोडस्थित देवी हाटमा व्यापार–व्यवसाय गर्दै आएका व्यापारीहरु नयाँ व्यापारिक भवन बन्ने भएपछि शसंकित भएका छन् । कमजोर आर्थिक अवस्था भएका ती व्यापारीहरु शसंकित हुनुको मुख्य कारण हो–नयाँ बन्ने भवनको डिपिआर निर्माण नै नगरी र माटो परीक्षण नै नगरी उनीहरुलाई हट्नका लागि नगरपालिकाले सार्वजनिक सूचना गरेपछि व्यापारी–व्यवसायीहरुमा आशंका बढेको हो । बिर्तामोड नगरपालिकाले व्यापारिक भवन निर्माण गर्ने भन्दै देवी हाटमा व्यापार–व्यवसाय गर्दै आएका व्यापारी व्यवसायीलाई ठाउँ खाली गर्न दिएको समय बुधबार सकिएको छ ।
हाट बजारमा रेडिमेट कपडाको व्यापार गर्दै आएका साना ब्यापारीलाई यसअघि उनीहरुले कपडा लैजाने गरेका होलसेल ब्यापारीहरुले अब भन्ने व्यापारीक भवनमा आफूहरु ब्यवसाय गर्न आउने भन्दै कपडा दिन नमानेको उनीहरु बताउँछन् । रेडिमेट कपडाको व्यापार गर्दै आएकी एक ब्यापारीले भनिन्–‘साहुले कपडा दिन मान्दैनन्, कपडा लिन गयो, अब भवन बनेपछि हामीले व्यापार गर्ने हो उनले थपिन्–‘तिमीहरु कहाँ पुग्छौं कपडा दिएर के गर्नु ?’ उक्त भनाईले आफूहरुलाई शसंकित बनाएको ती व्यापारीको भनाई छ ।
सोही ठाउँमा व्यापार गर्दै आएका अर्का व्यापारीले पनि उही गुनासो गरे थपे–‘ठूलो भवन बनाउने रे, ठूलो भवन बनाउनु पहिले कतिसम्मको संरचना जमिनले थाम्न सक्छ भन्ने माटो परिक्षण गरेको हामीले देखेका छैनौं, अहिले कर्मचारीले तलब खान नपाएको हल्ला छ, अनि भवन बनाउन चै पैसा कहाँबाट आउँछ, यो हामीलाई हटाउन खोजेको जस्तो मात्रै लाग्छ ।’
व्यापारीक भवन निर्माण गर्न आफूहरु बाधक नबन्ने तर, भवन कति समयमा बनिसक्ने हो त्यो समयावधिभर आफूहरुको अन्यत्र व्यवस्थापन गर्न र भवन बनिसकेपछि सोही ठाउँमा अहिले व्यापार गरिरहेका व्यापारीलाई व्यवसाय गर्न दिनुपर्ने उनीहरुको माग छ । दैनिकी टार्न मागेर खानु भन्दा काम गरेर आउँ भनेर व्यवसाय गर्दै आएका व्यापारीलाई विचल्लीमा पार्न पाइदैन–उनीहरुको साझा भनाई छ ।
व्यापारीको उचित व्यवस्थापन गर्नका लागि मंगलबार नगरक्षेत्रमा क्रियाशिल चार राजनीतिक दलका नेतृत्वले नगरप्रमुख पवित्रा महतारा प्रसाईको ध्यानाकर्षण गराएका थिए । नेपाली कांग्रेसका नगरसभापति भोजराज सिटौला, राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष शम्भु भण्डारी र नेकपा एसका अध्यक्ष श्रीप्रसाद सिटौलाले मेयर प्रसाईको कार्यकक्षमै पुगेर दैनिकी धान्न दुःखजिलो गरेका व्यापारीहरुको व्यवस्थापन गर्न आग्रह गरे । साथै मुलुकमा देखिएको आर्थिक मन्दीका कारण ठूला योजनामा लगानी गर्न संभव नदेखिएको भन्दै नगरपालिकाले बनाउने भनेको भवन निर्माणमा लगानी कसले गर्ने हो ? भन्दै लगानीबारे चासो राखेका थिए ।
मंगलबार मेयरको ध्यानाकर्षण गराएका राजनीतिक दलकै संयोजनमा बुधबार बिर्तामोड उद्योग वाणिज्य संघमा राजनीतिक दल, पीडित व्यापारी र व्यापारीहरुको छाता संगठन बिर्तामोड उद्योग वाणिज्य संघको संयुक्त छलफलबाट नेकपा एमालेका नगर अध्यक्ष सुवास भट्टराईको संयोजकत्वमा देवी हाट ब्यवस्थापन समिति गठन गरिएको छ । समितिको सचिवमा उद्योग वाणिज्य संघ बिर्तामोडकी उपाध्यक्ष नैनकला भट्टराई रहेकी छन् ।
नगरपालिकाले बहुउपयोगी अत्याधुनिक व्यापारीक भवन निर्माण गर्ने भन्दै आएपनि डिपीआर नभएको र माटो परीक्षण नै नगरी व्यापारीलाई हटाउन लागेको भन्दै व्यापारीहरु सशंकित हुँदै आएका हुन् ।
देवीहाट) व्यवस्थापनका लागि भट्टराईको संयोजकत्वमा समिति गठन

































































































