बिर्तामोड । ६६ औं राष्ट्रिय सहकारी दिवस झापामा विविध कार्यक्रम गरी मनाइएको छ । झापा जिल्ला सहकारी संघको आयोजनामा बिर्तामोडमा सोमवार (आज) आयोजित कार्यक्रममा संघले अन्तरराष्ट्रिय सहकारी दिवसको अवसर पारेर पुरस्कृत तथा सम्मान गर्ने व्यक्ति तथा संस्थाको नाम सार्वजनिक गर्नुका लागि सहकारी सञ्चालक तथा कर्मचारी लक्षित उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको हो ।
यस बर्षको झापा सहकारी सम्मान पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेललाई नगद २५ हजार ५५५ रुपैयाँले सम्मान गर्ने भएको छ ।

त्यस्तै पूर्व सञ्चालक सम्मानबाट झापा जिल्ला सहकारी संघका पूर्व सचिव तथा लेखा संयोजक देबीप्रसाद दाहाल, उत्कृष्ट सञ्चारकर्मीका रुपमा गोबिन्दचन्द छेत्री, उत्कृष्ट कृषि सहकारीको रुपमा होक्से कृषि सहकारी संस्था, उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रुपमा मेची कृषक बहुमुखी सहकारी, उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा पूर्वीद्वार बचत तथा ऋण सहकारी, उत्कृष्ट बचत कारोबारका रुपमा नवोदय बहुउदेश्यीय सहकारी संस्था, उत्कृष्ट कर्जा कारोवारका रुपमा हाम्रो गोलधाप कृषि सहकारी संस्थालाई जनही १० हजार पाँचसय ५५ रुपैयाँका दरले सम्मान गरिने संघका अध्यक्ष गणेश ढकालले जानकारी दिए ।
त्यसैगरी उत्कृष्ट ब्यवस्थापकको रुपमा महिलातर्फ नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्था दमककी धनकुमारी पौडेल र पुरुषतर्फ शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका तीलक कार्कीलाई जनही पाँचहजार पाँचसय ५५ रुपैयाँसहित सम्मान गरिने भएको छ । सम्मानीत ब्यक्ति तथा संस्थाको नाम संघका अध्यक्ष गणेश ढकालले बताए।
संघका बरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भवानीप्रसाद दंगालले गरेका थिए । हाल बित्तिय क्षेत्रमा देखिएको समस्याका कारण सहकारीकर्मीमा देखिएको निराशपनलाई हटाउने उद्देश्यले उत्प्रेरणात्मक कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
उत्प्रेरणात्मक कार्यक्रमको राजाबाबु साहले सहजीकरण गरेका थिए । सोही कार्यक्रममा सहकारी सम्बन्धी विषय बस्तु र गतिविधि समेटिएको संघद्वारा प्रकाशित स्मारिकाको बिमोचन समेत गरिएको थियो । कार्यक्रममा जिल्लाभरका सहकारी अभियन्ता, सहकारी सञ्चालक, कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो ।

































































































